अखिल भारतीय किराती खम्बु राई एसोसिएशनले गऱ्यो भोट वहिष्कार : किराती खम्बु राई सांस्कृतिक संस्थानले गऱ्यो मताधिकार प्रयोग गर्ने अपिल

Girl in a jacket

‘यसपाली त हाम्रै राई समुदायकै उम्मेद्वार खडा भएका छन्…’

‘कुनै पनि समस्याको समाधान कुराकानीमार्फत गर्न सकिन्छ,’ उनले भनिन्, ‘भोट प्रत्येक भारतीय नागरिकको गणतान्त्रिक अधिकार हो। यसपालीको चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट दुइजना हाम्रै अर्थात राई समुदायकै उम्मेद्वार खडा भएका छन्। जसमा एकजना अमरसिंह राई र दोस्रो आरबी राई। यसैले यो चुनाउ वहिष्कार गर्नको साटो जे समस्या छ, त्यसलाई कुराकानीद्वारा समाधान गरिएको उचित हुनेछ।’


दार्जीलिङ, 15 मार्च।


अखिल भारतीय किराती खम्बु राई एसोसिएशनले यसपालीको लोकसभा चुनाउ वहिष्कार गर्ने चेताउनी दिएको छ। एसोसिएशनका अध्यक्ष योगेश मुक्सु राईले पत्रकारसम्मेलन गर्दै अखिल भारतीय किराती खम्बु राई एसोसिएशनको मूल माग जनजाति रहेको अनि राई समुदायलाई जनजातिको दर्जा दिनुपर्ने बताउँदै जनजातिको मर्यादा नपाएकोले भोट बहिष्कार गरेको बताए।

राज्यकी मुख्यमन्त्रीदेखि राज्यका सम्बन्धित विभागीय निकायहरूसमक्ष पनि पत्राचार गरेपनि  अहिलेसम्म यसमाथि कुनै ठोस पहल नभएको कारण नै सङ्गठनले यसपालीको चुनाउ वहिष्कार गर्ने निर्णय लिएको हो उनले जनाए।

‘हाम्रो सङ्गठनमा 2.5 लाख सदस्य छन्,’ उनले भने, ‘सङ्गठनको यो निर्णयबारे हाम्रा सम्पूर्ण सदस्यहरूले राम्ररी थाह पाउन सकेका छैनन्। यसैले यसबारे विभिन्न स्थानमा सभाहरूको आयोजना गरेर सङ्गठनको निर्णयबारे जानकारी दिइनेछ।’

उनले आफ्न समुदायको लागि दार्जीलिङ पहाड वा विकास बोर्डमा करोडौं रूपियाँ आइसकेको तर सही विपन्न परिवारहरूको घर निर्माण गर्ने काम भने नभएको पनि बताए। ‘कतिजनाको राम्रै घरलाई भत्काएर पुनः निर्माण गर्ने जस्तो पनि काम भइरहेको छ,’ उनले भने, ‘हामीलाई केवल भोट हाल्ने मशिन जस्तो मात्रै बनाइएको कारण नै यसपाली हामीले चुनाउ नै वहिष्कार गर्ने निर्णय लिएका हौं।’

किराती खम्बु राई सांस्कृतिक संस्थानकी सचिवा विनिता खम्बु राईले भने अखिल भारतीय किराती खम्बु राई एसोसिएशनका सदस्यहरूलाई आफ्नो मताधिकार प्रयोग गर्ने अपील गरेका छन्।  ‘कुनै पनि समस्याको समाधान कुराकानीमार्फत गर्न सकिन्छ,’ उनले भनिन्, ‘भोट प्रत्येक भारतीय नागरिकको गणतान्त्रिक अधिकार हो। यसपालीको चुनाउमा दार्जीलिङ लोकसभा आसनबाट दुइजना हाम्रै अर्थात राई समुदायकै उम्मेद्वार खडा भएका छन्। जसमा एकजना अमरसिंह राई र दोस्रो आरबी राई। यसैले यो चुनाउ वहिष्कार गर्नको साटो जे समस्या छ, त्यसलाई कुराकानीद्वारा समाधान गरिएको उचित हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया