गोरामुमो र गोजमुमोको मास्टर स्ट्रोक

तृणमुल र विनय समूह एक भएर धेरै अघिदेखि चुनाव प्रचार प्रसारमा लागे पनि यता जातीय हितलाई ध्यानमा राखेर गोरामुमो र गोजमुमो (विमल) समूह एक भएर मास्टर स्ट्रोक हिर्काएको देखिँदैछ। प्रत्येक चुनावमा गोरामुमोलाई साथमा राख्ने ममताले यसपल्ट विनय तामाङको भर परेर गोरामुमोको शक्तिलाई अदेखा गर्ने आत्माघाती कदम उठाएको बुझिँदैछ।


पुरण छेत्री


१७ औं लोक सभा चुनाव मुखैमा छ। भाजपाको हातमा रहेको दार्जीलिङ संसदीय क्षेत्रको चुनाव भने निक्कै रोचक देखिएको छ यसपल्ट। मोदीको सपनाबाट शुरू भएको खेल, ममताको बुलेटसम्म आइपुग्दा दार्जीलिङको अवस्था भयावह भइसकेको छ। भाजपाले दार्जीलिङमाथि खासै चासो नदेखाइरहेको अवस्था छ भने, तृणमुल जसरी भए पनि दार्जीलिङ आसन भाजपाको हातबाट फुत्क्याउन चाहन्छ।

तृणमुल र विनय समूह एक भएर धेरै अघिदेखि चुनाव प्रचार प्रसारमा लागे पनि यता जातीय हितलाई ध्यानमा राखेर गोरामुमो र गोजमुमो (विमल) समूह एक भएर मास्टर स्ट्रोक हिर्काएको देखिँदैछ। प्रत्येक चुनावमा गोरामुमोलाई साथमा राख्ने ममताले यसपल्ट विनय तामाङको भर परेर गोरामुमोको शक्तिलाई अदेखा गर्ने आत्माघाती कदम उठाएको बुझिँदैछ।

एकातिर पहाडमा विमल गुरूङको अस्तित्व नरहेको बताए पनि विमल गुरूङको मुद्दा र जातिप्रतिको अडानले विमल गुरूङमाथि अहिले पनि पहाडका मानिसहरू आस्थावान देखिन्छन्। यसैले हुन सक्छ विमल समुहलाई डर र त्रासमै राखेर यो चुनाव सक्ने विनय-तृणमुलको रणनीति रहेको पनि जारी धड्पकड र घर कुड्कीहरूद्वारा देख्न पाइँदैछ। तथापि, विमल गुरूङ पहाड छिरेको खण्डमा पहाडको राजनैतिक नक्सामा व्यापक परिवर्तन हुनसक्छ। विमल गुरूङलाई यस चुनावबाट टाडा राख्ने प्रबन्ध पहिलेबाटै भए पनि विपक्षीहरूलाई विमल गुरूङ स्वंय उम्मेदवार भएको खण्डमा चुनाव हार्ने ठूलो डर भने अहिले पनि छ।

एकातिर आफ्नो भूमिनै नरहे पनि भूमिपुत्रको मन्त्र फलाकेर विनय-तृणमुलले अमरसिंह राईलाई उम्मेदवार घोषणा गरिसकेका छन् भने क्रामाकपाबाट अर्को त्यागी नेता आर० बी० राई पनि मैदानमा उत्रिएका छन्। जापबाट संसदमा गोर्खाल्याण्डको औचित्य बुझाउन सक्ने व्यक्ति डा० हर्कबहादुर छेत्री मात्र हुन् भनिँदैछ भने, ऋशिका छेत्री, एन्ड्रयु गुरूङहरू पनि भूमिपुत्रकै उपजहरू हुन्। वन्दना राई र अञ्जनी शर्माहरूको अडान अहिलेसम्म आइनसके पनि एनजीसी पनि सामुहिक उम्मेदवारीको वकालतमा उत्रिएको देखिरहेका छौं।

के पहाडमा यतिधेरै उम्मेदवारी दिनु जरूरी छ? विनय-तृणमुल चाहन्छ कि पहाडमा उनीहरूको विपक्षमा रहेकाहरूबाट धेरै भन्दा धेरै उम्मेदवारहरू उठुन् र भोट बाँडिउन्। यसरी भएको मत विभाजनले उनीहरूको जित सुनिश्चित गर्छ। मधेशमा अहिले पनि वामदल, काङ्ग्रेस र भाजपाको राम्रै पकड भएकोले पहाडमा विपक्षीहरू एक भएर चुनाव लडेको खण्डमा विनय-तृणमुलको हार निश्चित छ।

अलग राज्यको मुद्दामा विमल गुरूङमाथि सबै भन्दा धेर अन्याय भएकोलेनै आज पनि पहाड विमलको पक्षमा उभिएको देखिएको छ। अब पहाडमा चुनावी मुद्दा भनेकै विकास बनाम अलगराज्य हुनेछ। यस्तो अवस्थामा विकास चाहने समूहहरू एक भइसके।  अब अलग राज्य चाहने समूहहरू एक हुनुपर्छ। ज्यादा महत्वाकांक्षी भएर एकलै -एकलै लड्ने हो भने जित्नु त के, अलगराज्यको मुद्दा पनि सँधैको लागि मार्नु मात्र हुनेछ।

आउनुहोस्, आपसी मतभेदलाई पर सारौं। हाम्रो विचार अलग होला तर उद्देश्य एउटै छ। आज पनि सहमतिमा आउन नसके, ती शहिदहरूलाई सम्झने अधिकार पनि रहनेछैन हामीलाई।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया