भाजपालाई भोट दिनुको एउटा कारण बताउनुहोस्-अनीत थापा

कालेबुङ, 24 मार्च: दार्जीलिङका जनताले कुनै पनि अवस्थामा भाजपालाई भोट दिने आधार नरहेको गोजमुमो उपाध्यक्ष अनीत थापाले दावी गरेका छन्। आज कालेबुङ आइपुगेका थापाले पत्रकारहरूसित कुराकानी गर्दै भाजपाले 10 वर्षसम्म पहाड हितका निम्ति कुनै पनि काम नगरेको भन्दै तृणमूललाई मन नरपाउने मानिसहरूले समेत भाजपलाई भोट नगर्ने दावी गरेका छन्।

‘हेभिवेट त के जो नै दिएपनि हामीलाई मन नरपाउने मानिसहरूले पनि भाजपालाई भोट दिँदैनन्’-थापाले भने, ‘किनभने उनीहरूले पनि 10 वर्षसम्म समस्या भोगेका छन्।’

अनीत थापाले मानिलिएका छन्, पहिलो पाँच वर्षमा भाजपाको सरकार थिएन। तर बितेको 5 वर्ष भाजपा नै सरकारमा बस्यो। भाजपालाई दार्जीलिङका जनताले जितेर पठाएपनि अलग राज्य त परको कुरा त्यत्रो आन्दोलन हुँदासमेत भाजपाले आश्वासन समेत दिएन।

‘भाजपाले 10 वर्ष त्यसै बितायो’-थापाले भने, ‘भाजपालाई भोट दिनुको एउटा कारण बताउनुहोस्।’

थापा अनुसार, उनीहरू अलग राज्यको विरूद्धमा छैनन्। मुख्यमन्त्रीले दार्जीलिङको चौरस्ताबाट नै गोर्खाहरूको चिह्नारी अनि सुरक्षाको निम्ति बोलिदिने बचन दिएकोले उनी मुख्यमन्त्रीसित प्रेरित भएका हुन्। अहिलेसम्म कुनै पनि मुख्यमन्त्रीले गोर्खाहरूको चिह्नारीको निम्ति बोलिदिन्छु भनेका थिएनन्। यसैले पहाडले अहिलेसम्म अरूलाई धेरै मौका दिएको अनि यसपल्ट तृणमूललाई मौका दिन आह्वान गरेका छन्।

‘डेढ वर्षको अन्तरालमा मुख्यमन्त्रीले हामीलाई जति बचन दिएकी थिइन् सबै पूरा गर्दै आएकी छन्’-थापाले भने, ‘हामीले यत्रो वर्षसम्म अरूलाई मौका दियौँ एकपल्ट तृणमूललाई मौका किन नदिने?’

उनले विमल गुरुङको नाम उल्लेख नगरी पहिला विमल गुरुङहरूले राज्यसित मिलेर काम गर्दा जाति विरोधी नभएको अनि आफूहरूले अहिले राज्यसित मिलेर काम गर्नखोज्दा जाति विरोधी भन्नेगरेकोमा पनि आपत्ति जनाए।

‘हामी खुल्ला रूपमा राज्यसित मिलेर काम गर्छौँ भन्दैछौँ’-थापाले भने, ‘गोर्खाहरूलाई उन्मुक्ति गर्नका निम्ति हामीले योबाहेक अर्को उपाय देखेनौँ।’ उनले यसपल्ट मोर्चाले तृणमूल कङ्ग्रेससित गठबन्धन गरेको अनि यसै गठबन्धनलाई नै विश्वास राखेर अघि बढ्ने बताए।

आज कालेबुङ आइपुगेका थापाले लोकसभा चुनाउलाई केन्द्र गर्दै पार्टीका नेतृत्वहरूसित अन्तक्रिया गर्न कालेबुङ आएको बताए। थापाकै उपस्थितिमा आज याहँको साद्दोबाटोमा अवस्थित 35 नम्बर बोङ-दुर्पिन समष्टिको चुनाउ कार्यालयको पनि उद्घाटन गरियो।  मोर्चा कालेबुङ जिल्ला समितिका सचिव गायत्री मुखियाको बाहुलीबाट कार्यालय उद्घाटन गरेपछि जिल्ला प्रवक्ता भवन खनालले चुनाउअवधिका निम्ति अस्थायी रूपमा समष्टि कार्यालय खोलिएको अवगत  गराए।

यस क्रममा थापाले कालेबुङका नेतृत्वहरूमाथि पार्टीको ठूलो विश्वास रहेको अनि यहाँका नेतृत्वहरूले राम्रो परिणाम दिनेकुरामा पनि आफू आश्वस्त रहेको बताए। कालेबुङमा जुन प्रकारले विकासको गति अघि बढिरहेको छ त्यसैलाई निरन्तता दिन पनि कालेबुङले अमरसिंह राईलाई जिताउन जरूरी रहेको पनि थापाले बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया