पहाडको मत मुद्दाका दुश्मनलाई कि मित्रलाई?

पक्कै हो, दसवर्षदेखि भाजपाले आश्वासन बाहेक केही दिएन। तर तृणमूलले पनि दसवर्षदेखि नै छुट्टै राज्य नदिने वा बङ्गाल विभाजन गर्ने घोषणा गर्दै आइरहेको छ। यस हिसाबमा दुवै पार्टी उस्तै हुन्, यद्धपि, तृणमूल काङ्ग्रेसबाट छुट्टै राज्यबारे कुनै अपेक्षा रहेन, तर भाजपामा भने अझ अपेक्षा रहन्छ। भाजपाले ‘नाई’ भनिहालेको छैन। बङ्गालमा प्रतिष्ठाको लडाईँ लडिरहेको भाजपाले दार्जीलिङको लागि फेरि दिल्लीबाट नै उम्मेदवार दिने भयो भने पनि त्यति नोक्सान पहाडलाई छैन जति नोक्सान तृणमूल काङ्ग्रेसलाई जिताउँदा हुनेछ।


खबरम्यागजिन विश्लेषण


तृणमूल काङ्ग्रेस भनेको मुद्दा दबाउने पार्टी हो। मुद्दा दबाउन पुलिस लगाएर आन्दोलनकारीहरूलाई गोलीसमेत ठोकेको इतिहास छँदैछ। आन्दोलनकारी नेताहरूलाई विभिन्न मुद्दा थोपेर पक्राउ गर्ने र भय देखाउने काम पनि तृणमूल कै सरकारले गरेको हो।

आन्दोलनकारी दललाई विभाजित गर्नु भनेकै मुद्दा दबाउनु हो। आन्दोलनकारी दलका नेताहरू विनय तामाङ र अनित थापालाई पनि पक्राउको भय थियो। यद्धपि, सरकारले सम्झौताको स्पेस बनाइदियो। उनीहरू सरकारसित मिले र पक्राउबाट बचे।

यी सबै राज्य सरकारको मुद्दा र आन्दोलन दबाउने कुटनीतिका उपज हुन्।  ‘मर्छु, तर छुट्टै राज्य गोर्खाल्याण्ड हुन दिन्न। बङ्गाल विभाजन गर्न दिन्न,’ यो ममता व्यानर्जीको चर्चित ‘डायलग’ हो। राज्यका मुख्यमन्त्रीकै यस्तो वयान हुनु भनेको छुट्टै राज्य गोर्खाल्याण्ड पन्थीहरूको लागि धेरै खतरनाक कुरा हो।

देशमा साना राज्यहरू बनेकै छन्। फेरि पनि साना राज्य निर्माण गर्ने परिस्थिति बन्दैन भन्न सकिन्न। यही भयको कारण तृणमूलको सरकार गोर्खाल्याण्ड आन्दोलन र मुद्दा दुवै सँधैकोलागि दबाउन चाहन्छ। यसपालि तृणमूल काङ्ग्रेसले गोर्खा उम्मेदवार उठाइरहेको छ। उनलाई जिताएर संसद पठाउनु भनेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन र मुद्दा दुवै सँधैको लागि समाप्त भएको सन्देस देशलाई दिनु हो।

जनताको मनमा बसेको मुद्दा र आन्दोलन नै समाप्त भयो भने राज्य सरकारको दादागिरी बढ्नु स्वाभाविक नै हो। विनय तामाङहरू वर्चस्वको राजनीति गरिरहेका छन्। विमल गुरुङ आयो भने आफ्नो पत्तासाफ हुन्छ र राजनीतिक हरिविजोग भोग्नुपर्छ भन्ने उनीहरूलाई राम्रैगरी थाहा छ।

विनय तामाङहरूले जुन झण्डामुनि राजनीति गरिरहेका छन्, त्यो झण्डाको पञ्जिकरण उनीहरूले गरेका छैनन्। गोजमुमो र गोजमुमोको झण्डा अहिले पनि विमल गुरुङहरूकै स्वामित्वमा छ। यसैले पनि विनय तामाङहरूले गोजमुमोको झण्डामा आफ्नो उम्मेदवार दिन नसकेका हुन्।

तृणमूलको लागि आफ्नो नेतालाई उम्मेदवार बनाउँदा जनतामा निराशा छाएको छ। आफ्नै झण्डामा भूमिपुत्र पठाइएको भए केही हदसम्म विनय तामाङहरूको पक्षमा जनताले सन्तोष व्यक्त गर्न सक्थे, तर छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा र आन्दोलन समाप्त गर्ने चलखेल बोकेर राजनीति गरिरहेको तृणमूल काङ्ग्रेसमा विलय भएर तामाङहरूले आफ्नै खुट्टामा बञ्चरो हाने।

विनय तामाङहरूको राजनीति गतिविधि आन्दोलन र मुद्दा सधैँको लागि नष्ट गर्ने दिशामा छ। यसै हुँदा लोकसभा चुनाउ यसपालि मुद्दा बँचाउने चुनाउमा रुपान्तर भइसकेको छ। यसपालिको चुनाउमा मतदाताहरूले गोर्खाल्याण्ड विरोधी र गोर्खाल्याण्डको पक्षमा मत दिनेछन्। गोर्खाल्याण्ड नचाहने जनताले तृणमूल उम्मेदवारलाई, गोर्खाल्याण्ड चाहनेहरूले गोर्खाल्याण्डको पक्षमा खडा बन्ने उम्मेदवारलाई मत दिने स्थिति बनेको छ।

बजारमा कुरा छ, भाजपालाई यसपालि भोट दिइँदैन। किन भने 10 वर्षदेखि भाजपाले झुट बोल्दै बसेको छ। आश्वासन दिँदै बसेको छ। यता राजनीतिक विश्लेषकहरूको कुरा मान्नु हो भने यो चुनाउ ‘छुट्टैराज्य दिँदै दिन्न र छुट्टै राज्य दिइनेछ’ भन्नेहरबीचको पनि लडाईँ हो। तृणमूल काङ्ग्रेस भनेको छुट्टै राज्य पटक्कै हुन नदिने प्रतिबद्धता जनाइरहेको पार्टी हो। भाजपा भनेको निरन्तर आश्वासन दिइरहेको पार्टी हो।

दुवै पार्टीको अडान स्पष्ट छ, तृणमूल नदिने, भाजपा दिने। तर कहिले दिने? भन्ने एउटा सवाल सधैँ खडा छ। छुट्टै राज्य बन्ने सही परिस्थिति बनेको छैन। यसपालि बन्न सक्थ्यो तर विनय तामाङहरू सम्झौतातिर गइदिएकाले  दवाब बन्न सकेन। बङ्गालले हात उठाइसकेको थियो, केन्द्रमा दवाब बन्ने प्रक्रिया शुरु भइसकेको थियो तर विनय खेमाले राज्य सरकारसित हात मिलाउनसाथ सबै कुरा बिग्रियो।

यतिखेर कुनै पनि राजनैतिक दलले आन्दोलनलाई नेतृत्व गरिदिएन। उनीहरू मौन बसे।

अहिले चुनाउ नजिक सबै राजनीतिक दलहरूको चलखेल भइसकेको छ। पहाडका जनताले तृणमूल र भाजपा दुवैलाई मत दिन चाहँदैन। तर यसपालि धेरै गमेर मात्र राजनैतिक समाजले मताधिकारको प्रयोग गर्नुपर्ने स्थिति बनेको छ। जनताले दुइवटा निर्णय गर्नुपर्नेछ, कि त मुद्दा सँधैको लागि गुमाउनुपर्ने छ, कि त मुद्दा बँचाउनुपर्नेछ।

यसको लागि देशमा चलिरहेको चुनावी राजनीतिलाई केन्द्रमा राख्नैपर्ने हुन्छ। कतैबाट पनि थर्डफ्रन्टले केन्द्रमा सरकार बनाउने सम्भावना छैन। काङ्ग्रेसको सरकार बन्ने त कुरै आएन। गठबन्धनमा नै सही भाजपाले नै केन्द्रमा सरकार बनाउने सम्भावना छँदैछ।

यदि यस्तो हो भने मुद्दालाई जिउँदो राख्न अनि भाजपाको आश्वासनबाट नै छुट्टै राज्य गोर्खाल्याण्ड, जनजातिको मुद्दाको लागि चाप निरन्तर राख्न भाजपासितै मिलेर चुनाउमा सहभागिता दिनुपर्ने कटुस्थिति बनेकै छ।

पक्कै हो, दसवर्षदेखि भाजपाले आश्वासन बाहेक केही दिएन। तर तृणमूलले पनि दसवर्षदेखि नै छुट्टै राज्य नदिने वा बङ्गाल विभाजन गर्ने घोषणा गर्दै आइरहेको छ। यस हिसाबमा दुवै पार्टी उस्तै हुन्, यद्धपि, तृणमूल काङ्ग्रेसबाट छुट्टै राज्यबारे कुनै अपेक्षा रहेन, तर भाजपामा भने अझ अपेक्षा रहन्छ। भाजपाले ‘नाई’ भनिहालेको छैन। बङ्गालमा प्रतिष्ठाको लडाईँ लडिरहेको भाजपाले दार्जीलिङको लागि फेरि दिल्लीबाट नै उम्मेदवार दिने भयो भने पनि त्यति नोक्सान पहाडलाई छैन जति नोक्सान तृणमूल काङ्ग्रेसलाई जिताउँदा हुनेछ।

यसैबीच गोरामुमो – विमल समूहले धेरै परिपक्व सुझबुझ बनाएको छ। यसपल्टको चुनाउ मौकाको फाइदा उठाउने चुनाउ होइन। जो कतिपय राजनैतिक दलहरूले गरिरहेको छ अनि यसमा क्रामाकपा सबैभन्दा अघिल्लो पङ्तिमा छ।

आरबी राईलाई नै उम्मेदवार बनाउने हो भने पनि उनले तराईँको भोट पाउने सम्भावना छैन। तराईँको भोटको लागि कि त तृणमूल कि त भाजपासित गठबन्धन गर्नैपर्ने हुन्छ। पहाडको भोट विभाजित हुँदा फाइदा विनय तामाङहरूलाई नै हुने हो। तराई र पहाडको (तृणमूल र विनय खेमा मोर्चा) भोटले चुनाउ जित्ने आशा विनय तामाङहरूलाई हो। पहाडको विपक्षले जुनै उम्मेदवार उठाए पनि तराईँको भोट नै फ्याक्टर भोट हो।

क्रामाकपाका आरबी राईले तराईको भोट पाउने सम्भावना छैन। यसैले राई नै चुनाउमा उठे पनि  हारको सम्मुखिन बन्ने सम्भावना बढ्ता छ। गोरामुमो र विमल गुरुङ खेमा मोर्चालाई त्यो जोखिम मोल्ने इच्छामा देखिएन। दुइपार्टीअनुसार जसै गरेर पनि तणमूल काङ्ग्रेसका उम्मेदवारलाई हराए मात्र मुद्दा बाँच्ने हो। तराईंमा भाजपाको पकड राम्रो छ। त्यसमा केही तृणमूल विरोधी दलका दार्जीलिङ सिटको सेग्मेन्टभित्र पर्ने मतदाताहरूले पनि सघाउने स्पष्ट छ।

गोरामुमो-र गोजमुमोले कुनै भूमिपुत्र दिए राम्रो हो, तर भूमिपुत्रले जित्छै भन्ने ग्यारेन्टी रहन्न। विनय खेमाका उम्मेदवारले पहाडको भोटले जित्ने सपना देखेको होइन, तराईको भोटलगाएरै जितको सपना देखिरहेको हो। यसैले भाजपाको उम्मेदवारलाई नै जिताउनुपर्ने भयो भने पनि पहाडलाई नोक्सन भने छैन। दुश्मनलाई जिताउन भन्दा मित्रलाई नै जिताउन मुद्दाको लागि लाभदायक पनि छ भन्ने विश्लेषकहरूको बुझाई छ।

विश्लेषकहरूअनुसार, तृणमूल काङ्ग्रेस त मुद्दाको सधैँको लागि दुश्मन हुन्, यस हिसाबमा भाजपा दुश्मनै बनिहालेको छैन। यद्धपि, कुनै पनि निर्णय गर्न अघि गोरामुमो र विमल खेमा मोर्चाले आरबी राईलाई पनि सुझबुझमा ल्याउने पहल गर्न अनिवार्य छ।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया