अर्ग्यानिक कविता

किताबकन्थ


 

 

मनोज बोगटी


खासमा म कविताबारे बोल्न नजान्ने मानिस हुँ। तर विज्ञानले गतिशिलताको व्याख्यामा भन्छ, सत्यको खोजको निम्ति हुने निरन्तरता एउटा चेतना हो। यो चेतना अग्रगामी हुन्छ।

यो चेतना राजनीति, साहित्य, धर्म वा समाजनिर्माणका लागि चाहिने जम्मै ज्ञानानुशासनमा रहेन भने त्यो खतरनाक जडता हुन्छ। कवि त्यही जडताविरुद्ध लड्‌छ र चेतनाको पैरवी गर्छ।

तपाईँहरू अधिकांश यो कुरालाई नपत्याउन सक्नुहुन्छ।

हो, यहींदेखि ‘चेतना’ को समाजवैज्ञानिक पठन अनिवार्य बन्छ।

म कविताबारे बोल्ने कोशिश गर्छु। किन भने लेखनाथको कवितीय चेतना आजको समाजको मनोविज्ञान हो। हाम्रो समाजको मनोविज्ञानको कारखाना कसको हो?

यो शताव्दीको सबैभन्दा जटिल प्रश्न हो ।

समाजको मनोविज्ञान एउटा उत्पादन हो। उत्पादन बजारसित जोडिने डिस्कोर्स हो। बजारभनेपछि नाफा नोक्सानको सवाल हो।

तपाईँहरू लेखनाथको ‘सोनु निगम र छोटा रङ्‌गीतको बगर’ पढ्‌नुस्‌। अनि उत्तर दिनुस्‌, प्यारासिटामलको मुफ्त ट्याब्लेट बोकेर कुनै स्वास्थ्यकर्मी नआइपुगेको ठाउँ कसरी आइपुगे सोनु निगम?

रङ्‌गीतको बगरमा सोनु निगमको प्रत्येक गीतको शब्दको मूल्य छ। दाम छ। त्यहीँका रैथाने झुप्पे, भालु वाङा, दिलमाया दिदी माइली नेवारहरूको जीवनको मूल्य कति हो? यिनीहरूको क्लास चप्पलले निर्धारण गर्छ। एक बोतल रक्सी, दुम्सी, तोङ्बा, घाँस काट्‌दै गरेको हँसिया, जोत्दै गरेको हलोले चिनाउछ। यसको अर्थ भारतका यी नेपाली नागरिकहरूको जीवनस्तर निम्नवर्गीय छ।  ‘छ’ अर्थात सधैँदेखि छ, कि बनाइेको ‘छ’?।

के सोनु निगम निम्नवर्गीय हुन्‌?

सोनु निगमको बजार किन यो वर्ग नै हुन्छ?

वर्ग कसले छुट्याउँछ त? सरकारले होइन र? सत्ताले होइन र? राजनीतिले होइन र?

त्यसरी सोनु निगम आएपछि, सब भूलेर नाच्न किन जान्छन्‌ त उनीहरू? लेखनाथले यसको उत्तरमा भनेका छन्‌,  ‘नबुझेरै नाचे भालु बाङा।’

यो नबुझ्नुको ठूलो अर्थ निस्किन्छ।

अन्तनियो ग्राम्चीले कल्चरल हेजिमोनीको कुरा गरेका छन्‌। समाजलाई पुञ्जीले वर्गीकृत गर्ने कुरा मार्क्सले गरेका थिए, ग्राम्चीले समाजलाई साँस्कृतिक अधिनायकत्वले वर्गीकृत गर्ने बताए।

चेतनाहीन समाजमा स्थापित हुनसक्ने यो एउटा दह्रो डिस्कोर्स हो। के हुन्छ भने, हामी जे सोचिरहेका छौँ, त्यो हामीले सोचिरहेका हुन्नौं। हामीले सोचिरहेको कुरा त चेतनाहीनता मात्र हुन्छ। कसैले हामीले के सोच्नुपर्छ, त्यसको वातावरण, परिस्थिति, स्थिति वा मनोविज्ञान तयार पार्दिन्छ। हामी उसको यही मनोविज्ञानले प्रभावित हुन्छौँ।

उदाहरण दिन्छु,

सुबास घिसिङको 40 दिने बन्द। यो 40 दिन समाजमा एक विशेष चरित्रको मनोविज्ञान बनाउने जुक्ति थियो। यसको मार खप्न सक्ने पुञ्जिपति हामीसित थिएनन्‌। हामीसित त तोङ्‌बा तान्ने भालु बाङा, रक्सी पिउने झुप्पे, घाँस काट्‌ने दिलमाया दिदीहरू नै थिए। 40 दिनले अनेकौँ समस्याहरू यी निम्नवर्गअघि राखिदियो। कृषकहरू नोक्सानमा परे। व्यापारीहरू घाटामा परे। विद्यार्थीहरूले पढ्‌न पाएनन्‌। घर नाइकेहरूलाई परेको अर्थनैतिक मार अर्कोतिर, घर चालकहरूको पेट सुक्यो।

‘बोरु कुनै सामान्य कुरामा मिल्यो भने ठिक छ हौ, तर  शान्ति चाँही होस्‌।’

यसै भन्यो होइन त त्यसबेलाको समाजले?

त्यसबेलाको यो सोच उनीहरूको होइन। उनीहरूलाई सोच्न बाध्य पारिएको सोच हो। यसरी सोच्ने समाजमा नै कल्चरल हेजिमोनी खप्छ। थाहै नपाई उनीहरू शासक, सत्ता वा शक्तिपीठहरूको निर्देशन पालन गरिरहेका हुन्छन्‌। हेजिमोनी चरित्र यही त हो। भालु बाङ्‌गाहरूले ‘नबुझेरै नाच्नु’  त्यही हेजिमोनीको राम्रो उदाहरण हो।

सचेत कवि नहुँदो हो त यो कवितामा भालु बाङा नाचिबस्थे र रमाइलो गर्दा गर्दै कविता सकिन्थ्यो। तर लेखनाथको चेतनाको हिसाब अब यहाँ लाग्छ, किन भने सोनु निगमको गीतमा केहीक्षण भुलिएर पनि अन्तमा उनीहरू, जुन ठाउँमा सोनु निगमले गीत गाएका थिए, त्यो खेतबारी फिर्ता ल्याउन अदालत जान्छन्‌।

कविले चेतनशील समाजले सत्तादर्शलाई सधैँ दुत्कार्ने र आफ्नो आदर्शको निरन्तर खोज गर्ने जुन मनोवैज्ञानिक प्रयोग गरेका छन्, यही हो कवितीय चेतनाको कुरा।

कविताले थुप्रै प्रश्न छोड्‌छ।

सोनु निगम ल्याउने को? उ के चहान्छ? मनोरञ्जन दिनु वा सोनु निगमको गीतमा भूल्याएर खेत हडप्नु? हाम्रै राम्रा राम्रा कलाकार हुँदाहुँदै सोनु निगम नै चाँही किन ल्याउनु?

बजारवादको काँधमा चडेर आइरहेको सांस्कृतिक अधिनायकत्वकै प्रभाव होइन र यो? मिडियाले चिनाएको गायक नै राम्रो भन्ने ‘सोच’ सोनु निगम ल्याउनेलाई कसले दियो? किन उ त्यो सोचको दास बन्यो।

कसरी हाम्रा कलाकारहरूलाई सिमान्तिकृत गरिन्छ र बजारले सोनु निगम थोप्छ? जुक्तिकर्ताहरूले कसरी जमिन हडप्छ र त्यहाँ आफ्नो कम्प्लेक्स बनाउछ र नाफा कमाउँछ?

कत्ति धेरै प्रश्न उठाउँछ, एउटा कविताले।

हाम्रो समाजलाई सुन्दरसित गरिएको कवितीय अध्ययन हो यो। हाम्रो जीवन र प्रश्नहरूको दस्तावेज पनि हो यो। नितान्तै अर्ग्यानिक कविता हो यो।

मलाई लाग्छ, कवि लेखनाथ छेत्री ग्राम्चीले कल्पना गरेका ‘अर्ग्यानिक बुद्धिजीवी’ हुन्।

मनप्रसाद सुब्बा भन्नुहुन्छ,  ‘आज कवि र पाठकबीच फेरि संवाद स्थापित भइरहेछ।’

यो वाक्यमा रहेको ‘फेरि’ शब्दले संवादी कविताहरूको इतिहासबारे बोल्छ। अघि पाठकसित संवाद गर्ने कविता थियो जसलाई मास्ने जुक्ति भयो अनि ‘फेरि’ आज कविताले पाठकबीच संवाद गरिरहेछ। मनप्रसाद सुब्बाले भन्नुभएको छ, ‘अघि आधुनिकतावादीहरूलाई थोरै विशिष्ट पाठक भए पुग्थ्यो।’

अब प्रश्न उठ्‌छ,  अहिलेका उत्तराधुनिकतावादीहरूलाई चाँही किन थोरै पाठकले पुग्दैन त? जब कि आधुनिकतावाद एउटा वृहत विश्वदृष्टि थियो जसले केन्द्रमा मान्छेलाई स्थापित गर्थ्यो।

तर कुन मान्छे?

यही प्रश्नमा आएर अल्मलिन्छ आधुनिकतावाद।

यसबारेमा बुझाउन अनेकौँ ज्ञानकोषहरू अघि आए। अनेकौँ प्रयोगहरू भयो। तर त्यो आधुनिकता कवितामा कसरी आयो भन्ने कुरा खोज्न सुब्बाको यो भनाई अहिलेलाई पर्याप्त छ।

‘थोरै विशिष्ट पाठक’  किन?

दार्जीलिङको कुरा गर्नु हो भने चिया, सिन्कोना र कृषकहरूको बाहुल्य रहेको ठाऊँ हो यो। 25 प्रतिशत मात्रै शिक्षित र धनिमानी रहेको ठाउँ पनि हो। हाम्रो भाषा, त्यो भाषामा लेखिने साहित्य, संस्कृति, जीवन शैली, राजनीति, अर्थनीति, भूगोल र इतिहाससम्ममा सत्ताको ‘कन्ट्रोल’ छ। मुख्यकुरा हो -अर्थनीति। बहुसंख्यक मानिसले देखेको सपना पुरा नहुने ठाउँ। राम्रो पढ्‌न नपाउने, राम्रो खान नपाउने, लगाउन नपाउने, पानी पिउन नपाउने, राम्रो बाटोमा हिँड्‌न नपाउने, राम्रोसित बोल्न नपाउने ठाउँमा लेखिएको कविता चाँही ‘थोरै विशिष्ट’-को लागि लेखिने हो भने त त्यो कविताले, कलाले, त्यो छोडिएको समाजलाई सत्तालेजस्तै हेपेको भएन र?

कविता, कला सबैको लागि भएदेखि उनीहरूले आफ्नो समाजलाई चिन्ने नयाँ दृष्टि पाउने थिएन त? समाजलाई चिन्नु भनेको व्यवस्थापनको स्तरमा समानवृत्तिको धारणा स्थापित गर्नु हो। कलाले ‘रञ्जना र रति’ मात्रको पैरवी गर्ने कि समाजको दबिएको स्तरलाई उकास्ने पनि?

एक मुट्ठी विशिष्ट पाठक खोज्नेहरू कला, कविता, साहित्यलाई समाजबाट अलग गर्ने र त्यसो गरेर आफ्नो परिचय र अहम्‌को स्थापना गरेर सधैँ विशिष्ट भइराख्ने इलिट चरित्र थियो।

विशिष्टवादीको हालिमुहालीले नै कवितालाई थोरै मानिसको निम्ति रति बनाइदियो। हाम्रो समाजको जुन बुनोट छ, जहाँ सत्ताले आफू अनुकूल मनोविज्ञान निर्माण गरेर सधैँ शासन गर्ने विचारको सुरक्षा गर्छ, त्यहाँ मानिससित संवाद नगर्ने कविता लेख्नु भनेको महान दुर्भाग्यको कुरा हो।

कलाको काम के हो? कलाको उपादेयता, प्रयोजन र निवार्यताबारे बेग्लै छलफल गर्न अनिवार्य छ।

आज संवाद गर्छ कविताले, यो भनेको दबिएकालाई उकास्न र उनीहरूलाई जीवनको सुन्दर शैली निर्माण गर्न मद्दत गर्ने सपना आजको कविताले देखेको छ। संवादको खाँचो त्यतिबेला पर्छ जब कविलाई लाग्छ कि समाजलाई लाटो बनाइएको छ, बैरो बनाइएको छ, खोरण्डो, लङ्‌गडो बनाइएको छ, मान्छेलाई केवल शालिक र मशिन बनाएको छ। अर्ग्यानिक विचारहरूलाई पुरिएको छ अनि पश्चिमा, सत्ताका विचारहरूको स्थापना गरिएको छ। यहाँको लेखनमा माटो, हावा पानी, इतिहास, भाषा, समाज, संस्कृतिमा नमिल्ने दर्शन, वाद र अवधारणाहरू हुलेर जैविक समाज मास्ने जुक्ति चलिबस्यो।

यी र यीजस्ता जालजेल, जुक्ति, कुटनीति, प्रभाव, शोषण र दलनहरूबाट बाहिर निकाल्न नै कविताले संवाद गर्ने हो।

जो आज भइरहेको छ। संवादको कारण यो बाहेक अर्को छैन।

अरुन्धति भन्छन्, ‘देब्रेहरूले बराबरीको समाजको वकालत गरे। जसकोमा धेर जमीन छ, त्यो नभएकालाई दिलाउनु, सबैलाई जमीन चाहिन्छ, भनिन्थ्यो। अचेल यसो भनिन्न। त्यही देब्रेहरूले अहिले जुन जमिन छ, त्यो नछिन भन्छन्‌। यो त जमिन हुनेहरूको सुरक्षाको कुरा भयो तर जमीन नहुनेहरू जो शहरी गरीब छन्‌, दलित छन्‌, उनीहरूको लागि लड्‌ने राजनैतिक लडाईँ के छ हामीसित?’

उनीहरूको सुरक्षाको निम्ति अघि आएको साहित्यक विचार के छ? साहित्यकारहरूले दिएको दार्जीलिङका मानिसहरूको निम्ति काम लाग्ने विचार के हो?

यहाँ त कवि नै दबिएको समाजका नागरिक हुन्‌। उसले गर्ने विचार कसको पक्षमा? उसले लेखेको कविता कसको पक्षमा? उसको कला कसको लागि? यो प्रश्न त उठ्‌छ नै। आफ्नो समाजको सदस्य नभई कोही पनि विश्व समाजको सदस्य हुन सक्दैनन्।

कविताले विचारको पैरवी कलात्मकरूपले गर्छ। कविता भनेकै कला हो। तर कविता केलाई भन्ने? यसको उत्तर तपाईँहरूको ‘चेतना’-मा नै छ।

मलाई लाग्छ, एउटा उपयोगी विचार भन्न कविताले थुप्रै औजारहरूको सहयोग लिन्छ, त्यो कला, शैली, विम्ब, सङ्‌केत, वाग्धारा, मिथक  जे पनि हुनसक्छ। कविताको शैलीपक्षबारे हज्जारौँ गफ गर्ने समालोचक वा समिक्षकहरूले कविताले स्थापित गर्न खोजेको विचार पक्रिएन भने कवितालाई मार्छ। हामीसित हजारौँ हत्याराहरू छन्‌। आजका कविताले ती हत्याराहरूलाई पनि शिक्षित गर्ने प्रयास गरिरहेको छ।

र त्यो संवादद्वारा नै सम्भव छ।

मानिसलाई राजनैतिक र सांस्कृतिक अधोगतितिर लैजानै पुञ्जीवादी उपज मानिने उत्तराधुनिकतावादले जुन जटिलता समाजमा हुलेको छ, त्यसलाई केलाउन कविता सामर्थवान हुन अनिवार्य छ।

कविताले आफ्नो समाजको जैविकताको सुरक्षा गर्न सकेन भने त्यो कविताको प्रयोजन छैन। कविताको प्रयोजन नै छैन,  हुँदैन भन्ने कलावादीहरूसित वा त्यो अतिजडतासित भिडिबस्न अनिवार्य छैन।

‘चेतना’ नै समाजलाई चाहिएको लडाईँ हो। जसको पैरवी लेखनाथका कविताहरूले गरेको छ। समाजलाई, समाजको निम्ति र समाजबाट निरन्तर खोज गरिरहनुपर्ने विचार नै ‘चेतना’ हो।

जोबारे लेखनाथजस्तो जैविक बुद्धिजीवीले कवितामार्फत व्यापक काम गरेका छन्‌।

जस्तो कि यिनको ‘विचार’ भन्ने कविता हेर्नुहोस्‌।

विचार दुर्घटनामा परेको दिन कविता दुर्घटनामा पर्छ। कविता दुर्घटनामा परेको दिन समाज नै दुर्घटनामा पर्छ।

कविता सङ्‌ग्रहमा प्रवेश गराउन र पाठकको मनोस्थिति तयार पार्न लेखनाथ भन्छन्, ‘यस्ता धेरै अवसरहरू छन्‌, जतिबेला वेहद खतरनाक हुन्छ विचार।’

सर्वसमावेशी र बहुलवादी समाजमा चोर र साधु एकैसाथ बस्न सक्छन्‌। शोषक र शासक अङ्‌गालो मारेर बस्न सक्छन्‌। छुट्टै राज्य माग्ने र छुट्टै राज्य नदिनेहरूको बैठक सौहार्द भएजस्तो, जनतालाई एउटा सपना देखाएर नेताले आफ्नो सपना पुरा गरेजस्तो विचार के साँच्ची नै समाजको लागि बेहद खतरनाक हुँदैन र? सर्वसमावेशी चेतना आजको भूमण्डलिकरणको युगमा उपयुक्त त होला तर जब अल्पसंख्यकहरूको भाषा, संस्कृति,  इतिहास, अस्तित्व र चिह्नारीको सवालमा त्यो कति खतरनाक विचार होला, त्यसलाई केलाउन अनिवार्य छ।

लेखनाथ भन्छन्‌ पनि, ‘संसारका सबैभन्दा भयानक युद्ध विचार कै हुन्छ।’

पश्चिमले सधैँ आफ्ना विचारको धन्धा गऱ्यो। किन भने पश्चिमले विचारलाई पनि बस्तु र थोक बनायो। आधुनिकतावाद होस्‌ वा उत्तराधुनिकतावाद, यसभित्र रहेका प्रयोगका जम्मै स्पेस, दर्शनको जम्मै फाटक, अर्थनीति, सभ्यता र संसाधन निर्माणसित जोडिएका विचारहरू हुन्‌। विश्वभरिका बुद्धिजीवीले, सचेतले, आन्दोलनकारीहरूले, कम्पनीहरूले, नेताले, राजनीतिले, धर्मले, समाजले कुन फर्म्याटमा सोच्ने, त्यो ‘विचार’को उत्पादक पश्चिम नै रह्यो।

गायत्री चक्रवर्ती स्पिभाकको शङ्का छ, ‘विचारले उपनिवेश बनाउने संस्कृतिको विरुद्ध आएको सवाल्टर्न विचार पनि एउटा शक्तिमा नै रुपान्तर भइरहेको छ। पश्चिमले पहिले विचारको दास बनाउँथ्यो, अहिले पूर्वले बनाइरहेको छ।’

विचारको स्रोत बुद्धिजीवी र बौद्धिक हुन्‌।

इन्टेलिजेन्सिया र स्वस्थ विचारको पैरवी गर्ने इन्टेलेक्चुवलबीचको द्वन्द्वमा ‘विचार’ को सही अर्थ निस्किन्छ। इन्टेलेन्सिया समाजको एउटा परिधीमा रहेर विचारको पैरवी गर्छन्‌, इन्टेलेक्चुवल त्यो परिधी तोडेर विचारको वकालत गर्छन्‌ तर दुवै धारले नै समाज निर्माण हुने मत बीटी बोटोमोरको हो। साहित्यकार, कवि कुन वर्गमा पर्छन्‌? इन्टेलिजेन्सिया वा इन्टेलेक्चुवल?

यो छुट्टिएको दिन कवितामा हुने विचारको द्वन्द्वबारे सम्पूर्ण बहस समाप्त हुनेछ। कवि लेखनाथले गरेको ‘विचार’ यी नै दुइधारे ‘विचार’ले समाजलाई पारेको प्रभाव केलाउनको निम्ति विकास्न पर्ने विचार दिन्छ।

यही कविताको अन्तिम पद्मा दिएको सङ्‌केतलाई (शहरमा एक भव्य नेता मर्नु एक जाबो कुराजस्तो लाग्छ, जब चुपचापबाट चुपचापमै मर्छ विचार) केलाएर हेरौँ न। दार्जीलिङमा गोर्खालीग नेता मदन तामङको दिनहदाडै हत्या भयो अनि समाज मौन।

राजनीतिबाट बाहिर निकालेर हेरियो भने मदन तामङ मान्छे हुन्‌, तर मान्छेले राजनीतिको खोल लगाएर मान्छेको हत्या गर्ने समाजमा कुन विचार हाबी छ, लेखनाथीय विचार यतैतिर लक्षित हो।

‘केटाकेटी’ पढ्‌नुस्‌।

‘केटाकेटीलाई केटाकेटी नै हुन दिनु’ यो सामान्य लाइनको अर्थ लाखौँ पृष्ठको छ। लेखनाथ खासमा राम्रो मनोचिकित्सक हुन्‌। ‘साइकोलोजी’ र ‘आइडियोलोजी’ को उपादेयताबारे यो कविताले चर्कोस्वरमा वकालत गरेको छ। यो कविताको शक्ति भनेको विचार हो। त्यो विचार ‘केटाकेटीलाई केटाकेटी नै हुन दिनु’ नै हो। सामान्य लाग्ने यो विचार जम्मै पारम्परिक नियमहरूको विरुद्ध, सिद्धान्तहरूको विरुद्ध, कानूनको विरुद्धमा उठेको प्रतिरोधी तर फेरि अर्को विचार हो।

हस्तक्षेप लेखनले यसलाई ‘प्रतिहस्तक्षेपी’ मान्यता मान्छ।

गान्धी हुनलाई गान्धीज्म, उत्तराधुनिक हुनलाई पोस्टमोर्डनिज्म, प्रगतिवादी हुनलाई मार्क्सिज्म/कम्युनिज्म, हिटलर हुनलाई हिटलरिज्महरू बजारमा छ्‌यापछ्‌याप्ति पाइने इज्महरू छन्‌। बजारले सहज र सुलभ गराउने यस्ता फ्रेम्ड विचार यस्ता बस्तु हुन्‌ जो बिना धेरै युनिभर्सिटी चल्दैन। कारखाना, कम्पनी, साहित्यिक आन्दोलन, राजनीति केही चल्दैन। यसको कनेक्सन बजारसित हुने भएकोले हाम्रो समाज सधैँ यसको प्रभावमा रहन्छ।

प्रतिहस्तक्षेपी मान्यताले यस्ता जडतालाई तोडेर समाज अनुकूल विचारको वकालत गर्छ।

‘केटाकेटी’ यसको सुन्दर नमूना हो।

लेखनाथका कविता धेरै हिसाबले शक्तिशाली छन्‌। मलाई चाँही वैचारिक प्रतिबद्धताको हिसाबले अझ शक्तिशाली लाग्छ।

जहाँसम्म शैलीको प्रश्न छ, यो समय अनुसार फेरबदल भइबस्छ। शैली निश्चित हुँदैन। स्थीर हुँदैन। लेखनाथको कविताको शैली संवाद सहज बनाउने उपकरण मात्र हो। कविलाई आज जसरी संवाद गर्न सहज लाग्छ, शैली त्यसरी नै निर्माण हुन्छ। शैलीले कलाको बाटो खन्छ।

विशेष प्रयोजनको लागि संवाद गर्नुपर्ने आजको कविताको स्वभाव उसको समाजले नै निर्माण गर्छ। यसकारण कविता पढिसक्दा हामी समाज पनि पढिसक्छौँ। समाजको बुनोट पनि पढिसक्छौँ। किन भने हामी कवितामार्फत कलात्मकरूपले त्यो समाजलाई जीवन अनुकूल बनाउने विचार दिन्छौँ।

कविताले रातारात समाज परिवर्तन गर्दैन तर चिरकालीन उद्वेलन दिन्छ, जसको विकास सुस्तसित हुन्छ। मानिसको बुद्धिको निर्माण र समाजको मनोविज्ञान अनुसार कविताले काम गर्छ।

जहाँदेखि उता बाटो छैन त्यहीँदेखि कविताले काम गर्न शुरु गर्छ।

प्रेमिल जेहाद होस्‌ वा जात होस्‌, खेमकुमार होस्‌ वा भैया, लोहाराम होस्‌ वा तिब्बती बज्यै, जलेको गुम्बा होस्‌ वा एकलब्य रिटर्न्स, जम्मै कविताको केन्द्रमा हाम्रो समाजको रौद्रता, कुरूपता र दुर्भाग्यलाई केलाइको छ।

अचेल हामी जुन अर्ग्यानिक, स्थानिक र समाजअनुकूल कविताको कुरा गर्छौँ, त्यसको सुन्दर नमूना र दार्जीलिङ्गीय समाज हेर्न, बुझ्न रुचाउनेले पढ्नुपर्ने कविताको किताप हो- अक्षर अन्प्लग्ड।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया