मलाई मेरो विचार लेख्ने स्वतन्त्रता छ, त्यो नछिन्नुहोस्, खम्बुजी

गोर्खाल्याण्डको निम्ति आश्वासन दिने भाजपामाथि विश्वास गरेर विमल गुरूङले जुन आन्दोलन शुरू गरे त्यसमा सत्-प्रतिशत सहयोग गर्न नसकेतापनि भाजपाले गोर्खाल्याण्ड नसही कमसेकम द्विपक्षीय/ त्रिपक्षीय वार्ताको माहौल तयार गरिदिएको भए के कसैको सिन्दुर पुछिन्थ्यो होला र ? कोही टुहुरो हुन्थ्यो होला र ? कसैको घर उजाड़ हुन्थ्यो होला र?  कसैको घर कुड्की हुन्थ्यो होला र ? कोही उच्छेद हुन्थ्यो होला र?


शरण गुरूङ


मैले नचिनेको तर मलाई नजीकबाट चिन्ने देव खम्बु राईजी मेरो लेख ‘भाजपाले देखाएको सपना र गोर्खाहरूको बलात्कृत विपना’ पढ़ेपछि ‘बन्दकी कविको बन्दकी कलम’ भनेर प्रतिक्रिया लेख्नुभएको रहेछ।

एकजना साथीले वाट्सएप गरेपछि पढ़ें। पछिबाट फेसबूकको वालमा पनि हेरियो। मैले उक्त रचना प्रकाशित गर्नुभन्दा अघि नै यस्तै प्रतिक्रियाहरू पाइन्छ भन्ने सोच बनिसकेको थियो र म त्यसको निम्ति पूर्णरूपले तयारी पनि थिएँ।

देव खम्बु राईजीले राख्नुभएको शीर्षकमाथि अलिकति आपत्ति रहेको भएतापनि स्वस्थ प्रतिक्रिया राख्नुभएको रहेछ। एक कलमकार भएपछि मैले त्यसको कदर गर्नैपर्छ। यसैले उहाँलाई धन्यवाद पनि भन्नैपर्छ।

मानिस विवेकशील प्राणी हो। यसको सबैभन्दा धेर घमण्ड पनि हामी मानिसलाई नै रहेको छ। तर विडम्बना के रहेको छ भने विवेकशील प्राणीको दम्भ पालेर बसेका हामी मान्छे नै हो जो विवेकमा भावना मिसाएर दुइधारे जिन्दगी बाँचिरहेका छौं। यो बँचाई अलि जोखिमपूर्ण हुन्छ भन्ने मलाई लाग्छ।

यसबाहेक विवेकले मानिसलाई विचारशील बनायो। तर विचार सबैको समान हुँदैन। यसैले मेरो गोरूको बाह्रै टक्का भनेजस्तो विचार पालेर बस्नु पनि विवेकशीलहरूलाई सुहाउँदैन भन्ने मेरो सोच हो।

अभिव्यक्तिको स्वतन्त्रता यदि वैध हो भने वैचारिक स्वतन्त्रता पनि वैध मानिनुपर्छ। यति लामो भूमिका बाध्नुको पछिल्तिर देव खम्बु जी अनि मेरो वैचारिक भिन्नतालाई कसैले गलत प्रकारले अभिव्यक्त नगरोस् भन्ने हो।

खम्बुजीको प्रतिक्रियालाई आध्योपान्त पढ़ेपछि उहाँलाई एक- दुई ठाउँमा म जवाबदेही हुनुपर्छ भन्ने लागेको हो। सोही काम यहाँ गरिरहेको छु- भाजपालाई कटाक्ष गर्नुभन्दा पहिले शरणले तृणमूल काङ्ग्रेसको पृष्ठभूमि हेरेको असल हुनेछ। एक ठाउँ खम्बुजीले यस्तो लेख्नुभएको रहेछ। के आजको परिपेक्ष्यमा भाजपालाई कटाक्ष गर्नु युक्तिसङ्गत छैन? यो पढ़्नेसाथ सबभन्दा पहिला मेरो मनमा उब्जेको प्रश्न यो हो खम्बुजी। प्रशङ्सा गर्ने भाजपाले कतै ठाउँ राखेको छ भने तपाईं आफै भन्नुहोला।

अब रह्यो तृणमूल कङ्ग्रेसको पृष्ठभूमिको कुरा, मैले आफ्नो लेखमा एक ठाउँ यस्तो लेखेको छु- गोर्खाल्याण्ड आन्दोलन दबाउनु पश्चिम बङ्गाल सरकारको राजनैतिक धर्म थियो जुन धर्म विगतमा माकपा सरकारले पनि निभाएका थिए भने भविष्यमा भाजपा नै बङ्गालको सत्तामा आएको खण्डमा पनि निभाउनेछन्। तर केन्द्रमा शासित भाजपाले गोजमुमो अथवा दार्जीलिङ पहाड़वासीको पक्ष लिएर समाधानको सूत्र खोज्नु उनीहरूको राजनैतिक धर्म थियो जुन धर्म कङ्ग्रेसले केन्द्रमा रहँदा पूरा गरेको थियो। गोर्खाल्याण्ड न सही तर दागोपाप अनि जीटीए दुवै कङ्ग्रेस केन्द्रमा रहँदा खोजिनिकालेको समाधान सूत्र थियो। तर भाजपाले यस्तो केही गरेन। गोर्खाहरूलाई भोट व्याङ्क अनि गोर्खाल्याण्ड आन्दोलनलाई बङ्गालको राजनीतिमा छिर्ने व्याक डुअरको रूपमामात्रै प्रयोग गऱ्यो।

मलाई तृणमूल कङ्ग्रेसको पृष्ठभूमिभन्दा धेर बङ्गाल सरकारले गोर्खाल्याण्डको मुद्दाप्रति हेर्ने राजनैतिक रवैया महत्वपूर्ण लाग्छ खम्बुजी। विगतका मुख्यमन्त्री ज्योति बसुले ‘बङ्गाल विभाजन हुनेछैन’ भन्थे। अहिले ममता व्यानर्जीले ‘म मरे पनि बङ्गाल विभाजन हुन दिन्न’ भन्छन्।

बङ्गालकै भाजपा नेता दिलीप घोष पनि त ‘भाजपा गोर्खाल्याण्डको पक्षमा छैन’ भन्छन्। यसरी जुनै राजनैतिक दल बङ्गालको सत्तामा आए पनि भन्ने डाइलग अलग भएतापनि सार एउटै हुने हो।

तर केन्द्रमा भाजपालाई के बाध्यता छ र गोर्खा अनि गोर्खाल्याण्डप्रति 10 वर्षसम्म पनि बोल्नु सकेनन् ? रोचक रहस्य त यही होइन र!

भाजपाले आश्वासनमा भुल्याए पनि तृणमूल काङ्ग्रेसले जस्तो कसैको सिन्दुर पुछिदिएको छैन, कसैलाई टुहुरो बनाएको छैन, कसैको घर उजाड़ पारिदिएको छैन, कसैको घर कुड्की गर्न लगाएको छैन, कसैलाई उच्छेद गरेको छैन। शरण तिमी आफै भन,  आश्वासनमा भुल्याउने ठूलो अपराधी कि यी माथि लेखिएको कुराहरू गर्नु लगाउने ठूलो अपराधी? तिम्रो बौद्धिक सोचले के भन्छ हँ शरण?

खम्बुजीले सोध्नुभएको यो प्रश्न सम्भवतः अहिलेघरि सबैको मनमा भएको प्रश्न हो। यो प्रश्नको उत्तर दिँन पाउनु मेरो लागि ठूलो सौभाग्यको कुरो हो। यो सौभाग्य जुराइदिनुभएकोमा धन्यवाद खम्बुजी।

जुलाई 2011 सालमा जीटीए सम्झौता भयो। विमल गुरूङले त्यतिबेला भने, ‘ममता व्यानर्जी हमारी मा हैं’ भन्नुको अर्थ सम्झौता भयो। यसरी सम्झौता भएको 1 वर्ष पनि पूरा नभई दिसम्बर 2012 मा चौरास्ता परिसरदेखि जीटीएमा हस्तक्षेप भएको आरोपसितै गोर्खाल्याण्डको आन्दोलन शुरू भयो।

मुख्यमन्त्री ममता व्यानर्जीले रफ एण्ड टफ भनेको त्यो दिन तपाईलाई पनि थाहा होला। सबभन्दा ठूलो प्रश्न त्यति ठूलो आन्दोलनपछि सम्झौता गरी सकेपछि जीटीएलाई राम्रोसित सञ्चालन पनि नगरी फेरि बगावत गर्नु के सही निर्णय थियो?

कि त जीटीए सम्झौता गर्नु गलत थियो कि त सम्झौता पछि लगत्तै बगावत गर्नु गलत थियो। यी दुईमध्ये एउटा कुरा अवश्यै गलत थियो। कि कसो खम्बुजी?

छोड़िदिऊ यी कुरा तपाईंको माथिको प्रश्नको उत्तर पनि मेरो अघिल्लो लेखमा नै रहेको छ- विमल गुरूङहरूलाई भूमिगत बसेर नै आन्दोलन तन्काउनु उक्साए। यदि भाजपाले चाहेको भए पहाड़ बन्दको 5 दिनभित्रमै समाधानको सूत्र निकाल्न सक्थ्यो। राज्यलाई दबाउ दिएर द्विपक्षीय- त्रिपक्षीय वार्ताको माहौल तयार पार्न सक्थ्यो। तर 5 दिनमा समस्याको समाधान नगरेर 105 दिन पुराउँदा भाजपालाई बङ्गालमा जुन पोलिटिकल बेनिफिट हुने थियो त्यहीमात्र हेरे। दुई-दुई पल्ट सासंद दिने तथा कमलको फूलमा दुई-दुई पल्ट भोट हालेर सड़कमा नाच्ने पहाड़वासीको ज्यानभन्दा ठूलो भाजपालाई बङ्गालको राजनैतिक चौकी महत्वपूर्ण बन्यो।

मेरो माथिको पङ्क्ति त्यति एब्सट्राक्ट छ जस्तो पनि लागेन। त्यसमा पनि तपाईं कविता पढ़्ने बुझ्ने हुनुहुँदो रहेछ खम्बुजी। गोर्खाल्याण्डको निम्ति आश्वासन दिने भाजपामाथि विश्वास गरेर विमल गुरूङले जुन आन्दोलन शुरू गरे त्यसमा सत्-प्रतिशत सहयोग गर्न नसकेतापनि भाजपाले गोर्खाल्याण्ड नसही कमसेकम द्विपक्षीय/ त्रिपक्षीय वार्ताको माहौल तयार गरिदिएको भए के कसैको सिन्दुर पुछिन्थ्यो होला र ? कोही टुहुरो हुन्थ्यो होला र ? कसैको घर उजाड़ हुन्थ्यो होला र?  कसैको घर कुड्की हुन्थ्यो होला र ? कोही उच्छेद हुन्थ्यो होला र? केन्द्रमा सत्तासीन भाजपाले कमसेकम त्यो अनिष्ट हुनबाट रोक्नु सक्थ्यो जसरी सिप्सु काण्डपछि तुरून्तै तत्कालीन कङ्ग्रेस सरकारले त्यसो गरेका थिए।

त्यतिबेला शत्रु तृणमूलबाट रहमको आशा गर्नुभन्दा मित्र भाजपाबाट सहयोग- सुरक्षाको अपेक्षा त सबैले गरेकै थिए। युद्धभूमिमा आक्रमण गर्ने शत्रुलाई दोष्याउनु बेस कि आफ्नो साथमा उभिएका मित्रले दिएको धोकालाई दोष्याउनु वेस? मित्र भएर तर भाजपाले के सहयोग गरे र आज उनीहरूको कटाक्ष नगरेर प्रशङ्सा गर्नु ? भाजपाले आफ्नो केन्द्रिय शक्ति लगाएर कमसेकम द्विपक्षीय वार्ता नै बसिदिएको भए पनि के यो अनिष्ट घटना रोकिन्थेन होला र खम्बुजी?

अन्तमा, अलिकति व्यक्तिगतजस्तो टिप्पणी पनि गर्नुभएछ ल्यापटप, क्यामेरा र स्कूलको डोनेशनको विषयमा। यति स्वस्थ टिप्पणी पढ़्दै जाँदा अन्तमा ढुङ्गा चबाएको जस्तो खडयाम्म भो। स्पष्टीकरण दिँदैछु- जुन ल्यापटप र क्यामेराको कुरा गर्नुभयो त्यो विमल गुरूङको गोजीको पैसा थिएन। जीटीए मीडिया सेलमा कन्टेन्ट राइटरको रूपमा कार्य पाएपछि आवश्यकताअनुसार जीटीएको डीईडी विभागबाट उक्त सामग्री उपलब्ध गराइएको थियो।

सामान किनेर रहल बाँचेको लगभग 6 हजार पैसा चाहीँ मैले विभागलाई नदिएर जीटीए चीफलाई बुझाएको हो। विश्वास लाग्दैन भने जाँच गर्नोला। उक्त ल्यापटप भानु भवनमा भएको झमेलाको भोलिपल्टदेखि भानु-भवनस्थित मीडिया सेल अफिसमै थन्को लागेको थियो भने हालमा उक्त ल्यापटप पनि अफिसका अन्य सामग्रीहरूसितै प्रशासनिक कब्जामा रहेको छ। विश्वास लाग्दैन भने त्यो पनि जाँच गर्नोला।

यसबाहेक रह्यो विद्यालयको डोनेशनको कुरा। रङ्जुभेल्लीमा एउटा निम्न उच्च विद्यालय सञ्चालित छ। स्थानीय विद्यार्थीहरूको दुःखलाई बुझेर हामीले नै शुरू गरेको। त्यही विद्यालय सञ्चालन गर्नुको निम्ति आर्थिक चपेट पर्दा हामीले तत्कालीन जीटीए चीफलाई आर्थिक सहयोगको अपील गरेका हौं।

विमल गुरूङले मेरै हातमा थम्याएको 50 हजार सहयोग राशिमा स्थानीय समाज अनि गाउँलेहरूको निःशुल्क सहयोगमा विद्यालयको चारकोठे भवन हामीले निर्माण गरेका छौं।

विमल गुरूङको 50 हजार सहयोगलाई हामीले 4 लाखले पनि बनिन नसक्ने विद्यालय भवन तयार पारेका छौं। कुनै दिन घुम्नु आउनु भयो भने अवश्यै हेर्नोला। अहिले पनि त्यहाँ गाउँका विद्यार्थीहरू अध्ययनरत् छन् जसले विमल गुरूङको उक्त गुणलाई कहिल्यै भुल्ने छैनन्।

हालमा जीटीएबाट ठूलो विद्यालय भवन पनि निर्माण भइरहेको छ। विमल गुरूङको सहयोगमा बनिएको उक्त पुरानो भवनलाई हामी विद्यालयको पुस्तकालयको रूपमा सञ्चालन गर्ने भएका छौं। यो गुणको निम्ति हामी विमल गुरूङको गुणलाई कदापि भुल्नेछैनौं।

तर तपाईले विनय तामाङको कर्मचारी भन्नु भएछ। तपाई सम्भवतः शिक्षित व्यक्ति हुनुहुन्छ। यसैले यो भनाइ तपाईलाई सुहाउँदैन जस्तो लाग्यो। विमल गुरूङ जीटीए चीफ हुँदा पनि म जुन विभागमा कार्यरत् थिएँ अहिले पनि त्यही विभागमा छु। त्यतिबेला कन्टीजेन्ट कर्मचारी थिएँ अहिले कन्ट्राक्चुअल।

तपाईंले मेरो कलमलाई बन्दी नबनाउने सुझाउ दिनुभएछ। धन्यवाद। तर तपाईंको विचारविपरीत मेरो कलम चल्यो भन्दैमा मेरो कलम बन्दी भएको भन्नु त्यति उचित हुँदैन कि ? तपाईं आफ्नो विचारमा स्वतन्त्र हुनुहुन्छ, म मेरो विचारमा। मलाई मेरो विचार लेख्ने स्वतन्त्रता छ। यो स्वतन्त्रता उपभोग गर्दा कसरी बन्दी बनिन्छ?

म अनि मेरो कलम कसैको बन्दी हुने छैन यति म तपाईलाई ग्यारेन्टी दिन सक्छु। तर मेरो कलम तपाईंको विचारभन्दा विपरीत हुनसक्छ, त्यसलाई स्वीकार गर्ने मनोस्थिति तपाईंकोमा पनि रहोस्, यति बिन्ती पनि गर्छु।

विचारको वैभिन्नतालाई सह्रदय स्वागत पनि गर्छु। स्वस्थ आलोचना तपाईंकोबाट पनि आओस्। स्वस्थ बहस होस्, तर्क होस् जसले एकार्काको कमी-कमजोरी उजागर गर्छ र हामीलाई अपेक्षा गर्ने समाजले सही-गलत निर्क्योल पनि गर्न सक्छन्। तर अबउसो व्यक्तिगत आक्षेप नआओस्, ताकि एकार्काको व्यक्तिगत आरोप- प्रत्यारोपमा समय खर्च नहोस्। यति आशा राखेको छु तपाईंबाट खम्बुजी। अरू स्वस्थ बहस अनि प्रतिक्रियाको निम्ति भने हरदम तयार।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया