क्रामाकपाले राजुलाई गरेन समर्थन: भन्यो- ‘राजु अनुभवहिन छन्, आरबी राई नै अनुभवी छन्’

अब आर. बी. राईलाई उम्मेदवार बनाएर चुनाउमा जानुबाहेक क्रामाकपासित अर्को विकल्प छैन,’ क्रामाकपाले भनेको छ, ‘आर. बी. राईले दार्जीलिङ संसदीय क्षेत्रका उम्मेदवारको रूपमा भोलि आफ्नो नामाङ्कन भर्नेछन्।’


दार्जीलिङ, 24 मार्च


क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले गोजमुमो-गोरामुमो समर्थिक भाजपा उम्मेदवारलाई ‘अनुभवहिन उम्मेदवार’-को संज्ञा दिएको छ। क्रामाकपाको मिडियासेलले विज्ञप्ति जारी गर्दा भनेको छ, ‘अब भाजपाप्रति विश्वास रहेन। दार्जीलिङभरि योग्य गोर्खा व्यक्तित्वहरू हुँदा-हुँदै एउटा राजनैतिक अनुभवहीन भएको व्यक्तिलाई अघि सारिनु भनेको भाजपा गठबन्धनको हामी गोर्खाहरूप्रतिको हेलचेक्राइ हो।’

क्रामाकपाले दार्जीलिङ सिटको लागि सही उम्मेदवार आरबी राई नै रहेको जिकिर गरेको छ। यद्धपि भाजपाले योग्य गोर्खा उम्मेदवार दिने हो कि भन्ने प्रतीक्षा भने क्रामाकपाले गरेको थियो। तर भाजपाको उम्मेदवार क्रामाकपालाई दमदार लागेन।

‘अब आर. बी. राईलाई उम्मेदवार बनाएर चुनाउमा जानुबाहेक क्रामाकपासित अर्को विकल्प छैन,’ क्रामाकपाले भनेको छ, ‘आर. बी. राईले दार्जीलिङ संसदीय क्षेत्रका उम्मेदवारको रूपमा भोलि आफ्नो नामाङ्कन भर्नेछन्।’

क्रामाकपाअनुसार राज्यसत्ताको सम्पूर्ण शक्ति लगाएर गोर्खाहरूको आवाजलाई निर्ममतापूर्वक दबाउने तृणमूल पार्टी अनि भारतीय गोर्खाहरूलाई बारम्बार धोका दिएर हाम्रो विश्वासमाथि खेलबाड गर्ने भारतीय जनता पार्टीका उम्मेदवारहरूविरुद्ध अब क्र्माकपा लड्नेछ।

‘हामीले गोर्खाल्याण्ड मुद्दाका इमान्दार सिपाही आर. बी. राईको पक्षमा आफ्नो बहुमूल्य मतदान गरेर गोर्खाल्याण्डप्रेमी जनताको परिचय दिनुछ,’ क्रामाकपाले भनेको छ, ‘बैमानलाई धेरैपल्ट सघायौँ, अब एकपल्ट इमान्दारलाई सघाएर हाम्रो असली सङ्ग्रामको सुरुवात त्यहीँ बिन्दुबाट गर्नुछ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया