हर्कबहादुर छेत्रीले बद्लिए बयान:फेरि फर्किए लोकसभा चुनाउको दौडमा (भिडियोसितै)

Girl in a jacket

कालेबुङ, 14 मार्च: ‘धेरै साह्रो रहेछ मिल्नु। यदि सर्वसमम्ति आउँदैन भने अनि त्यहाँ बाझाबाझको माह्वोल हुन्छ भने जनताले फेरि एकपल्ट धोका पाउँछन् र यस्तो परिस्थितिमा मिल्नसक्नेहरू मिलुन्। यो लोकसभा आसनको दौडमा आजदेखि जन आन्दोलन पार्टी छैन’-भनेर जन आन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर छेत्रीले घोषणा गरेको 24 घण्टा पूर्ण नभइ आज फेरि बयान बद्लिएका छन्।

दलका समर्थकहरूले हिजो बेलुकीदेखि नै घरमा आएर दवाब बनाइरहेको कारण देखाउँदै जाप अध्यक्ष हर्कबहादुर छेत्रीले यदि क्रामाकपा अनि गोरामुमो मिलेर आयो भने जापले समर्थन गर्ने बताएका छन्।

‘दुईवटा पार्टीसित पहिलेबाट नै आफ्नो उम्मेद्वार थियो, हाम्रो उम्मेद्वार थिएन’-हिजोको पत्रकार सम्मेलनमा अलिकति भुल बुझाबुझ भएको भन्दै छेत्रीले भने, ‘एउटा साझा उम्मेद्वार बनाउँ भन्ने हाम्रो शुरूदेखिको प्रयास हो। अनि त्यो बनिन नसक्दा मैले भन्न चाहेको म त्यो प्रोसेसदेखि बाहिर छु। अब दुईवटा पार्टी मिलोस् अनि दुईवटाले जे निर्णय गर्छ गर त्यसमा हाम्रो समर्थन छ।’

उनले साझा उम्मेद्वारिताको पहलबाट जाप बाहिरिएको कुरा अस्वीकार गर्दै गोरामुमो अनि क्रामाकपाले मिलेर उम्मेद्वार दिएको खण्डमा जापले समर्थन गर्ने बताए।

‘हिजोदेखि नै यहाँ लगातार समर्थकहरू आइरहेका छन्’-लोकसभा चुनाउको दौडमा फेरि फर्किनुको कारण खुलाउँदै छेत्रीले थपे, ‘राजनीति भनेको एकजना मान्छेले गर्ने चिज होइन। यस्तो कुरा सबैजनासँग सर-सल्लाह गरेर गर्ने कुरा हुँदैन। किनभने त्यो परिस्थिति हेरेर अध्यक्षले निर्णय गर्छ।’

डा. छेत्रीले आफ्नो स्पष्टिकरणमा आफुहरू सँधै साझा उम्मेद्वारिताको पक्षमा नै रहेको बताए। उनका अनुसार यो चुनाउमा जति कम उम्मेद्वार भयो त्यति नै सजिलो निर्णय निस्केला अथवा मधेशको समर्थन गुमाउला भन्ने लागेर नै जाप बाहिर बस्यो भने क्रामाकपा र गोरामुमोमो मिलेर आउन् भन्ने उनको कुरा थियो। यसैले उनले उम्मेद्वारिताको दौडबाट बाहिरिएको घोषणा गरेका थिए। तर अहिले आएर आफ्ना समर्थकहरूले दवाब दिएपनि केही निर्णय नगरेको बताए।

उनले साझा उम्मेद्वारिताको पहलको निम्ति एउटा अलग्गै कमिटी बनाउनपर्ने जापले राखेको प्रस्तावमा समेत कुनै चर्चा नगरेको पनि आरोप लगाए।

यदि क्रामाकपा र गोरामुमो मिलेर आएको खण्डमा जापले समर्थन गर्ने घोषणा गरेपनि यी दुई दल मिल्न नसकेको खण्डमा जापको अडान के हुन्छ? भन्नेकुरा छेत्रीले खुलाएनन्। प्रत्युत्तरमा उनले सटायर गर्दै भने,‘के हुन्छ त्यो कान्छा बाजेलाई गएर देखाउ।’

24 घण्टा नबित्दै बयान बद्लिनु जापको कतै पोलिटिकल सट्राटिजी मात्र होइन भनेर पत्रकारहरूले सोध्नेबित्तिकै छेत्रीले उल्टै पत्रकारलाई भने, तिम्रो पोलिटिकल अन्टसटेण्डिङ हिजोको भन्दा आजको अलग्गै छ।’

हर्कबहादुर छेत्रीले चुनाउ नलड्ने घोषणाले कतै तृणमूल कङ्ग्रेसलाई सहयोग त पुऱ्याइरहेको त छैन भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘आरोप चाहीँ हर्कबहादुरलाई जसले दुईपक्षीय वार्ता नगरेर त्रिपक्षीयको लागी निस्कियो। जो दुईपक्षीय वार्ता गरेर लालकोठीमा बसिरहेका छन् तिनीहरूलाई आरोप लाग्दैन। ममतासितै उभिएर मञ्च साझा गर्छन्, थप्पडी मार्दैछन्, समर्थन गर्दैछन् उनीहरूलाई आरोप लाग्दैन। उनीहरूकै दलको भएर आफ्नो उम्मेद्वारलाई समर्पण गरेर टीएमसीमा हालेर उम्मेद्वार बनाउँदैछन् उनीहरूलाई आरोप लाग्दैन। आरोप त हर्कबहादुरलाई मात्र लाग्दो रहेछ।’

उनले खाँटी गोर्खा भनेको अमरसिंह राई, विनय तामाङ, अनीत थापाहरू मात्रै रहेको अनि आफू तृणमूल नै रहेको भन्दै व्यङ्ग गरे।

उनले पत्रकारहरूले सत्तापक्षलाई आवाज उठाउन नसकेर केवल विपक्षलाई एकपछि अर्को प्रश्न गरेको भन्दै पत्रकारहरू स्वयंले साझा मञ्चको अवधारणा बिगार्न खोजिरहेको समेत आरोप लगाउन पछि परेनन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया