ऐतिहासिक महत्त्वका युद्ध कथा

क्लासिक


मनप्रसाद सुब्बा


» नेपालको बाह्र वर्षे जनयुद्धको पृष्ठभूमिमा लेखिएका ‘छापामारको छोरो’ (कथा सङ्ग्रह / महेशविक्रम शाह), पल्पसा क्याफे, मयूर टाइम्स (उपन्यास / नारायण वाग्ले), उर्गेनको घोडा (उपन्यास / युग पाठक) र अन्य कतिपय कृतिहरूमा भएको छ। तर यी लेखकहरू पनि त्यस जनयुद्धका सिपाहीहरू थिएनन्। स्पेनी गृहयुद्धमा सक्रीय सहभागी बनेका अर्नेस्ट हेमिङवेको फर हुम द बेल टोल्स्, फेयरवेल टु आर्म्स तथा अरू अमेरिकी, युरोपीय सिपाहीहरूका युद्ध उपन्यास र कथाहरूका हाराहारीमा उभिनसक्ने युद्धाख्यानहरू (सिपाहीहरूद्वारा नै लेखिएका) हामीसित कति छन् विज्ञ अध्येताहरूले खोज्नुपर्ने यौटा कार्य छ। «


यस क्षण म संवत् १९९२ (ई. १९३५)-को शारदा वर्ष २, सङ्ख्या २,३ र ४ हातमा लिएर बसेको छु। मूल प्रति होइन, फोटो कपी। नेपाली साहित्यको आधुनिक युगलाई उत्थित गर्ने काममा ऐतिहासिक महत्वको भूमिका खेल्ने साहित्यिक मासिक शारदा बल्ल हेर्न पाएको छु यसरी फोटोकपी नै भए पनि।

नेपाली साहित्ययात्रामा माध्यमिक काल नेपथ्यमा ओझेलिँदै गएपछि आधुनिक कालका अभिनयीहरूलाई मन्चमा उभ्याउने महत् कार्य शारदा-ले गरेको कुरा विद्वानहरू मान्छन्। त्यो आधुनिक युगलाई डोऱ्याएर यात्राको उकालो हिँड्ने बालकृष्ण शम्शेर, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारी जस्ताका युवा रचनाहरूको नवोन्मेषले शारदा शारदीय भएको हुन्थ्यो। त्यसताक बालकृष्ण शम्सेरले कुनै समय आफू समताका उन्नायक ‘सम’ हुन्छु सोचेकै थिएनन्; पच्चीस-छब्बिस वर्षे लक्ष्मीप्रसाद देवकोटा, बी. ए. बी. एल., पनि ‘देवकोटा’ मात्रैले चिनिइने भइसकेका थिएनन्। हो, त्यै समय र त्यै शारदा-को वर्ष २, सङ्ख्या २-मा हायमनदास राई (पछि ‘किरात’ मात्र)-को कथा शूर वीर प्रकाशित पाइन्छ। किरात त्यसबेला सोह्र वर्ष मात्र पुग्दै थिए। सम्भवतः यही नै उनको पहिलो प्रकाशित कथा पनि हो।

भारतीय नेपाली आधुनिककालीन कथाको पहिलो चरणका कथाकार इन्द्र सुन्दासभन्दा पाँच महिनाले कान्छा अनि शिवकुमार राईभन्दा दुइ महिनाले जेठा हायमनदास राई तर कथा लेखन-प्रकाशनमा अघिल्लोभन्दा दुइ वर्षअघि अनि पछिल्लोलाई दश वर्षैले उछिनेको तथ्य शारदा वर्ष २/ सङ्ख्या २-ले बताउँछ।

हायमनदास राई (शारदा-मा ‘हाईमन दास राई’) को शूर वीर प्रकाशित हुनभन्दा अघिको पृष्ठभूमिलाई झलक्क मात्र हेर्दा –- पहिलो आधुनिक नेपाली कथाको मान्यता दाबी गर्नखोज्ने ‘अन्नपूर्ण’ (रूपनारायण सिंह) ‘गोर्खा संसार’-मा प्रकाशित भएको सात वर्ष मात्र पुग्दैथ्यो अनि दश महिनाअघि मात्रै शारदा (संवत् १९९१, जेठ)-मा गुरुप्रसाद मैनालीको ‘नासो’ प्रकाशित भएथ्यो जसलाई अधिकतर समालोचकहरूले पहिलो आधुनिक नेपाली कथा मानेका छन्। यिनै पृष्ठभूमि र परिप्रेक्ष्यमा ‘शूर वीर’-लाई हेरे यस कथा र यसका कथाकारको ऐतिहासिक गुरुत्व बुझ्न सकिनेछ।

अर्को ध्यान दिनुपर्ने कुरो हो यस कथाको कथ्य। तर कथ्यलाई सोझै चर्चामा ल्याउनभन्दा पहिले त्यो समयलाई फर्केर अलिकति चिहाऊँ : भारत ब्रिटिश औपनिवेशिकताभित्र छटपटाइरहेको थियो भने नेपाल निरङ्कुश राणातन्त्र र सामन्ती व्यवस्थामा निस्सासिरहेको थियो। ‘नब्बे साल’ (वि.स. १९९० / ई.१९३४)-को विध्वंशकारी भुइँचालोले नेपाल अनि बिहारमा ताण्डव नाचेको थियो, अनि दार्जीलिङ पहाडमा पनि त्यो भयावह भुइँचालोको भूतको गाढा छायाँ राम्ररी मन्सिसकेको थिएन। जर्मनीमा हिटलर समग्र युरोप नै अँट्ठ्याउने अति महत्वाकांक्षी हुङ्कारसित उठिरहेको थियो। यस्तो राष्ट्रिय तथा वैश्विक अवस्थामा आधुनिककालीन नेपाली कथा लेखनको आरम्भिक उठानले समातेको मूल प्रवाह थियो स्वाच्छन्दिक सामाजिक यथार्थवादी, अनि यौटा सानो भङ्गालो देख्छौं यौं मनोवैज्ञानिकताको (विश्वेश्वरप्रसाद कोइरालाको चन्द्रवदन-बाट थालिएको)। नेपाली कथा लेखनको यस्तो समयमा तर हायमनदास राईको ‘शूर वीर’ बेग्लो कथावस्तु र छरितो प्रस्तुतिसित निज जातीय सामरिक संवेदन ब्युँझाउन देखा पऱ्यो।

शीर्षकले भने अनुसार मूलपात्र साँच्चै शूरवीर रहेको यो एक युद्धकथा हो। जापान र रूसमाझ भएको एक युद्धको दृश्य छ। जापानी कप्तान ओसाका आफ्नो घरमा युद्धको समाचार पढ्दै बसिरहेको बेला हठात् फौजमा झट्ट फर्किजानुपर्ने आदेश टेलिफोनद्वारा आउँछ। आफू हाजिर हुनैपर्ने स्थिति बुझेपछि तरवार भिरी निस्कन तयार हुन्छ। निस्कनअघि आमालाई भेटेर विदा माग्दा ओसाकाको मुखबाट ‘अद्भूत तौरले’ यी शब्द निस्कन्छन् –‘माता! विदा देऊ जन्मभूमिको रक्षाको निम्ति मलाई बलिदान गरिदेऊ!..’ छक्क परेकी आमाले तर भन्छिन् –‘यदि मेरो एउटा पुत्रले गर्दा सहस्र देशवासीको रक्षा भए जाऊ! आशीर्वाद छ!..’ त्यसपछि युद्धमैदानभन्दा पहिले आफ्नी नवविवाहितासित ‘भीषण प्रेमयुद्ध’ हुन्छ। अनि घोडामा स्वर भई निस्कन्छ कप्तान। शक्तिशाली रूसी फौजसित पहिलो दिन हारेपछि दोस्रो दिन विशेष सोच लिई आफू तोपको मोहोरीभित्र पसेर लुक्छ। शत्रुहरूले त्यो पड्काउँदा रूखहरूभरि रगत लागेको देखी सबै भाग्छन् अनि जापान विजयी बन्छ। कथासार यत्ति हो।

रूस-जापान युद्ध काल्पनिक नभएर यथार्थ हो, इतिहाससम्मत हो। वास्तवमा, फेब्रुअरी १९०४-देखि सेप्टेम्बर १९०५-सम्म चलेको रूस-जापान युद्धलाई बीसौं शताब्दीको पहिलो ठूलो युद्ध मानिन्छ। जमीन तथा समुद्रमा लडिएको यो उन्नाइस महिने युद्धमा दुइ देशको फौजमाझ कैय्यौंपल्ट घमासान मुठभेड भयो। तर किरातले आफ्नो कथामा केवल यौटै मुठभेडको अति सङ्क्षिप्त चित्रण गरेका छन्। कथाको कलेवरलाई उकास्न प्रशस्त ठाउँ छँदाछँदै पनि लेखकले कथालाई लघुरूपमै राख्न रूचाएका छन्। अर्थात् कलिलो किशोर लेखकले आफ्नो कल्पनाभिव्यक्तिको सीमिततालाई सश्रम तन्काउनपट्टि नलागेर आफ्नो अपरिपक्वताबारे बरू आत्मस्वीकृति दिएका छन् कथा भन्दाभन्दै बिचमा, यसरी –“..यो म आफ्नो भरखरको सिकुवा कलमले लेखी देखाउन शक्दिन।..”

कल्पनाको स्थूल रूपदेखि पर्तिर त्यसको सूक्ष्म तत्व लेखकभित्र विकसित भइनसकेको अवस्थामा लेखिएकोले यो कथाको जीउडाल पनि केही अविकसित देखिनु अस्वाभाविक होइन। तर कथामा भावुकतालाई लोभ्याउने खालका कति ठाउँहरू छन्, तथापि लेखक आफ्नो बैंसको कलिलो बिहानीमा पनि भावुकता पोख्ने लोभले खिँचिएका छैनन्। कथाका ती खाल्डाखुल्डी भावुकताले भर्दै गएको भए त्यो कथाको काया थिल्थिलाउँदो बोसोले अलिक अल्सीलाग्दो पनि देखिनसक्थ्यो। तर यस कथामा भावुकतालाई न्यूनतम भूमिका दिइएको छ। यही नै ‘शूर वीर’-को सकारात्मक पक्ष हो। प्रारम्भिक पङ्क्तिदेखि नै कथामा पाठक यौद्धिक परिवेशमा पर्छ। त्यै परिवेशलाई यथावत् राख्न लेखकले मूलपात्रको नववधुसितको रागात्मक प्रेमक्रीड़ालाई समेत ‘भीषण प्रेमयुद्ध’ भनेर पाठकलाई, यस्तो भावनात्मक स्थितिमा पनि ‘युद्ध’ शब्दसित अल्झाइराख्न खोज्छन्। कथनशिल्पको एक चम्किलो झिल्को मान्न सकिन्छ यसलाई। यो कोमल स्थितिमा भावनासित बग्ने पर्याप्त ठाउँ हुँदाहुँदै पनि लेखकले कप्तान अनि नवदुलहीलाई ‘सम्झाउनी-बिर्साउनी चुम्बन’ मात्र गराएर छुटाउँछन्। कथामा तर ती खाल्डाखुल्डी त्यतिकै रहेका छन्। तिनीहरूले माग गर्छन् सृजनशील सूक्ष्म कल्पना-तत्व जसले कथालाई एक सग्लो र बान्किलो रूप दिन सक्थ्यो।

यो कथा र कथाकारबारे अर्को एक विवेच्य कुरा : साधारणतः किशोरावस्थाका धेरैले नै आफ्नो अभिरूचीको विधामा कुनै प्रिय अग्रजलाई प्रभाववश अनुसरण-अनुकरण गर्न खोज्छ, अनि केही समयपछि, सचेत सर्जकले, उनै अग्रजलाई उछिन्ने या उनीबाट अलग्गिने प्रचेष्टा चलाउँछ। हायमनदास राईका अग्रजहरू रूपनारायण सिँह, बालकृष्ण सम, मैनालीहरू अनि दौँतरीहरूले स्वाच्छन्दिक तथा सामाजिक यथार्थवादी ढाँचामा रागात्मक प्रेमका अनि सामाजिक विषयवस्तु नै टिपेर नेपाली कथा लेखनमा आधुनिक युगको पहिलो उठानलाई उठाइरहेका थिए। यस्तो समय सोह्र वर्षे हायमनदास राईले रूस-जापान युद्धलाई कुन प्रेरणाले आफ्नो कथाको विषय बनाए होलान्! ‘शूर वीर’-भन्दा अघि युद्ध नै विषय बनेको कुनै कथा नेपाली भाषामा लेखिएको छ-छैन, साङ्गोपाङ्ग शोधकार्य नभइन्जेल हायमनदास राईको ‘शूर वीर’नै पहिलो नेपाली युद्धकथा हो भन्छौं।

त्यसो त शारदा-को त्यही अङ्क (पृष्ठ ३ – ५)मा कुनै लक्ष्मीनारायण ठाकुरको ‘वीर छेत्रीनी’ पनि युद्धकथाकै ढाँचामा लेखिएको छ। स्त्रीलिङ्गी ‘छेत्रीनी’-लाई विशेषित तुल्याउने ‘विराङ्गना’-को सट्टा पुलिङ्गी ‘वीर’ लेखेर उक्त लेखकले यथोचित वीरता चाहिँ देखाएकै छन्। तर यस कथामा मूल युद्ध गौण रहेर यौटी  नारीको प्रेम र प्रतिशोध नै बढी टड्कारो भई अग्रभूमिमा आएको छ अनि कथाको अन्त्यमा नारीहरूको सामुहिक सती गमनलाई गौरवीकरण गरिएको छ। तर ‘शूर वीर’-मा शुरूदेखि अन्त्यसम्मै पाठकलाई युद्धको चर्को गन्ध र आवाजले छोड्दैन। ‘शूर वीर’-पछि अर्को चर्चित युद्धकथा पढ्नलाई नेपाली पाठकले बाह्र वर्ष पर्खिनुपर्ने हुन्छ जुनबेला ‘युगवाणी’ (संवत् २००४)-मा सुदक्ष कथाशिल्पी शिवकुमार राईको ‘फ़्रन्टियर’ प्रकाशित हुन्छ।

आरम्भदेखि अन्त्यसम्मै यौद्धिक हावा हुँइकिरहेको कथा ‘शूर वीर’-मा इतिहासबाटै टिपिएको रूस-जापान युद्धलाई कथ्य बनाइएको भए तापनि तर त्यस युद्धबारे पर्याप्त अध्ययन-अनुसन्धान नगरी त्यस युद्धको यौटा मुठभेड (ब्याटल्)-लाई स्वच्छन्दतावादी प्रभावमा सरल रेखीय कथारूप दिइएको छ। देशमा स्वाधीनता सङ्ग्रामको आगो बलिरहेको समय थियो त्यो अर्थात् मातृभूमिको निमित्त त्याग र बलिदानको भाव उर्लिरहेको बेला थियो त्यो। अनि किशोर हायमनदासले आफ्नो बैंसालु बलिदानको भाव पोख्ने प्रतीक भेट्टाए सुदूर रूस-जापान युद्धमा। त्यसैले यो कथामा छ युद्ध र योद्धाको स्वाच्छन्दिक गौरवीकरण (रोम्यान्टिक ग्लोरीफिकेसन)। औपनिवेशिक बन्धनबाट मातृभूमि-मुक्तिको  निमित्त सारा सचेत र स्वाभिमानी देशवासी जुर्मुराइरहेको बेला युद्धमा होमिने कृत्यलाई गौरवीकरण गर्नु अत्यन्त स्वाभाविक थियो।

भौगोलिक आयतनमा धेरै सानो जापानले बृहदाकारको तथा शक्तिशाली रूसमाथि पाएको विजयगाथा सुनेर ठिटौले हायमनदासलाई गहिरो प्रभाव परेको थियो सायद। वृहदाकार र विजय दुइ बेग्लाबेग्लै कुरा हुन् भन्ने प्रत्यक्ष ज्ञानको उदय उसबेला उनीभित्र भयो होला। अनि कहिल्यै घाम नअस्ताउने उसबेलाको विराट ब्रिटिश साम्राज्य र स्वाधीनता सङ्ग्रामको झन्डा लिई दृढतासित उठेको भारतमा उनले रूस र जापानकै सामन्जस्य पाए होलान्। अर्थात् यसो भनूँ, देशप्रतिको आफ्नो तीब्र भावानुभूतिलाई समुचित निकास दिने –- इलियटको शब्द सापट लिँदै – उही अनुपातको वस्तुनिष्ठ समीकरण (अब्जेक्टिव् को-रिलेटिव)-को रूपमा रुस-जापान युद्ध भेट्टाए। अनि तोपको मोहोरीभित्र पसेर आफ्नो ज्यान बलि चढाउने ओसाकाको त्रासद कथाले हायमनदासभित्रको भावावेगलाई उस्तै तीब्रतापूर्वक निकास दिन एरिस्टोटलीय ‘कथार्सिस्’-कै काम गरेको अनुमान पनि लाउँदा अतिशयोक्ति नै चैं नहोला।

यसरी हायमनदास राईले हामीलाई हाम्रो आधुनिक (आधुनिकतावादी होइन) कथा लेखनको आरम्भिक कालमै अनि आफ्नो कथालेखन-यात्राको थाल्नीमै यौटा युद्धकथा दिए। यस कथाको विषयगत ऐतिहासिक महत्वमाथि आजसम्म विज्ञ समालोचक तथा अनुसन्धाताहरूको दृष्टि परेको छैन कि! या त परे पनि कथा संरचना उति पुस्त नभएकोले बेवास्ता गरिएको हो कि! तर अघि भनेझैँ ‘यस कथाको विषयगत ऐतिहासिक महत्व’ सँधै स्मरणीय र उल्लेख्य छ।

ईशाब्द १९३५-देखि आज (२०१६)-सम्म सृजनरत् ‘किरात’ वर्त्तमान भारतेली नेपाली साहित्यकारहरूमा सायद सबभन्दा ज्येष्ठ हुन्। उमेरको सोह्रौं वर्षदेखि अहिले अन्ठानब्बे पुग्दासम्म सृजनरत् रहिरहनु साँच्चै चकित तुल्याउने कुरो हो। उनी धरोहर हुन् हाम्रा।

•••

संसारमा हाम्रो परिचय छ एक सामरिक जातिको रूपमा। रणक्षेत्रमा गोर्खा फौजको छायाँ मात्रले पनि शत्रुको रौँ ठाडो हुन्छ भन्ने दन्तेकथा नै बनिसकेको लडाकु जाति। बीसौं शताब्दीका दुइवटा विश्वयुद्धबाहेक अन्य कैय्यौं युद्ध लडेर उदेकलाग्दो शौर्यका तक्माहरू कमाउने यो जाति। अहिलेसम्म हाम्रो युद्धसाहित्यको एक उदाहरणीय भण्डार भइसक्नुपर्ने। तर संसारप्रसिद्ध यो जातिको युद्धसाहित्य कति छ? युद्धकथा, युद्धाख्यान, युद्धकविता, युद्धसंस्मरण हाम्रा लाहुरेहरूबाट कति लेखिएका छन्? थोरै जे-जति छन् तीमध्ये पनि धेरजसो कहिल्यै युद्धभूमि नदेखेका असिपाहीहरूले सुनेको-पढेको भरमा लेखेका छन्। (चर्चा गरिएको युद्धकथा ‘शूर वीर’-का लेखक अनि प्रसङ्गमा उल्लेख गरिएको ‘फ़्रन्टियर’-का लेखक शिवकुमार राई दुवैमा फौजी जीवनको अनुभव थिएन।) यौद्धिक अनुभव-अनुभूतिको सुनखानी छ यो जातिसित। तर त्यहाँबाट सुन निकाली आकर्षक गहना जति बनिसक्नुपर्थ्यो, त्यति बनिएकै छैन।

उन्नाइसौं शताब्दीको अन्तिम दशकतिर केही सिपाहीहरूले लडाइँका सवाईहरू लेखे। लडाईंमा आफूले देखेका भोगेका कुराहरूलाई लोकलयमा विवरण गरिएका ती सवाईमा तर सूक्ष्म काव्यिकता खोज्नु अत्यापेक्षा नै हुनजाला। वर्त्तमान पुस्ताका केही सिपाहीहरू छन् ब्रिटिश गोर्खा फौजमा जसले अचेल आफ्ना युद्धानुभूतिहरूलाई धेरै आशलाग्दा किसिमले कवितारूप दिइरहेका छन्। युद्धको विभीषिकालाई आफ्नो काव्य लेखनको प्रमुख विषय बनाई उत्कृष्ट युद्धकविता लेख्ने अङ्ग्रेज सिपाही-कविहरू विल्फ्रेड ओवेन, ससुन, एडवार्ड टोमस जस्ता कविहरू हाम्रा लाहुरेहरूबाट पनि उठ्नेछन्, सविश्वास पर्खौं।

यस विषयक आख्यान र गद्य विधाको बाँझो फोर्ने काम समकालीन लेखनमा थोरै जे भएको छ त्यो नेपालको बाह्र वर्षे जनयुद्धको पृष्ठभूमिमा लेखिएका ‘छापामारको छोरो’ (कथा सङ्ग्रह / महेशविक्रम शाह), पल्पसा क्याफे, मयूर टाइम्स (उपन्यास / नारायण वाग्ले), उर्गेनको घोडा (उपन्यास / युग पाठक) र अन्य कतिपय कृतिहरूमा भएको छ। तर यी लेखकहरू पनि त्यस जनयुद्धका सिपाहीहरू थिएनन्। स्पेनी गृहयुद्धमा सक्रीय सहभागी बनेका अर्नेस्ट हेमिङवेको फर हुम द बेल टोल्स्, फेयरवेल टु आर्म्स तथा अरू अमेरिकी, युरोपीय सिपाहीहरूका युद्ध उपन्यास र कथाहरूका हाराहारीमा उभिनसक्ने युद्धाख्यानहरू (सिपाहीहरूद्वारा नै लेखिएका) हामीसित कति छन् विज्ञ अध्येताहरूले खोज्नुपर्ने यौटा कार्य छ।

आफ्नो देशको इतिहासका पानामा ढुकढुकाइरहेका जातीय / राष्ट्रिय मान-अभिमानको शिर उठेको / ढलेको घटनाबाट प्रेरित-प्रभावित भएर पनि उत्कृष्ट युद्धसाहित्य लेखिएका छन्। बालकृष्ण समको अमरसिंह त्यस्तै यौटा उल्लेख्य युद्धनाटक हो। ई. २०१२-को नोबेल प्राइज विजेता चिनियाँ उपन्यासकार मो यानको ‘रातो जौं’ तत्कालीन असंगठित चीन र जापानमाझ लामो समयसम्म चलेको युद्धको एक अत्यन्त सशक्त युद्ध उपन्यास हो।

दुइ सय वर्षदेखि विश्वले चिनेको-मानेको हाम्रो यौटै, बस् यौटै, परिचय छ — त्यो हो युद्धभूमिबाट पीठ फर्काउन नजान्ने इमान्दार सामरिक जाति। अनि यै जातिको चैं उन्नत सामरिक साहित्य नहुनु? आजका संवेदनशील तथा सृजनशील लाहुरेहरूले यस प्रश्नको जवाब दिँदै जानेछन् युद्ध विषयक कविताले, आख्यानले, संस्मरणले। विश्वस्त रहौं।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया