एसडीएफको पहिलो चरणको 18 जना उम्मेदवार तय : दश जना नयाँ अनुहार

निवर्तमान नेताहरूमा मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले आफ्नो वर्तमान निर्वाचन क्षेत्र नाम्ची सिङ्गीथाङ र पोकलोक कामराङबाट चुनाउ लड्ने छन्।


गान्तोक, 15 मार्च


सिक्किमको आउॅंदो विधानसभा र लोकसभा चुनाउको निम्ति सत्तारूढ एसडीएफ पार्टीले आफ्नो पहिलो चरणमा 18 जना उम्मेदवार घोषणा गरेको छ। पहिलो चरणको उम्मेदवार घोषणाको सूचीमा 10 जना नयाँ अनुहार रहेका छन् भने 7 जना पार्टीका वरिष्ठ नेताहरू तथा निवर्तमान विधायक तथा मन्त्री रहेका छन्।

बाइपासस्थित एसडीएफ मुख्यालयमा पार्टीका प्रवक्ता भीम दाहाल, पीडी राई र केटी ग्याल्छेन लगायत प्रचार प्रसार विभागका प्रतिनिधिहरूले एसडीएफको उम्मेदवार सूची सार्वजनिक गरेका हुन्।

आज सार्वजनिक भएको उम्मेदवार सूचीमा चार जना महिला उम्मेदवार रहेका छन् भने दुई जना तामाङ समुदायबाट अनि एक जना लिम्बू समुदायबाट रहेका छन्। एसडीएफ पार्टीले लिम्बू तामाङ जनजातिलाई पाँचवटा आसन दिने अग्रिम घोषणालाई पूरा गर्दै दोस्रो चरणको सूचीमा दुई जना लिम्बू समुदायलाई समेट्ने प्रवक्ता दाहालले बताएका छन्।

निवर्तमान नेताहरूमा मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले आफ्नो वर्तमान निर्वाचन क्षेत्र नाम्ची सिङ्गीथाङ र पोकलोक कामराङबाट चुनाउ लड्ने छन्।

निवर्तमान मन्त्री जीएम गुरूङले पुरानै निर्वाचन क्षेत्र तिमी नामफिङबाट चुनाउ लड्ने छन्। यसरी नै वरिष्ठ नेताहरूमा मानेबुङ देन्तामाबाट एनके सुब्बा, तुमिन लिङ्गीबाट उगेन टी. ग्याछो भोटिया, नाथाङ माछोङबाट डीटी लेप्चा, गान्तोकबाट पिन्चो छोपेल लेप्चा र रिन्छेन्पोङबाट केएस लेप्चा पुरानाहरूको सूचीमा पुन: उम्मेदवार बनेका छन्।

यसरी नै नयाँ अनुसारसहित युवाहरूलाई पनि समेट्ने काम भएको छ भने 18 जना मध्ये चार जना महिलाहरूमा योकसम टाशीडिङ क्षेत्रबाट दिछेन ओङमु भोटिया, जूम सालघारीबाट धनकुमारी कामी, मल्लीबाट फरवन्ती तामाङ र राङगाङ याङगाङबाट राजकुमारी थापा रहेका छन्।

उत्तर जिल्लाको जङ्गुबाट नयाँ अनुसार पिन्चो नामग्याल लेप्चा, नाम्चेबुङबाट एम प्रसाद शर्मा, नामथाङ रातेपानीबाट बिर्जन तामाङ, दरामदिनबाट पेम नर्बु शेर्पा, गेजिङ बर्मेकबाट एलएम शर्मा रहेका छन् भने केही दिनअघि मात्र सडक तथा पूल विभागबाट सचिवको पदबाट सेवानिवृत्त भएका जीटी ढुङ्गेललाई अप्पर तादोङबाट उम्मेदवार बनाइएको छ।

उम्मेदवार घोषणासितै एसडीएफले आफ्नो चुनावी प्रचारलाई तीव्र पार्ने तथा शनिबारदेखि मुख्यमन्त्री चामलिङले राजधानी गान्तोकको लाल बजारदेखि नाम्चीसम्म घरदैलो अभियान पनि शुरू गर्ने प्रवक्ता पीडी राईले बताएका छन्।

दोस्रो चरणको उम्मेदवारको सूची 18 मार्चभन्दा अघि नै सार्वजनिक गरिनेछ भने त्यस चरणमा 14 वटा विधानसभा र लोकसभाको उम्मेदवार घोषणा गर्ने प्रवक्ता दाहालले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया