प्रथम वार्षिक कालेबुङ जिल्ला पुस्तक मेला समापन

कालेबुङ, 23 मार्च: कालेबुङ जिल्ला पुस्तक मेला समितिको आयोजनामा गत 22 मार्चदेखि  सम्पन्न प्रथम वार्षिक कालेबुङ जिल्ला पुस्तक मेला आज समापन भएको छ। यहाँको रामकृष्ण रङ्गमञ्चमा 4 दिने पुस्तक मेला सम्पन्न भइरहेको थियो।

मेलामा नेपाली, हिन्दी, अङ्ग्रेजी आदि भाषाका पुस्तकहरूसितै विभिन्न चित्रकारहरूद्वारा कोरिएका चित्रहरू प्रदर्शन एवं बिक्रीमा राखिएको थियो।

मेलामा लगभग 20 वटा बुक स्टलहरू राखिएको थियो भने मेलाअवधि स्थानीय विभिन्न स्कूलका विद्यार्थीहरूको विशेष सहभागिता थियो।मेलाअवधि विद्यार्थीहरूलाई केन्द्र गरेर नाटक, पत्रकारिता, पुस्तक पठन संस्कृति, नेपाली सङ्गीत आदि विविध विषयमा बहस अनि सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।

जिल्ला पुस्तकालय अधिकारी अमृत सुब्बाका अनुसार विशेष गरी पुस्तकालयको प्रचार-प्रसारसितै पुस्तकालय अनि विद्यार्थीहरूमाझको दुरीलाई मेटाउन वर्षैपछि यसप्रकारका कार्यक्रम आयोजना गरिने गरेको छ।

मेलाको मूल उद्देश्य नै विद्यार्थीहरूको पठन संस्कृति विकास गर्नु रहेको भएपनि यसपल्ट चुनाउ आचार संहिताको कारण धेरैवटा कार्यक्रमहरू गर्न नसकेको पनि उनले बताए। यद्यपि मेला सफलतापूर्वक सम्पन्न हुनसकेको अनि आज विविध कार्यक्रमहरूसितै मेला समापन गरिएको उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया