गोजमुमो र गोरामुमोले भाजपा उम्मेदवारलाई गर्ने समर्थन : मुद्दा र जाति विरोधीहरू मिल्न सक्छ भने मुद्दा र जाति प्रेमीहरू किन मिल्न सक्दैनन्? हामी मिलेको मुद्दा र जाति रक्षाको लागि हो- जिम्बा

‘मुद्दा र आन्दोलन दफ्नाउन विनय-ममता मिल्न सक्छन् भने, मुद्दा र आन्दोलन बचाउन गोरामुमो र गोजमुमो किन मिल्न सक्दैन?,’ उनले भने, ‘मुद्दा रह्यो भने जाति रहन्छ। जाति रह्यो भने राजनीति रहन्छ। मुद्दा र जातिलाई सङ्कट परेको बेला ठूलो सरोकारको लागि हामी मिल्नै पर्थ्यो, मिल्यौं। हाम्रो गठबन्धन मुद्दा र जाति विरोधीहरूको लागि तमाचा हो।’


दिल्ली, 19  मार्च


‘अघिल्लो इतिहास जेजस्तो थियो, जनमुद्दा र जनसपनाको कदर गर्न हामीले सबै भुलेका छौं। गोरामुमोले जहिले पनि जे निर्णय गऱ्यो, त्यो जाति र मुद्दाको हितमा नै गरेको छ,’ दिल्लीमा गोरामुमो-गोजमुमोले संयुक्तरूपमा गरेको पत्रकारसम्मेलनमा गोरामुमो नेता निरज जिम्बाले भने, ‘यसपालिको चुनाउ जाति र मुद्दा विरोधी अनि जाति र मुद्दालाई बचाउनेहरू बीचको लडाईँ हो। यसपल्ट चुक्यौं भने जातिको अस्तित्व र मुद्दा सधैँको लागि गुम्छ। यसै र कसैले पनि नसोचेको सहमति हामीले गऱ्यौं। जाति र मुद्दा बचाउन नै हामीले गठबन्धन गरेका हौं।’

गोजमुमोको पक्षमा डा. विष्णु सुन्दास अनि गोरामुमोको पक्षमा निरज जिम्बाले संयुक्तरूपमा यसपालि भाजपाकै उम्मेदवारलाई पहाडमा जिताउने निर्णय गरेको खुलाए।

‘विनय तामाङहरू जाति र मुद्दा विरोधी पार्टीसित मिलेर जाति र मुद्दा दुवैलाई सँधैको लागि धरायसी गर्न चुनाउ लड्दैछन्,’ जिम्बाले भने, ‘उनीहरूलाई हराउन हामीले भाजपा उम्मेदवारलाई समर्थन गर्ने हो। किन भने मत केवल पहाडमा मात्र छैन, तराईको भोट बहुमुल्य छ। जसरी होस्, जाति र मुद्दा विरोधीलाई हराउनैपर्ने हाम्रो कर्तव्य हो।’

यता डा. सुन्दासले पनि गोर्खा विरोधीहरूलाई हराउन अनि पहाडमा गणतन्त्र पुनर्स्थापन गर्न पहाडका दुइ शक्तिशाली पार्टीको गठबन्धन भएको बताए। ‘गोरामुमो र गोजमुमो दुवै पार्टीभन्दा माथि उठेर जातिको लागि एक बनेको हो,’ उनले भने।

यता रोशन गिरीले पनि खबरम्यागजिनसित बोल्दै आज गोर्खा जनमुक्ति मोर्चा र गोर्खा राष्ट्रीय जनमुक्ति मोर्चाले पश्चिम बङ्गालको दमनकारी ममता व्यानर्जीको नेतृत्व रहेको शासनको विरुद्ध लड्न हात मिलाएको जनाए।

‘पश्चिम बङ्गाल सरकारले पहाडमा भूमिको कानूनसमेत उल्लङ्घन गऱ्यो।  उत्तर बङ्गालमा विपक्षको विरुद्ध अनि पहाडमा आन्दोलनकारीहरूलाई नकली मुद्दा थोपेर आतङ्कवादी बनाउने, पुलिस उत्पीडन गर्ने, शारिरिक, मानसिक पीडा दिने काम ममताको सरकारबाट भइरहेको छ,’ गिरीले भने, ‘पहाडमा विपक्षलाई बोल्ने अधिकार छैन। स्वतन्त्र र निष्पक्ष मिडिया कर्मीहरूलाई पक्राउ गरिन्छ। दिनोदिन पहाडमा लोकतन्त्रको हत्या गरिन्छ। जाति र मुद्दा बचाउन यो गठबन्धन हुनैपर्थ्यो। जनताको चाहनाअनुसार हामी अघि बढेका हौं।’

गिरीअनुसार दार्जीलिङ, तराई र डुवर्सका जनताले यतिको अपमानित कहिल्यै अनुभव गरेको थिएन, जुन अहिले ममताको सरकारबाट अपमानित हुन परिरहेको छ।  जसले पनि छुट्टै राज्य गोर्खाल्याण्डलाई समर्थन गर्छ, उसलाई अनेकौं प्रताडना दिइन्छ।  बङ्गालले ‘फुटाउ अनि राज गर’ नीति अप्नाएको छ। जसको कारण गोर्खाहरूको अस्तित्व नै खतरामा परेको छ।

‘गोर्खाहरूलाई राजनैतिक र आर्थिक दुवैतर्फबाट किनारीकृत गरिएको छ। यसबीच ममता व्यानर्जीले कठपुतली राजनीतिज्ञहरूको एक अवैद्ध शासनमार्फत गोर्खाल्याण्डको मुद्दा दफ्नाउने र गोर्खाहरूमा फुट ल्याउने एजेन्डा अघि बढाइरहेकी छन्,’ गिरीले भने, ‘इतिहासमा जुन मिरजाफरको विम्ब छ, पहाडको लागि अमरसिंह राईको विम्ब त्यस्तै हो। उनलाई तृणमूलको उम्मेदवार बनाइएको छ।’

गिरीअनुसार अमरसिंह राई मोर्चाका विधायक हुन्, जसलाई तृणमूलको उम्मेदवार बनाइएको छ, यस्तो इतिहास देशमा कसैको छैन। पहाडमा गणतन्त्र स्थापना, पुलिसी दमन, ममता व्यानर्जीको सरकारले लगाएको अघोषित आपतकालको विरुद्धमा गोजमुमो र गोरामुमो एकसाथ उभिएको उनको ठहर छ।

‘ममताको तानाशाह र जाति अनि मुद्दा विरोधीहरूको विरुद्धमा नै गोजमुमो र गोरामुमोको गठबन्धन भएको हो,’ उनले भने, ‘यो गठबन्धले जनतामा फेरि नयाँ आशा पलाएको छ। गोरामुमो र गोजमुमो दुवै ठान्छ, पहाडको कुनै पनि समस्याको सामाधान हुन्छ भने त्यो संवैधानिक अभ्यासबाट हुनुपर्छ।’

यता निरज जिम्बाले भाजपाका उम्मेदवारलाई दुवै पार्टीले समर्थन गर्ने भए पनि उम्मेदवार भने अहिलेसम्म तय भइनसकेको बताए।

पत्रकारहरूले सोधेको एक प्रश्नको उत्तरमा उनले भने, ‘भाजपाले यस्तो उम्मेदवार दियोस्, जसले गोर्खाहरूको आकांक्षाको कदर गरोस् अनि  देश निर्माणमा अक्षुण्ण भूमिका निर्वाह गरोस्।’

सत्पालजी महाराजको सन्दर्भमा बोल्दै जिम्बाले भने, ‘उनको पकड पहाडमा राम्रो छ। डेड दुइलाख उनका भक्तहरू पहाडमा छन्। उनी सम्मानित नेता हुन्। यद्धपि पहाडको लागि चाहिने उम्मेदवार छान्ने जिम्मा भाजपा कै हो। हामीले हाम्रो पक्ष राखिसकेका छौं।’

उनले पहाडमा गोजमुमोसित र देशमा भाजपासित गोरामुमोले गठबन्धन गर्ने पनि खुलाएका छन्।

गोजमुमो र गोरामुमो पहाडको दुवै ठूला पार्टी हुन्। दुवै पार्टीले जनताको मुद्दालाई अघि बढाइरहेको छ। दुवै पार्टीले ठानेको छ, यसपल्ट मुद्दा र आन्दोलनलाई सँधैको निम्ति दफ्नाउन विरोधीहरूले लगनगाँठो कसेको छ। त्यसको विरुद्ध चुनावी मैदानमा भाजपाको उम्मेदवारसित उनीहरू मैदानमा उत्रने हुन्।

‘मुद्दा र आन्दोलन दफ्नाउन विनय-ममता मिल्न सक्छन् भने, मुद्दा र आन्दोलन बचाउन गोरामुमो र गोजमुमो किन मिल्न सक्दैन?,’ उनले भने, ‘मुद्दा रह्यो भने जाति रहन्छ। जाति रह्यो भने राजनीति रहन्छ। मुद्दा र जातिलाई सङ्कट परेको बेला ठूलो सरोकारको लागि हामी मिल्नै पर्थ्यो, मिल्यौं। हाम्रो गठबन्धन मुद्दा र जाति विरोधीहरूको लागि तमाचा हो।’

यता पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै डा. सुन्दासले विनय तामाङहरूले अवैद्धरूपमा गोजमुमोको नाम र झण्डाको दुरुपयोग गरिरहेको र यसबारे कानूनी लडाईँ लड्ने बताए। पत्रकार सम्मेलनमा मोर्चाको पक्षमा डा. लोपसाङ लामा, डा. विनु सुन्दास, नवाङ राई अनि लीलाकुमार गुरुङ थिए भने गोरामुमोको पक्षमा एनबी छेत्री, निरज जिम्बा, वाइ लामा अनि पिसि अग्रवाल उपस्थित थिए।

Gepostet von Gorkha Janmukti Morcha am Dienstag, 19. März 2019

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया