गोरामुमो नेताको पक्राउपछि खैलाबैला : मलाई झुटो मुद्दामा पक्राउ गरिएको छ- जेबी तामाङ

हामीले निम्नत्तम रोजगार अधिनियम लागू हुनुपर्छ भन्दै जोइन्ट फोरम मिलेर श्रमिकको हितमा काम गरेका हौं,’ उनले भने, ‘ हामी गरीबका लागि लडिरहेका हौं। गरीबहरूमाथि मात्र किन अन्याय र अत्याचार हुन्छ? गरीबलाई मात्र किन हेपिन्छ? कानुनले पनि हामीलाई नै सताउने, प्रबन्धन पक्षले पनि हामीलाई सताउने अनि सरकारले पनि हामीलाई सताउने? हामीले बन्द रहेका ऋषिहाट, धोत्रे चियाबारीको प्रबन्धन पक्षको नाममा एफआईआर गरेका छौं, उनीहरुलाई पनि पक्राउ गरिएको हुनुपर्छ।’


खरसाङ, 24 मार्च


गोरामुमो समर्थित श्रमिक सङ्गठन एचपीडब्लुयु सभापति एंव जोइन्ट फोरमका मुख्य नेता जेबी तामाङलाई पुलिसले पक्राउ गरेको छ। उनलाई आज राती 2 बजेतिर आफ्नै वासस्थान पुसुम्बिङ चियाबारीबाट पक्राउ गरिएको हो।

आफ्ना नेतालाई पुलिसले पक्राउ गरेको थाहा पाएलगत्तै गोरामुमो समर्थकहरू अनि चियाबारी क्षेत्रका जनताहरू  जोरबङ्गलो थानामा भेला भएर जेबी तामाङको पक्राउको विरोध गर्दै रिहाई माग गरिरहेका छन्।

जेबी तामाङलाई नक्सलबारीमा 7 अगस्त 2018 को दिन दिएको वक्तव्यको केशमा पक्राउ गरिएको बताइएको छ। उनलाई आज बिहान नै जोरबङ्गलो थानाबाट सिलगढ़ी कोर्ट पठाइएको छ। यस विषयमा पत्रकारहरूसित बोल्दै गोरामुमो खरसाङ महकुमाको प्रचार प्रसार सचिव भुपेन गुरुङले भने, ‘यसपालीको लोकसभा चुनाउमा हामीले तृणमूलसित गठबन्धन नगरेको कारण यसरी गोरामुमो नेतृत्त्वमाथि दुःख दिएको हो।  जेबी तामाङमाथि नक्सलबारीको केश जुन लगाइएको छ, जहाँ तामाङले भाषण दिएकै थिएनन्।’

अर्कोतिर सिलगढी लान अघि गोरामुमो नेता जेबी तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै आफुलाई झुटो केश लाएर पक्राउ गरी श्रमिकहरूका आवाज दबाउन खोजिएको बताए। ‘हामीले निम्नत्तम रोजगार अधिनियम लागू हुनुपर्छ भन्दै जोइन्ट फोरम मिलेर श्रमिकको हितमा काम गरेका हौं,’ उनले भने, ‘ हामी गरीबका लागि लडिरहेका हौं। गरीबहरूमाथि मात्र किन अन्याय र अत्याचार हुन्छ? गरीबलाई मात्र किन हेपिन्छ? कानुनले पनि हामीलाई नै सताउने, प्रबन्धन पक्षले पनि हामीलाई सताउने अनि सरकारले पनि हामीलाई सताउने?’

उनले राज्य सरकारको प्रशासनले नेतालाई मात्र होइन श्रमिकलाई विचल्नी पारेर भाग्ने मालिक र प्रबन्धन पक्षलाई पनि पक्राउ गरिएको हुनुपर्ने बताए।

‘हामीले बन्द रहेका ऋषिहाट, धोत्रे चियाबारीको प्रबन्धन पक्षको नाममा एफआईआर गरेका छौं,’ उनले भने,  ‘उनीहरुलाई पनि पक्राउ गरिएको हुनुपर्छ।’

जेबी तामाङलाई सिलगढी लाने समय धेरैजना रोइरहेको पनि देखियो भने उनको पक्राउमा गोरामुमो खेमामा धेरै असन्तुष्टि देखिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया