चियरलिडर

पवित्रा लामा, दार्जीलिङ


हिप् हिप् हिप् हप् हप्।

चियर् चियर् चियर् अप् ।

लड अनि जित, लड अनि जित

क्रिक क्रिक क्रिकेट, ढल्न नपावोस् विकेट

हिप् हिप् हुर्रे, हिप् हिप् हुर्रे ।

 

यो खेल, जहाँ म सधैं रमाइलो उभेकी हुन्छु

यो मैदान, जहाँ म सधैं फुर्तिलो नाचेकी हुन्छु

यो विज्ञापन, जहाँ म सधैं सधैं हाँसेकी हुन्छु

यो बजार, जहाँ म सधैं लड्दै बाँचेकी हुन्छु।

 

यो देश, जहाँ जन-गण-मनको

साझा धर्म भन्नु नै हो क्रिकेट,

साझा उत्सव भन्नु नै आइपीएल र टी ट्वेन्टी

अनि साझा भगवान् भन्नु नै हुन्छन् क्रिकेटर,

म हर चौका र छक्काको मौका पारी

घुमाउँछु मेरो जादुई पम पम छडी

अनि करोडौंलाई बनाउँछु मदहोश

 

कि ब्याटभन्दा बढी मेरो खुल्ला तिघ्रा ताक्ने

तिम्रा भोका आँखाहरूले मनग्गे हेरोस्

मेरो टम्बल, मेरो स्टन्ट, मेरो फ्लर्ट,

नाममात्रको मेरो पारदर्शी स्कर्ट

अनवरत् सीटी र ताली बजाओस्

अनि आधा रातमा स्टेडियमको ग्यालेरीबाट

निस्कन्दै गरेको जनसमुद्रले

तिम्रो कर्पोरेट खेललाई फुरूक्क पारोस्

अनि हुरुक्क भई भनिदिओस्

पैसा वसूल

 

दर्शनीय हर अङ्ग स्पन्दित गर्दै

म गर्नेछु उन्मादको अथक नृत्य

कि तिम्रो जिब्रोले लिन पाओस्

निवेशित फलको मिठो स्वाद

अनि रनहरूको पिरामिडमाथि

कि तिम्रो थकानले निर्धक्क भई

निदाउन पाओस् चक्रवर्ती सम्राटको निद्रा ।

 

गल्लीदेखि भिआइपी बक्ससम्म

स्टेडियमदेखि सट्टाबजारसम्म

व्यवस्थादेखि सेन्सेक्ससम्म

अनि मिडियादेखि मस्तिष्कसम्म

जहाँ कर्पोरेटहरू अनि बस कर्पोरेटहरूको

सञ्जाल रहेको छ

जञ्जाल रहेको छ

म नाँचुला मायावी तालमा

म उफ्रुँला हर हालमा

बन्दै सेक्स अब्जेक्ट

जसरी नाँच्छन् बन्दी नदीका लहर, बाँधको इशारामा

अनि तेस्रो विश्वका गुलाम देशहरू, मालिक देशको हन्टरमा ।

 

मलाई थाह छैन त्यो स्टम्पको उँचाइ कति छ

मलाई थाह छैन त्यो बलको गोलाइ कति छ

तर थाहा छ मलाई भोको पेटको गणित

बिरामी बाबाको प्राणदायी औषधिको मूल्य

अनि बेरोजगार भाइको अवसादको पीडा।

 

मलाई थाह छैन तिमीले स्टम्पको एउटा स्टिक ढाल्दा

विश्वशान्तिमा कुन पर्चम फहराउँछौ

मलाई थाह छैन तिमीले बललाई बाउण्ड्री कटाउँदा

मानवताको लागि कुन पुण्य काम गर्छौ

मलाई थाह छैन तिमीले स्टम्पिङ गर्दा

कुन गरीबको पेट भर्छौ

वा तिम्रो ब्याटले शतक बनाउँदा

कुन देशलाई युद्धमुक्त बनाउँछौ

तर मैले देखाउनु छ यस घडी

यस ब्रह्माण्डमा तिमीभन्दा

महान अरू कोही छैन।

 

मैले बताउनुछ सारा दर्शकलाई,

टेलिभिजनमा गढेका आँखाहरूलाई

सेन्सेक्सको उक्लँदो सूचकाङ्कलाई

अनि कर्पोरेट नीलामकर्तालाई

कि तिमीभन्दा

अनि तिमीभन्दा महान कोही छैन।

 

 

तिमी छौ र नै त म छु

हामीबीच अटूट साइनो छ भोकको,

यो भोकले मान्छेलाई कहाँ कहाँ पुऱ्याउँदो रहेछ

समुद्र तराउँदो रहेछ

बादलपारि उडाउँदो रहेछ,

मान्छेलाई अमान्छे अनि

कहिले आदमखोर पनि बनाउँदो रहेछ ।

नामको भोक, कामको भोक, सत्ताको भोक

पेटको भोक, अझ भोककै भोक।

 

म जान्दछु यहाँ बोल्नु भनेको गाब्रियाला हुनु हो

मलाई थाहा छ विद्रोही बन्नु यहाँ भोको हुनु हो

म जान्दछु यहाँ बिसाउनु भनेको बेरोजगार हुनु हो

मलाई थाहा छ यौवन ढल्नु भनेको दुई कौडीको हुनु हो

 

हिप् हिप् हिप् हप् हप्।

चियर् चियर् चियर् अप् ।

लड अनि जित, लड अनि जित

यो दुनियाँमा हार्नेलाई रत्तिभर ठाउँ छैन

यो खेलमा बिसाउनेको कहीँ कुनै नाउँ छैन

क्रिक क्रिक क्रिकेट, ढल्न नपावोस् विकेट

हिप हिप हुर्रे, हिप हिप हुर्रे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares