आईपीएलका 6 हिरो

इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण शनिबार सुरु हुँदै छ । यसपल्टको प्रतियोगितामा पछ्याउन लायक ६ खेलाडीको सूची तयार पारेको छ एएफपी स्पोर्टसले । यी खेलाडी हुन्–

स्टिभ स्मिथ (राजस्थान रोयल्स)

एक वर्ष नै भयो, बल टेम्परिङमा समातिएपछि टीभी क्यामेराअगाडि स्टिभ स्मिथ रोएको । यी पूर्व अस्ट्रेलियाली पूर्व कप्तान अब फेरि विश्व क्रिकेटमा फर्कने तर्खरमा छन् । यसको पहिलो खुडकलो हुनेछ, विश्वकै सर्वाधिक लोकप्रिय र धनी टान्टी–२० क्रिकेट प्रतियोगिता । अहिले २९ वर्षीय स्मिथ राजस्थान रोयल्सका कप्तान पनि रहेनन्, टिमको सफलतामा भने उनको योगदान ब्याट्सम्यानका रूपमा अझै पनि ठूलै छ । राजस्थान सन् २००८ को पहिलो संस्करण जितेयता यस्तै सफलताको पछाडि छ । यसमा स्मिथ निर्णायक खेलाडी हुनसक्छन् । उनले भनेका छन्, ‘म आईपीएललाई खुबै मन पराउँछु । म यसपल्ट सबैखाले शट खेल्न तयार छु ।’

डेविड वार्नर (सनराइजर्स हैदराबाद)

बल टेम्परिङ काण्डमा मुख्य अझियुक्त मानिन्छन्, अस्ट्रेलियाली आत्रामक ब्याट्सम्यान डेविड वार्नर । यी ३२ वर्षीय सनराइजर्स हैदराबाद खेलाडी आफ्नो पुरानो छविबाट बाहिर निस्कने प्रयासमा छन् । नत्र उनी यसअघि इंग्ल्यान्डका जोए रुट र दक्षिण अफ्रिकाका क्विन्टन डी ककसँगको झगडामा अल्झेका थिए । उनको छवि खराब भएको थियो ।

उनले अहिलेको प्रतियोगितालाई लिएर भनेका छन्, ‘आईपीएलमा फर्कन पाएकोमा म निकै खुसी छु । म आफैं निकै रोमाञ्चित छु । मलाई पूरा विश्वास छ, म टिमका लागि राम्रैसँग रन बटुल्न सक्छु ।’ यी बायाँहाते ब्याट्सम्यान आफ्नो टिमको विश्वकप टोलीको सूचीमा पर्न पनि मिहिनेत गरिरहेका छन् ।

बेन स्टोक्स (राजस्थान रोयल्स)

इंग्ल्यान्डका २७ वर्षीय अलराउन्डर बेन स्टोक्स चाहन्छन्, उनको लय त्यही होस् जुन दुई वर्षअघि थियो । त्यति बेला उनले गज्जब खेलेका थिए । गत वर्ष भने उनी कानुनी झमेलामै फसे र खासै राम्रो गर्न सकेनन् । राजस्थान रोयल्सका लागि उनीबाट जे अपेक्षा गरिएको थियो, त्यो पूरा भएन ।

जबकि बायाँहाते ब्याट्सम्यान र दायाँहाते बलरमाथि टिमले १९ लाख ६० हजार डलर खन्याएको थियो । गत सातामात्र उनी भारत साथी इंग्ल्यान्डका जोस बटलरसँगै आइपुगे । त्यसलगतै उनले टीट गरेका छन्, ‘कसैले बेन स्टोक्स र जोस बटलर कहाँ छन् भनेर सोधेछन् भने भनिदिनु उनीहरू घर फर्केका छन् ।’

महेन्द्रसिंह धोनी (चेन्नई सुपर किंग्स)

गत वर्ष महेन्द्रसिंह धोनीले चेन्नई सुपर किंग्सलाई तेस्रोपल्ट आईपीएल उपाधि दिलाए । उनी कहिल्यै बुढा नहुने खेलाडी देखिएका छन् । यस क्रममा उनले धेरै आलोचकलाई निराश पारे । टिममा उनीसँगै शेन वाट्सन थिए । दुवै ३६ वर्षका थिए त्यति बेला । दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस ३३ वर्षका ।

धोनी फेरि एकपल्ट कप्तान कुल साबित भए । सम्भावित संन्यासको कुरा चलिरहेका बेला धोनीले टिमलाई फेरि एकपल्ट सफलताको स्वाद चखाए । हुनसक्छ, यी ३७ वर्षीय विकेटकिपर/ब्याट्सम्यानका लागि यो अन्तिम आईपीएल । त्यसैले उनी आफ्नो छाप छोड्न चाहन्छन् ।

रशिद खान (सनराइजर्स हैदराबाद)

रशिद खान हुन्, अफगानिस्तानका स्पिन सनसनी । सनराइजर्स हैदरबादका लागि उनी एकपल्ट फेरि आफ्नो चुनौती पेस गर्दै छन् । सबैको नजर हुनेछ उनमा । टिमले उनका लागि ९ करोड भारुमात्र तिरेको थियो, त्यसका लागि उनले २१ विकेट लिए । टिम दोस्रो स्थानमा रह्यो । उनी भर्खर २० वर्षका भए ।

विश्व टान्टी–२० क्रिकेटमा उनको खुबै माग छ । अझै युद्धकै स्थितिमा रहेको अफगानिस्तानी क्रिकेटका लागि उनी निकै ठूलो नाम भएका छन् । उनी भन्छन्, ‘आईपीएलमा खेल्दा यसले मलाई यस्तो आत्मविश्वास र खुसी दिन्छ कि त्यसले मलाई आफ्नो देशका लागि पनि उस्तै खेल्न प्रेरित गर्छ ।’

क्रिस गेल (किंग्स इलेभेन पन्जाब)

‘युनिभर्स बोस’ उपनाम पाएका क्रिस गेललाई गत वर्ष किंग्स इलेभेन पन्जाबले अन्तिम समयमा लिएको थियो । जति बेला उनी दोस्रो चरणको लिलामीसम्म पनि बिक्री भएका थिएनन् । यी ३९ वर्षीय ब्याट्सम्यान कसैलाई पनि निराश पारेनन् । टिम मालिकको उनलाई किन्ने निर्णय सही ठहरियो ।

उनले एक शतक र तीन अर्धशतक मदतले ११ खेलमा ३ सय ६८ रन बनाए । उनले यस वर्षकै एकदिवसीय विश्वकपपछि संन्यास लिने बताइसकेका छन् । उनी फेरि यसपल्टको आईपीएलमा पनि राम्रो प्रदर्शन गर्न तयार छन् । उनले भनेका छन्, ‘सबै बलर क्रिस गेलदेखि सतर्क रहनू ।’-कान्तिपुर

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया