तीन दलको साझा चलखेल : कसले मार्ने त बाजी?

आज साझा मञ्चको उम्मेदवार घोषणा हुन्छ। के आरबी राईको कुटनीति सफल हुने हो त आज? गोरामुमोले छोड्लान् र आफ्नो अडान? तीन मध्ये कुनै एक बलियो उम्मेदवारको नाम त सार्वजनिक गर्नैपर्ने हुन्छ। आरबी राई अनुभवी त छन्, तर उनी अस्वस्थ छन्, राजनैतिकरूपमा पनि शारिरिकरूपमा पनि। महेन्द्र पी. लामा र मुनिश राम्रो अप्सन हुन् तर उनीहरू दुवै चुनावी मौका छोप्नेहरू हुन्। तृणमूलस्तरमा उनीहरूको कुनै पहुँच छैन। हर्कबहादुर छेत्री मौका पायो कि ममताको निकट हुने र स्वार्थ लुट्ने चरित्रका छन्। साझा मञ्चको बाहानामा पार्टीलाई बलियो पार्ने र सतहमा क्रामाकपालाई स्थापित गर्ने क्रामाकपाको सपना आज पूरा होला त? गोररामुमोको मुनिश तामाङ र महेन्द्र लामावाला ‘तामाङ गोटी’-ले काम गर्ला त? के यी दुइ पार्टीबीचको द्वान्द्वको फाइदा हर्कले उठाउने हुन् त? कसले मार्ने हुन् त बाजी? के साझा मञ्चले यी तीनै दलका एक उम्मेदवार छान्ने हुन्? कि सबैलाई सहज बन्ने कुनै अराजनैतिक उम्मेदवार खडा गर्ने हुन्?


खबरम्यागजि विश्लेषण


डा. हर्कबहादुर छेत्रीले कालेबुङका पत्रकारहरूले आफ्नो धर्म निर्वाह नगरेको अनि ‘उल्टापाल्टी’ कुरा सम्प्रेषण गरेको सोझो आरोप लगाए।

अघिल्लो दिन ‘चुनावी रेशबाट आफू बाहिरिएको’ भन्ने वयानलाई पत्रकारहरूले ‘नबुझिदिएको’ उनको आरोप थियो। अघिल्लो पत्रकारसम्मेलनमा उनले आधा कुरा गरेर पत्रकारहरूलाई अन्योलमा पारे। आफूले बयान राखिसकेपछि ‘नो कमेन्ट्स’ मोडमा बसेकोले छेत्रीलाई पत्रकारहरूले सोध्नै पाएनन् कि ‘गडबड’ कहाँनेर हो।

‘दुइवटा पार्टी मिलेर आउनु, उनीहरूमा सदबुद्धि पलावोस्,’ उनको भाषा साङ्केतिक थियो। यसमा पत्रकारहरूले लगाउनुपर्ने अनुमानहरूमा पहिलो, ‘तीन पार्टीमा दुइवटाको आफ्नै उम्मेदवार भएकोले आफ्नो महत्वाकांक्षा पूरा हुने नदेखेपछि ठुस्किएर हर्क बाहिर निस्किएका रहेछन्’ भन्ने हुन्छ। अर्को, ‘क्रामाकपा र गोरामुमोमा उम्मेदवारको हानथाप र असहमति बढ्नथालेकोले निराश भएका रहेछन्’ भन्ने पनि हुन्छ।

हर्कबहादुर त्यस्ता नेता त होइनन्, जसलाई पहाडको इमान्दार नेताहरूको कोटीमा राख्न सकियोस्। उनले खासखास मौकामा राज्य सत्तासित मिलेर जनभावनासित खेलवाड गरेको इतिहास छ। जब ममता व्यानर्जीले उनलाई दूधबाट झिङ्गा निकालेसरी फ्याँके, तब थाना डाँडा अघि ‘जय गोर्खा’को नारा लगाएर जनताको नजिक हुने प्रयास गरेका हुन्।

मौका पाउँदा सरकार नजिक र मौका नपाउँदा जनता नजिक सिद्धान्त बोकेका हर्कको आनाबानीदेखि सबै चिरपरिचित छन्। तीनवटा पार्टीबीच कुन कुन बुँदाहरूमा कुराकानी भयो, त्यसमा कुन पार्टीको कस्तो सहमति असहमति थियो, त्यसबारे हर्क चुइँ बोलेनन्। पत्रकार बोलायो, ‘म चुनावी रेसबाट बाहिरिएँ’ भन्यो र प्रतिक्रिया पर्खेर बस्यो, हर्कको यो बानी पुरानो हो। पत्रकारहरूलाई आफ्नो गोटी सेक्न प्रयोग गर्ने र लक्षित फोर्समा ‘प्रेसर’ र ‘प्रोभोक’ गर्ने हर्कको यो बानीले यसपालि तर एउटा कुरा स्पष्ट पाऱ्यो।

उनले गोरामुमो र क्रामाकपाको छतिपति खोले। भने, ‘मिलेर आउ’। यहीँबाट बुझिन्छ, क्रामाकपा र गोरामुमोको चलखेल कस्तो चलिरहेको छ।

वास्तवमा तीनपार्टीको साझा मञ्चको डिजाइन क्रामाकपाले गरेको हो। क्रामाकपाको लागि यसपालि आफूलाई स्थापित गर्ने ठूलो अवसर पनि हो।  विनय तामाङहरू जातिको महत्वाकांक्षा र मुद्दा विरोधी तृणमूलसित लागेकोले र भाजपाको अकर्मन्यता भूमिगत विमल गुरुङको प्रभावहिनताले तयार पारेको ‘भ्याकुम’-लाई पार्टीको स्वार्थमा प्रयोग गर्न क्रामाकपाको लागि ठूलो अवसर हो, लोकसभा चुनाउ।

मुद्दाप्रेमी र जातीय महत्वाकांक्षा राख्नेहरूको ‘भोट’-लाई ‘इन्क्यास’ गर्न सक्ने स्पेस क्रामाकपाले देखिसकेको छ। त्यसैले साझा मञ्चको कन्सेप्ट अघि ल्यायो। सँगसँगै आरबी राईलाई उम्मेदवारकोरूपमा प्रचार पनि गरेर जाप र गोरामुमोलाई ‘चाप’ दियो। ‘हामीले आरबी राईलाई उम्मेदवारकोरूपमा खडा गर्ने भयौं, अब फिर्ता लिन पनि सकिँदैन, उनको इज्जत राख्नैपर्छ’ टाइपको ‘चाप’ क्रामाकपाको कुटनीति हो।

यदि आरबी राईलाई खडा गर्नुथ्यो भने क्रामाकपाले साझा मञ्च बनाउनु हुँदैनथ्यो। समयले साझा मञ्च माग्दैछ भने आरबी राईको नामा हतारसाथ उम्मेदवारकोरूपमा घोषणा गर्नु हुँदैनथ्यो। तर क्रामाकपालाई मौकामा चौका हान्ने मौका यही हो।

क्रामाकपाले नियतबस यसो गरेको हुनाले गोरामुमोले पनि त्यही सिक्यो। क्रामाकपाले आफ्नो स्वार्थ राख्छ भने गोरामुमोले किन नराख्नु त?

क्रामाकपाद्वारा हतारहतार आरबी राईको नाम अघि ल्याइनु र उनको नाम साझामञ्चबाट अनुमोदन गराउनु र रोटी सेक्नुजस्तो कुटनीतिको कारण साझा मञ्चको माहौल बिग्रियो।

गोरामुमोले महेन्द्र पी. लामा र मुनिश तामाङको विकल्प देख्यो। क्रामाकपा आरबी राई भन्ने, गोरामुमो कि त मुनिश कि त महेन्द्र। महेन्द्र आफै जापका नेता हुन्। तर जापले महेन्द्रको नाम लिएन। जापले लिनुपर्ने नाम गोरामुमोले लियो। यसो हुँदा तीन दलीय सहमति बन्ने सम्भावना कम भयो।

हर्कबहादुर छेत्रीको चुनावी दौडबाट बाहिरिने घोषणा तीन दलले बनेको साझा मञ्चको यही द्वन्द्वप्रति लक्षित थियो?

यदि यस्तो द्वन्द्वको कारण उनी बाहरिएका हुन् भने द्वान्द्वका उद्भव, उत्पादन र असर जनतामा पर्दाफास गर्नु पर्थ्यो। तर हर्कले दङ्ग्याउने शैली अफ्नाए। आधा कुरा गरे र त्यसको प्रभाव खेप्न नसकेपछि पत्रकारहरूमाथि दोष खन्याए।

आज साझा मञ्चको उम्मेदवार घोषणा हुन्छ। के आरबी राईको कुटनीति सफल हुने हो त आज? गोरामुमोले छोड्लान् र आफ्नो अडान? तीन मध्ये कुनै एक बलियो उम्मेदवारको नाम त सार्वजनिक गर्नैपर्ने हुन्छ। आरबी राई अनुभवी त छन्, तर उनी अस्वस्थ छन्, राजनैतिकरूपमा पनि शारिरिकरूपमा पनि। महेन्द्र पी. लामा र मुनिश राम्रो अप्सन हुन् तर उनीहरू दुवै चुनावी मौका छोप्नेहरू हुन्। तृणमूलस्तरमा उनीहरूको कुनै पहुँच छैन। हर्कबहादुर छेत्री मौका पायो कि ममताको निकट हुने र स्वार्थ लुट्ने चरित्रका छन्।

साझा मञ्चको बाहानामा पार्टीलाई बलियो पार्ने र सतहमा क्रामाकपालाई स्थापित गर्ने क्रामाकपाको सपना आज पूरा होला त? गोररामुमोको मुनिश तामाङ र महेन्द्र लामावाला ‘तामाङ गोटी’-ले काम गर्ला त?

के यी दुइ पार्टीबीचको द्वान्द्वको फाइदा हर्कले उठाउने हुन् त? कसले मार्ने हुन् त बाजी?

के साझा मञ्चले यी तीनै दलका एक उम्मेदवार छान्ने हुन्? कि सबैलाई सहज बन्ने कुनै अराजनैतिक उम्मेदवार खडा गर्ने हुन्?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया