अन्ततः भाजपा र एसकेएमको फुस्क्यो लगनगाँठो : गोलेले भने- ‘हामी 32 मा 32 आसनमा चुनाउ लड्नेछौं

Girl in a jacket

सिक्किम र सिक्किमेको अधिकार सुरक्षाको निम्ति केन्द्रिय पार्टीसित लड्ने निर्णयमा पुगेको तर एसकेएमले राखेको कुनै मागबारे भाजपाबाट स्वीकृतिको प्रतिश्रुति नआउँदा आजदेखि भाजपासित गठबन्धन नहुने घोषणा गरेको बताउँदै गोलेले भने, ‘अब 32 वटा आसनमा र एउटा लोकसभामा एसकेएम पार्टी एक्लैले लड्नेछ।’


गान्तोक, 15 मार्च।


हिमाली राज्य सिक्किमको विपक्षी दल एसकेएम र राष्ट्रिय राजनैतिक दल भाजपा बीच चलिरहेको गठबन्धनको घोषणा हात्ती आयो हात्ती आयो फुस्स साबित भएको छ। भाजपासित गठबन्धन नहुने निश्चित भएको छ। यसबारेमा एसकेएमका अध्यक्ष पीएस गोलेले पश्चिम सिक्किमको सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको बुदाङ ग्राम पञ्चायत एकाईको हुक्पा गाउँमा आयोजित सभालाई सम्बोधन गर्दै भाजपासित हुने भनिएको गठबन्धन नहुने कुरा स्पष्ट पारेका छन्।

उनले अब केवल आउँदो 11 अप्रेलको दिन सत्तारूढ एसडीएफ पार्टीको सत्ता परिवर्तन गर्ने एकमात्र मुद्दा लिएर अघि बढ्नुपर्ने बताए। उनले पार्टीको केन्द्रिय कार्यकारी समितिको बैठक पछि भाजपा गठबन्धन नगर्ने निर्णय गरेको बताए।

‘हामी भाजपालाई पार्टी बेच्ने काम गर्दैनौं तर मिलेर चुनाउमा लडौं भन्ने सोच्छौं। केन्द्रको नेताहरूसित भेटघाट गरेर आसन बाँड्नु पर्छ भनेका थियौं,’ उनले भने, ‘हामीले सर्त पनि राखेका हौं। नागरिक संसोधन विधेयक लागु हुनुनहुने, लिम्बू तामाङको आसन आरक्षण, छुटेका एघार जातिलाई ट्राइबल बनाउने, नेपालीको आसन विधानसभामा आरक्षण गर्नुपर्ने, भ्रष्ट्राचारको छानबीन हुनुपर्ने माग थियो।’

उनले सिक्किम र सिक्किमेको अधिकार सुरक्षाको निम्ति केन्द्रिय पार्टीसित लड्ने निर्णयमा पुगेको तर एसकेएमले राखेको कुनै मागबारे भाजपाबाट स्वीकृतिको प्रतिश्रुति नआउँदा आजदेखि भाजपासित गठबन्धन नहुने घोषणा गरेको बताए।

‘अब 32 वटा आसनमा र एउटा लोकसभामा एसकेएम पार्टी एक्लैले लड्नेछ,’ उनले भने।

एसकेएम अध्यक्ष पीएस गोलेको नेतृत्वमा एउटा टोली नै दिल्ली पुगेर भाजपा अध्यक्ष अमित शाह र महामन्त्री राम माधवसित बैठक गरेपछि गठबन्धन हुने पक्कापक्की भएको महामन्त्री राममाधवले नै राष्ट्रिय समाचार माध्यमहरूबाट घोषणा गरेका थिए।

त्यसपछि लगातार रूपमा चलिरहेको स्थानीय एसकेएम समर्थक र भाजपा समर्थकको प्रचण्ड विरोधको माझ पनि एसकेएमले पत्रकार सम्मेलन नै गरेर एसकेएम र भाजपाको गठबन्धन सुनिश्चित भएको अनि आठवटा विभिन्न मुद्दाहरूलाई लिएर ससर्त भाजपासित मिलेर चुनाउमा जाने निर्णय गरिसकेको प्रवक्ता जेकब खालिङले घोषणा गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया