कहिले मिल्ने हाम्राहरू?

Girl in a jacket

चासोचर्चा

बङ्गालले शोषण गऱ्यो । अन्याय गऱ्यो । अत्याचार गऱ्यो । गणतन्त्र छेक्यो । बोल्न दिएन । लेख्न दिएन। भाषा मेटाइदियो । हाम्राहरू मिल्नुपर्छ । मिल्नुलाई सबै तयार छन् । जनता तयार छ । राजनैतिक दल तयार छ । नेता/नेतृत्व तयार छ । फेरि किन मिल्दैनन् ।


विशाल राई , टिस्टा , कालेबुङ ।


It was the best of times

It was the worst of times

It was the age of Wisdom

It was the age of foolishness

It was the epic of believe

It was the epic of increduality

It was the season of light

It was the season of darkness

It was the spring of hope

It was the winter of despair

We had everything before us

We had nothing before us.

(Tales of two Cities -Charles Dickens-1859)

भर्खरै एउटा विवाहभोजमा एक क्रान्तिकारी मित्रले लामो भाषण हाने । कहिले मिल्ने हाम्राहरू । हाम्रो त नेताहरू नै भएन । यसपाली पनि मिल्ने सम्भावना देखिएन । यसपाली पनि मिल्न सकिएन भने यो जातिको अस्तित्व डाइनासोर हुनेछ । बङ्गालले हुनेहुनामी गरिसक्यो । हामी चोक्टा लाम्टा भयौँ । जात-जातको विकाश बोर्डमा विभक्त हामी । अब दार्जीलिङ पहाड सर्वनाश भयो ।

अब गोर्खा यहाँबाट खेदिने दिन आयो । यहाँ पनि मणिपुर , मेघालय , असम दोहोरिने छ । यो सब हाम्रो राजनैतिक नेतृत्वहरू मिल्न नसकेर हो । उनी पहिले कुनै राजनैतिक दलसँग आबद्ध थिए । पछिबाट निराशा जोहो आफ्नै शिविरमा फर्किए । पहिले क्रान्तिकारी थिए । अहिले एकाध कविता कोर्छन् । अहिले वैरागी बने । उनको साहित्यिक उपनाम वैरागी ।

बङ्गालले शोषण गऱ्यो । अन्याय गऱ्यो । अत्याचार गऱ्यो । गणतन्त्र छेक्यो । बोल्न दिएन । लेख्न दिएन । भाषा मेटाइदियो । हाम्राहरू मिल्नुपर्छ । मिल्नुलाई सबै तयार छन् । जनता तयार छ । राजनैतिक दल तयार छ । नेता/नेतृत्व तयार छ । फेरि किन मिल्दैनन् ।

अचेल मलामी , विवाहघर , पूजा , विधालय , बजार , पार्क , सार्वजनिकदेखि लिएर बन्द कोठासम्मको साधरण चर्चा यहीँ छ । आन्दोलनपछि प्राय: सबै दार्शनिक बनेका छन् । दर्शकदेखि यसलाई उपलब्धि मान्नपर्छ । पहिले पहिले आफ्नो धारणा रोबिनसन क्रुसो हुँदा अल्पमतमा परेर दु:खी थिए । अहिले बहुमतको धारणा यहीँ छ । निराशा नै सही चिन्तनको आगो सबैतिर सल्किएको छ । पहिले पहिले सत्तामा खुट्टा हुँदा टाउका कुल्चिनेहरू अहिले टाउको जोगाउने दर्शन बाँडी हिँडिरहेका छन् । कुनै  समय आम जनताको प्रजातन्त्र फोर्नेहरू अहिले प्रजातन्त्रको शोक मनाउन सङ्गोष्ठीमा भेला भएका छन् ।

राज्य तन्त्रको राजनीति र भोग विलास गर्ने दल र नेतृत्वहरू आमजनताका पीडादेखि अक्षुण्ण हुन्छन् । पीडा र चिन्तन उम्रिने भुँइ र उठ्ने घारणा समान हुँदा नै सहकारिताको वातावरणको निर्माण हुनेगर्छ । शोषण खप्ने एउटै समुहभित्र पनि दर्जा र अनुग्रहको बाँडफाड हुँदा त्यहीँभित्र प्रतिगामी शक्तिले जरा हाल्छ ।

त्यहीँ बोटमा पानी हालेर राज्य सत्ताले भविष्यमा पलाउने असन्तुष्टिको हत्या गर्छ । दार्जीलिङ पहाडको राजनैतिक इतिहासमा राज्य तन्त्रको खेल योभन्दा फरक छैन । एकसमयका जण्ड तार्किक , आलोचक , साहित्यकार रामकृष्ण शर्मा अखिल भारतीय गोर्खा लिगका तीक्ष्ण महासचिव थिए । शर्मालाई कलकत्ता उच्च न्यायालयको चौकीमा राज्य सरकारले बसाएपछि सम्भवत एउटा क्रान्ति ज्वालालाई पानी हालिदिए ।

भारतीय काङ्ग्रेसभित्र गोर्खा आकांक्षालाई प्रतिनिधित्व गर्ने टी मनेनलाई भारतीय काङ्ग्रेसको महासचिवको पदमा थान्को पारे । गोर्खालिगका मानिएका राजनैतिज्ञ देवप्रकाश राईलाई बङ्गाल काङ्ग्रेसको क्याबिनेटमा हुलाएर दार्जीलिङको आम गोर्खा चाहनादेखि विमुख गराए ।

सुभाष घिसिङलाई काउन्सिलको गणतान्त्रिक चुनाउको बाटो विपरित सालसम्म निर्विरोध दार्जीलिङको राजनैतिक बाघडोर  हातमा दिए । आजीवन बङ्गाल राज्यसत्ताको पिउसे बनेर घिसिङले चाकरी गरे ।

मिल्ने सम्भावनाको यसरी हत्या हुनेगर्छ । चिन्तामा हाम्रो अनुहार एउटै छ । चिन्तनमा हामी अलग थलग छौँ । भूगोल एउटै छ । शोषक एउटै छ । इतिहास एउटै छ । पीडा एउटै छ । अगमसिंह , गोतामे , वैरागी काँइलाको एकै कविता पढेका छौँ । हाम्रो संवेदना भिन्ना भिन्नै छ । हामी कित्ता कित्तामा विभाजित छौँ ।

हाम्रो दलीय विविधता छ । तर वैचारिक विविधता छैन । दलदेखिमाथि हुन्छ विचार । दलीयताभन्दा वैचारिकता महान हुन्छ । सृजनशील हुन्छ । प्रजातन्त्र बहुसंख्यकले अल्पसंख्यकमाथि चलायमान गर्ने शासन विधि हो । यो शासनको अन्तर्द्वन्द्व भनेको अल्पसंख्यकहरूको वैचारिक एकजुटता नै हो । बहुसंख्यक गोष्ठीभित्र पनि अन्तर्द्वन्द्व निहित हुन्छ ।

अल्पसंख्यक गोष्ठीभित्र चलिरहने दलीयताले गर्दा बहुसंख्यकको यो अन्तर्द्वन्द्व सतहमा देखा नपरेको हो । समयकालमा बहुसंख्यकको शोषण र शासन विधि नै वैचारिक संस्कृति बनेर निर्माण हुनेगर्छ ।  बङ्गाल सरकारको दार्जीलिङ पहाड र गोर्खा जातिमाथिको विविध शोषण अहिले यस क्षेत्रको संस्कृति बनेर निर्माण भइरहेको अवस्थामा छ । यसलाई आगामी पुस्ताले  यस क्षेत्रको भूराजनैतिक अर्जित इतिहासको रूपमा पठन गरे खतरा तयहीँ देखिनेछ ।

तर हामीलाई अचेल केही कुराले छुँदैन । हामी यतिधेर संवेदनहीन बनिसकेका छौँ । संवेदनाको मृत्यु भनेको एउटा मान्छेको मृत्यु जस्तो झिना विषय होइन । मान्छेको संवेदना भनेको उसको इतिहास , भूगोल , भविष्यले निर्माण गर्ने विषय हुन् । संवेदनाको सिमा व्यक्ति , जाति, राष्ट्रको अस्तित्वसँग जोडिएको राजनीतिक विषय हुन । हामी यति धेर संवेदनहीन बनेका छौँ । हामीलाई अचेल केही कुराले छुँदैन ।

हाम्रो संवेदना राजनीतिक चुनाउसम्म सिमित छ ।  कि  त  आन्दोलनसम्म । जातिको माया , अस्तित्व रक्षाको प्रेम चुनावी विषय भइसक्यो। चुनाउमा हामी जाति प्रेमी हुन्छौँ । कि त आन्दोलनमा । कारण सोझो छ चुनाउ पाँच वर्षमा आउँनेगर्छ । आन्दोलन दल र सत्ता परिवर्तनपछि हुनेगर्छ । कि त दल र सत्तामोह स्थापनाको निम्ति । अरू सामन्य अवसरमा  जातिप्रेमी भेटिन हम्मे हम्मे पर्छ । हामी दल दल हेरेर जाति प्रेमी छौँ । हामी झण्डा झण्डा जाति प्रेमी छौँ । हामी नेता नेता हेरेर बीर छौँ ।

चुनाउ सकिएको भोलीपल्ट हाम्रो जातिप्रेमको भ्यालिडिटि अफ् हुन्छ । रिचार्गको लागि अर्को चुनाउ पर्खिनुपर्छ । आन्दोलन थान्को लागेपछि हामी साधारण जनताभन्दा साधरण हुन्छौँ । राजनीतिक नदेखिनलाई सेतो लुगा लगाएर निधारमा टिका लगाएर प्रणामी हुन्छौँ । सुकिसकेको टिस्टा रङ्गीत सुक्दैन भन्नलाई अर्को आन्दोलन पर्खिएर बस्छौँ ।

नगरपालिका र विधानसभा चुनाउ पार्टी उम्मेद्वारले गोर्खाल्याण्डको नाममा चुनाउ जित्छ । ग्राम पंचायतदेखि काउन्सिलको चुनाउसम्म गोर्खाल्याण्डको नारामा जितिन्छ । नगरपालिका ,ग्राम पंचायत चुनाउ विकासको नाममा चुनाउ मैदानमा उत्रे उम्मेद्वारिता फरफिट हुने सम्भावना छ दार्जीलिङ पहाडमा । नाली झोडा , गल्ली , सडकपेटी , ल्याम्पोष्ट आदिको विकास गर्ने नगरपालिका र काउन्सिलको चुनाउलाई गोर्खाल्याण्डको चुनाउ भन्दा राजनीति हुँदैन ।

तर ग्रामीण विकास र आममानिसको संसाधनको विकासभन्दा जातिविरोधी र राजनीति हुन्छ । संसदमा आलुवाला , फेटावाला , फेरीवाला सांसदलाई सांसद भत्ता उकास्न पठाएका छौँ । हाम्रो रीतभात मेल नाखाने सांसदले गोर्खाल्याण्ड नबोल्दा राजनीति हुँदैन । किन नबोलेकोमा प्रश्न गर्दा राजनीति हुन्छ । राजनैतिक समाधानको मुद्धा अराजनैतिक संस्था र बुद्धिजीवीलाई सुम्पिएका छौँ । जुन राजनीति हो त्यसलाई अराजनैतिक सम्झिन्छौँ । जुन कुरा राजनीति हुनपर्ने त्यो सेवाको हिसाबमा चल्छ । जुन जनसेवा हुनपर्ने त्यो राजनीति छ । गर्नेहरूहरूले वर्षौदेखि राजनीति नै गरेका हुन् । गोर्खाल्याण्ड राजनीतिक समाधान हो भनेर बुझेनन् हाम्राहरूले । जे जे बुझे त्यसैलाई राजनीति पाए र प्रयोग गरे ।

घिसिङको समयमा आधुनिक हतियार लैस सीआरपीएफ विरूद्ध खदुवा चलाए । यता विमल गुरूङको समयमा जीएलपीले काटेका फलामको क्याटिसले बन्दुकको विरूद्ध बहादुरी देखाउने प्रयास गरे । लड्नेहरूले पुलिस र सीआरपीएफ विरूद्ध गोर्खाल्याण्डकै युद्ध लडेको ठाने । त्यतिलाई नै गोर्खाल्याण्डको युद्ध मानेर त्यसपछि राजनीतिक युद्धमा हारे । हारिरहे । आजसम्म हारिरहेका छन् । दार्जीलिङको सम्वेदनशील सिमाना क्षेत्रमा आन्दोलनको ग्राण्ड डिजाइन गर्ने घिसिङ र विमल गुरूङहरू पेरिफेरिमा बसेर  राज्य र केन्द्रको राजनैतिक चलखेल ठम्याउन नसक्दा हारे । गोर्खाल्याण्डलाई राजनीति कम जनकेन्द्रीत आवेग मात्र मान्ने अल्पज्ञानी हुँदा थाकेर हारे ।

राजनीतिक दल र सत्ता फेर्न हामी रिप्पु छौँ । राजनीतिक परिवर्तनको हाँगामा पैसा सत्ता , मेला , सांस्कृतिक उत्सव  र मोज हेर्ने हाम्रो आदत छ । आन्दोलन भनेको जुलुस र खुकुरी बुझेका छौँ । काट्नु , जलाउनु , मार्नु , भत्काउनु , बाटो अवरोध गर्नु , रूख विरूवाको तस्कर गर्नु , चन्दा सङ्ग्रह गर्नु , महङ्गो गाडी चढनु आदि आन्दोलनको यता संस्कृति बनिसकेको छ । काट्नु , जलाउनु , मार्नु , भत्काउनु , बाटो अवरोध गर्नु , रूख विरूवाको तस्कर गर्नु , चन्दा सङ्ग्रह गर्नु , महङ्गो गाडी चढ्नु आदि आन्दोलनको यता संस्कृति बनिसकेको छ । घिसिङदेखि विमल गुरूङसम्म यो संस्कृति स्थापित बनेर गयो । अहिलेको दार्जीलिङे युवा पुस्तामा आन्दोलनको यो संस्कृतिको विपरित फरक बाटो छैन ।

शहिदहरूको सपनाले हामीलाई छुँदैन। यो फरक कुरा हो कि दार्जीलिङ पहाडमा कोही मर्दा अचेल शहिदको सपना ट्रोल बनेको छ । नेता र दलको सोझो झुटले हामीलाई फरक पर्दैन । महाकाल राजनैतिक कसमको तीर्थ बनिसक्यो । गिता , कुराण ,बाइबल आदिको कसम खाने नेताहरू दार्जीलिङको मूलबाटो रातोबत्तीको गाडीमा प्रमोशन भए । कतिलाई कसम फापे । कति जंघार तरे। कसमले पिरोलिएर । व्यापारीहरू हाम्रा नेतृत्व छन् । पुँजीपति ठेकादारहरू हाम्रा उद्धारकर्ता छन् । हामी सजिलै भुल्छौं । पाँच वर्षभरि वन्चना सहनछौँ । लाञ्छना सहन्छौँ । पीडाले भकुरिन्छौँ। भोटको एकदिन हामी राजा हुन्छौँ । रहेको पाँच वर्ष माग्ने भिखारी हुन्छौँ । भोटको दिन हामी हाम्रो सोमालिया भुल्छौं । सडकको खाल्डा भुल्छौं । पानीविनाको नल भुल्छौं । सधैँ किनार किनार हिड्नुपर्ने अव्यवस्थित ढल भुल्छौं । विदेश कुइरेको घरमा भाँडा माझिरहेकी छोरी भुल्छौं । आन्दोलनले खाएको छोरा भुल्छौं । राजनैतिक अव्यवस्थाले पलायन हज्जार युवा दार्जीलिङ्गेहरूको काहालीलाग्दो अनुहार भुल्छौं ।  रोगी चियाबारी भुल्छौं । कुहनलागेको कुइलेनबारी भुल्छौं । अण्गन्ती निधारमा लागेको पुलिसको बन्दुकको गोली भुल्छौं । हज्जार सास्ती र चोटहरू भुल्छौं । भूल्नु पनि कति कति खतरनाक छ । त्यो पनि भुल्छौं ।

व्यवस्थालाई भक्कुचुर गालीगलौच गर्दै पाँच वर्ष बताउँछौँ । फेरि उही राजनैतिक दललाई बुढी औंलो दिएर चौकी दिन्छौँ । रहेको दिनहरू एउटै समस्या र चिन्ता बाँडफाँड गरेर खान्छौँ । सबैको गुनासो छ । हाम्राहरू कहिले मिल्ने ।

बालकृष्ण समले नियमित आकस्मिकता लेखे । पुस्तकको सार हो – संसारमा घटने घटनाहरू आकस्मिक हुँदैन । जुनै पनि घटनाहरू निर्दिष्ट नियमको क्रमबद्ध परिणाम हुन । हामी आकिस्मिक्तामा विश्वास गर्छौँ । हाम्रो आन्दोलन पनि आकिस्मिक्ताको खेल भयो । आकसमिक्ता नियमित हुँदैन । यस्तै आकस्मिक आन्दोलनहरूमा बेला बेला राजनैतिक एकता हुन्छ हाम्रो ।

नियमित र योजनावद्ध हुँदा हाम्रो एकता उभिन सक्दैन । यस्तै बेला बेला घटने आन्दोलनमा हुने एकता अरूबेला सामन्य अवस्थामा एकता कहिले देखिएन । यस्तै एकतालाई प्राण भर्ने अवसर राजनैतिक चुनाउ हो । जातीय एकता र जागरण पनि आकस्मिक्ता कै बजार भयो । तादीमा हिलम्यान एसोसिएसन , प्रान्त परिषद ,संयुक्त मोर्चा ,पीडीएफ ,ज्याक , जीएमसीसी , आदि यस्तै अनियमित आकस्मिक्ताको परिणाम थियो ।

नियमित र योजनाबद्ध आन्दोलनको खाँचोको बेला यस्ता मोर्चाहरू जलेर खरानीताल बनेका हुन् । सर्वभारतीय गोर्खालाई एकिकरण र राजनैतिक मञ्चको चेतना र जागरण दिने दार्जीलिङ मिलेर कहिले उभिनै सकेन । बोल्नै सकेन । आज पनि भारतीय स्तरमा गोर्खाहरूको राजनैतिक सङ्कट गम्भीर रूपमा अघि आइरहेको बेला दार्जीलिङ फेरि अर्को आकस्मिक्ताको प्रतिक्षामा छ । दार्जीलिङको निम्ति घिसिङ , विमल , मदन , छत्रे , आरबी ,हर्क सबै आकस्मिक्ता बाहेक केही प्रमाण भएन ।

आफ्नो भागको आपतकाल भोगिरहेको दार्जीलिङ फेरि अर्को घिसिङ र विमल पर्खेर निरिह देखिन्छ । भारतेली स्तरमा ६० देखि ८० सम्म कै दशकको जातीय आपतलाल र सङ्कट गोर्खाहरूले आज खप्न परिरहेको कठिन अवस्था छ । मेघालय , मणिपूर , असमतिर यो सङ्कट शुरू भैसकेको छ । ८० – को दशकमा दार्जीलिङ पहाडमा लागेको जातीय अस्तित्व र राजनैतिक सुरक्षाको आन्दोलनको आगोको पृष्ठभूमि त्यो पनि हो । सर्वभारतीय स्तरका गोर्खा सङ्गठन र बुद्धिजीवीहरू दार्जीलिङको आगो पर्खिएर उधिरहेको छ । उनीहरूको जातीय प्रेम र चेतना पनि दार्जीलिङमा आगो लाग्दा सल्किरहन्छ । दार्जीलिङमा आन्दोलनको आगो निभ्दा चिसो दार्जीलिङलाई गाली गरेर उनीहरूको जातीय दायित्व पुरा गर्छन् ।

दार्जीलिङले बुझेको र जानेको आन्दोलन ठीक विपरित छ । घिसिङ र विमल गुरूङले गरेको आन्दोलन नै दार्जीलिङलाई लाग्छ -आन्दोलन हो । बङ्गालपट्टि फ़र्केर चुनाउको मुखमा गाली गर्नु आन्दोलन हो । दार्जीलिङ , कालेबुङ , खरसाङ , मिरिकतिर जनसभामा गोर्खाल्याण्डको नाममा कसम खानु आन्दोलन हो ।

गोर्खाल्याण्डको आन्दोलनको प्रभाव सिलगढीको समतल काटेर कोलकत्ता र दिल्लीको बन्द करिडरमा कहिले पुगेन । विगत वर्षको १०५ दिनको आन्दोलन अवधि दिल्ली भाजपा कुनै मन्त्रीलाई दार्जीलिङमा बन्दको ५६ दिन भएको जानकारी  दिँदा उनले सोधे दार्जीलिङ कहाँ छ ? उनकै पार्टीको सांसद हाम्रो लोकसभा प्रतिनिधि हुन् । दार्जीलिङमा आन्दोलनको नाममा घिसिङदेखि विमलसम्म राजनैतिक हत्या , आगजनी , सरकारी कार्यालय तोडफोड , दोहन , बन्द , विपक्षी दलहरूको खेदुवा आदि विपरित संस्कृतिलाई  लाई नै आन्दोलनको कार्यक्रम मानियो । जातीय  भावना  र आवेगको आधारमा विगत वर्ष भारत र विश्वभरकै गोर्खाहरूले नारा लगाएका थिए ।

तर आन्दोलनको केन्द्र स्थल दार्जीलिङमा भइरहेको आन्दोलन नेतृत्व र दिशाहीन पागल कुदिरहयो । गोर्खाल्याण्डको नाममा बन्द डाक्ने नेतृत्व र राजनैतिक दलले पछिबाट बन्दको जिम्मा जनतालाई बुझाए । यो आन्दोलनबाट पलायनकै चिन्ह थियो । शुरूमा बन्दको घोषणा गर्ने तर आपत आइपर्दा जिम्मेवारितादेखि भाग्ने काम भयो । विमल गुरूङले विनयलाई र विनयले विमललाई औंली देखाए ।

जीटीएको खेस्रा जलाएर शीरमा कफन बांधेर संगै निस्किएकाहरू हराए । एउटा जलाएको कागजको खरानी बोकेर लालकोठी हुँदै ब्रिगेडतिर लागे । अर्का आन्दोलनको नाममा आवेश छताछुल्ल पारेर सडकमा लाश र दार्जीलिङमा आवेशको आगो लगाएर सुइकुच्चा ठोके । यता दार्जीलिङमा राज्य र केन्द्र मिलेर आन्दोलनको आगोमा पानी हालेर चिसो पारे । उता भारतीय र विश्व गोर्खाहरूले सामाजिक सञ्जालहरूमा भर्त्सना र गाली लेखेर दायित्व पुरा गरे ।

गजब त आन्दोलनपछि देख्न पाइयो । बङ्गाल चिहान हो भन्नेहरू चिहानमा पाल टागेर रासोबासो बोकेर बस्न थाले । आन्दोलनमा जातीय स्वाभिमानको झण्डी हल्लाउनेहरू नेता फेरफार गर्दै बसाई सरे । कतिले लालकोठी होइन तर सोझै दादा र दीदीको ब्रिगेडतिर लागे । कति भूमिगतको नाममा जङ्गल र पहाडतिर कुदे । शुरू शुरूमा जीटीएको विरोध गर्दै जातीय स्वाभिमानको कसम खाँदै भूमिगत स्थलबाट अडियो पठाउनेहरूले महासचिव लगाएर ब्रिगेडतिर सुटुक्क सुटुक्क चिठी चपेटा लेख्न थाले। आफ्नो भागमा आन्दोलनको परिणति र नेतृत्व नरहेपछि कतिले सक्रिय सङ्घर्षको बाटो छाडेर राजीनामा दिए । साधु सन्तको जीवन बिताउने प्रण गरे । घर पसे । कति प्रणामी भए । भजन् किर्तनतिर लागे । कति शारिरीक जाँचको नाममा वेल्लोर , बेङ्गलोर , बम्बईतिर झरे । कति आन्दोलनमा जेल पसेकाहरू फिर्दै लालकोठी छिरे । । लालकोठीमा चढे । एकदुइ दिनमा हिमालय दर्पणमा फोटो देख्न पाइयो । विकास र शान्तिको निम्ति विनय गुटमा सामेल ।

उनीहरू विकाशको सेता परेवा बोकेर विमल गुरूङको अनुहार बेगरको झण्डा बोकेर शान्ति प्रचारमा देखिए । यसरी सामन्य अवस्थामा बाँच्न नसक्नेहरू भकाभक स्वाभिमान लिलामीमा देखिए । आन्दोलनमा जातीय प्रेम , स्वाभिमान भन्नेहरू आन्दोलन पछि मच्छड झैँ साइसुत्त हराए ।

राजनीतिमा मिल्नु र बाझ्नु पर्ने ठाउँ र ठहर हुन्छ । स्तर र अवस्था हुन्छ । गोर्खा हारेको यहीँ राजनैतिक चेतनाको अभावले हो । राज्य सरकारकै कानून अन्तर्गत जीटीए व्यवस्था अधिग्रहण मोर्चाले राज्य सरकारसँग कुटनैतिक सम्बन्ध राख्न सकेन । राज्य सरकारसँग मिलेर दार्जीलिङ पहाडको विकाश गर्ने भन्ने गोजमुमो-ले राज्य सरकारसँग राज्य सरकारसँग बाह्र हातको राजनैतिक सम्बन्ध स्थापित गऱ्यो ।

राजनैतिक सम्बन्ध र कुटनैतिक सम्बन्ध भिन्ना भिन्नै कुरा रहेको नबुझ्दा विमल गुरूङको यो अवस्था भयो । जीटीए सन्चालन गरेर दार्जीलिङमा संसाधनहरूको विकाश , रोजगार आदिको विकाश गरेर सामाजिक , आर्थिक , राजनीतिक शक्तिको विकाश गर्नु पर्ने विषयमा चुके । राज्यसँगको जीटीए सम्झौतामा बसेर प्रशासनिक र क्षेत्रको विकासको माग पुरा गर्दै छुट्टै राज्यको निम्ति क्षेत्रीय राजनैतिक क्षमताको निर्माण गर्नु पर्ने दिशामा हारे । जुन बोडोहरूले बीटीसी अन्तर्गत गरिरहेका छन् । घिसिङले राज्यभित्रकै दागोपाप-मा बसेर २१ सालसम्म राज्य सरकारसँग सम्बन्ध राखेर दार्जीलिङको आमजनताको आवाज र जानाकांक्षालाई दबाएर राखे । घिसिङलाई दार्जीलिङे जनताको घेरादेखि बाहिर पारेर त्यहीँ बढ्दो जनाक्रोशलाई प्रयोग गरेर राज्य सरकारले घिसिङको विरूद्ध राजनैतिक अभियान रोपे ।

दार्जीलिङ पहाडमा विपक्षी राजनैतिक दलहरू , आमजनतामा थुप्रिएको जनाक्रोश नै घिसिङको शासनको पतन लेखियो । दार्जीलिङ र जनताको आवाजलाई किनारीकृत गरेकोले घिसिङ जनतासँग मिल्न सकेनन् । विमल गुरूङले राज्यसँग जीटीए सम्झौताभित्रको कुटनैतिक सम्बन्ध राखेर जनता र अन्य दलहरूसँगको जानाकांक्षासँग मिल्न पर्ने दिशामा फेल भए । घिसिङको राजसत्ता झारेर लामो ५  वर्षको सडकको आन्दोलन थेगेर प्राप्त जीटीएले जनताले कुनै राहत दिन भने सकेन ।

फलस्वरूप राज्य सरकारले दलीय विस्तार गर्ने राजनैतिक दिशातिर दार्जीलिङे जनताको आकर्षित भए । जुन थोक राज्यसँग छैन त्यहीँ  थोकको लागि राज्यसँग बाझे । राज्यको क्षमताबाहिर रहेको थोकको निम्ति राज्य सरकारसँग बाझे । छुट्टै राज्य गोर्खाल्याण्डको सब्जेक्ट राज्यको होइन भन्ने जान्दा जान्दै राज्यसँग सिङ्गौरी खेलिरहे ।

छुट्टै राज्यको निम्ति केन्द्रको राजनीतिक स्तरमा जति काम गर्नु पर्ने दिल्लीतिर कहिले फर्किएर हेरेनन् । जो सँग बाझ्न पर्ने त्यहीँ चूपचाप लागे । दुइदुइपल्ट भारतीय जनता पार्टीको सांसद पठाउने दार्जीलिङले भाजपालाई कहिले प्रशन गरेनन् । दार्जीलिङको दीर्घकालीन समस्याको निम्ति संसदमा सांसदले कुनै दिन कुरा उठाएनन् । छुट्टै राज्य गोर्खाल्याण्डको कुरा छाडिदिउँ ।

कुनै दिन सांसदले दार्जीलिङको चियाखेती , सिन्कोना , बेरोजगारी , शिक्षा , केन्द्रीय विश्वविधालय , केही बोलेको सुनिएन । यहाँसम्म जीटीए-को सम्झौता बमोजिम राज्य सरकारले विभाग र क्षमताहरू हस्ताण्तरण नगरेकोमा केन्द्रीय सरकारको हस्तक्षेपको माग गरेनन् । तर भाजपासँग मिलिरहनु पर्ने राजनैतिक राजनैतिक वाध्यताले आन्दोलन गल्छीमा पस्यो । एउटा राजनैतिक दल र नेतृत्वको वाध्यता दार्जीलिङ र आन्दोलनकारी गोर्खा समुहको वाध्यता बन्यो । विगत आन्दोलन धरापमा पर्नुको कारण राज्य सरकारको दमनभन्दा बढी भारतीय जनता पार्टीको केन्द्रीय र मध्यस्थताको भूमिका नरहनु पनि थियो । यसरी मिल्न र नमिल्न पर्ने ठाउँ नचिन्दा हामीपछि परयौँ ।

आगामी महिना लोकसभा चुनाउ छ । चुनाउलाई लिएर दार्जीलिङ पहाडका सम्पूर्ण राजनीतिक-अराजनीतिक दल कम्मर कसेर उभिएका छन् । सबैले राज्य सरकारपट्टि फर्किएर धमाधम गाली गर्दैछन् । दार्जीलिङ पहाडमा गणतन्त्र नरहेको गुनासाहरू देखिँदैछन् । यसबेला सम्पूर्ण राजनीतिक अराजनीतिक दल विशेषहरू एकजुटतामा आउन प्रयासमा छन् । राज्य सरकारले विगतमा आन्दोलन हिंसापूर्ण दमन गरेको , गणतन्त्रको हरण गरेको छ । केन्द्रीय सरकारमा रहेको भारतीय जनता पार्टीले दार्जीलिङमा ममता विरूद्ध आगो सल्काएर चूपचाप तमाशा हेरेर राजनीति गरेको छ । यसबेला दार्जीलिङको राजनीतिक धुर्वीकरण स्पष्ट छ । यतिदिनसम्म राज्य र केन्द्रको  राजनैतिक दलहरूलाई विश्वास गरेर दार्जीलिङ पहाडले आफ़्नो बहुमुल्य जनमत दिएको हो । भारत स्वतन्त्रतादेखि हालसम्म विभिन्न राज्य र राष्ट्रीय राजनैतिक दलहरूलाई दार्जीलिङ लोकसभा समष्ठीबाट जिताएर पठाएको हो ।

कहिले काङ्ग्रेस , कहिले माकपा , कहिले भाजपा आदि विभिन्न राजनैतिक दलहरूको प्रार्थीहरूलाई दार्जीलिङ लोकसभाबाट बहुमूल्य जनमत दिएर पठाएको हो । तर हालसम्म भारतीय गोर्खा जाति र दार्जीलिङ पहाडको राजनैतिक , आर्थिक , सामाजिक अवस्था सुधारको निम्ति केही पहल भएन । भारतीय गोर्खा जातिको राष्ट्रीय अस्मिता र सुरक्षाको समस्या विषय लिएर कुनै सांसद र दलले चासो लिएन । चुनाउ अघिसम्म गोर्खाहरूको बहादुरीको वाहवाही गर्ने र चुनाउ जितेपछि उहीँ दलका सांसदले गोर्खाहरू नेपालका प्रवासी भनेर चुनावी तिरो तिर्छन् ।

भारत स्वतन्त्रतापछि लामो राजनैतिक सङ्घर्षको अनुभूतिले बताउँछ कि भारतीय गोर्खाहरू राजनीतिक क्षेत्रमा गाइनापिग भए । भारतीय गोर्खा जाति जुनदिन जुन दिन गोर्खा जातिले आफैमाथि विश्वास गर्न सिक्नेछन् , त्यहीँ दिन उन्मुक्तिको बाटो तय हुनेछ । अरूको भागको सामरिक युद्ध लडेर बहादुरीको संज्ञा बोक्ने गोर्खाहरू आफ्नो राजनैतिक युद्ध भने अरूको काँधमा चढाएर जहिले पनि हारेको छ । आफ्नो भागको युद्ध खेतालाले लड्दैन भन्ने विश्वासको कमी छ यो जातिमा । दोहोरो राज्य सत्ता खेपिरहेको तृणमूल काङ्ग्रेस पार्टी र दोस्रोपल्ट देशमा केन्द्रीय सत्ताको दौडमा लम्किरहेको भारतीय जनता पार्टीले पारेको राजनैतिक किनारीकॄत विरूद्ध

उभिन खोजिरहेको दार्जीलिङमा क्षेत्रीय राजनैतिक दलहरू क्षेत्रीय राजनैतिक शक्तिको खोजीमा छन् । चुनाउ जति नजिक नजिक आइरहेछ , राजनैतिक एकतामा भ्वाङ देखापरिरहेछ । झिनो राजनैतिक शक्ति र क्षमताको अघि राजनैतिक विभक्त शक्ति देखापरिरहेछ । दल दलको झण्डा बोकेर ठूलो केन्द्रीय र राज्य शक्तिको अघि अघि लड्न सम्भव छैन । एकता र सामुहिक्ताको विकल्प छैन ।

जातीय उत्थान र सुरक्षाको अघि सबै राजनैतिक दलहरूमा दलीय स्वार्थको आगो सल्किरहेको छ । कहिले मिल्ने हाम्राहरू । लड्न सम्भव छैन । राज्य र केन्द्रीय राजनैतिक दल र सत्ताको भजन गाउँने हुतिहाराहरूको पनि कमी छैन । क्षेत्रीय दलीय एकताको आढमा राज्यीय र केन्द्रीय सत्ताको मुनाफा चाख्न कतिपय मिरजाफर शक्तिहरू प्रयासरत छन् । क्षेत्रीय राजनैतिक एकता र समवेततालाई छिन्नभिन्न पार्न राज्य र केन्द्रीय शक्तिका एजेण्टहरूको खेल कमी छैन । राज्यीय र केन्द्रीय शक्तिहरूको अघि क्षेत्रीय एकजुटता र एकरूपता कमजोर हुँदा नै आमजनताको आवाज निमुखा बनिरहेको छ । हालसम्म अलगथलग पारिएको क्षेत्रीय राजनैतिक एकता र शक्तिलाई दलीयता मात्र देख्नेहरूले चेतना र विमर्शको बाटो देखेका छैनन् ।

दलीयताकै बाटो मात्र हिड्ने झिनो राजनैतिक स्वार्थको कारण हालसम्म हाम्रो राजनैतिक चेतना राज्यीय र केन्द्रीय शक्तिको समानान्तर जहिले पनि झिना बनेका छन् । यतिबेला पनि दल दलको झण्डा र दलीय स्वार्थलाई माथि राखेर जातीय एकता र शक्तिको बाटोलाई मास्ने खेल शुरू हुने स्थिति छ । अब यो दलीय स्वार्थ मात्र होइन तर राजनीति जनताको विषय पनि हो भन्ने सामुहिक चेतनाको निर्माणको आवश्यकता रहेको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया