एक दिन

नयाँ पुस्ताकविता


पल्लवी सिङ्घक


1.
एक दिन उसले भन्यो-
“रातो साड़ी,
पहेंलो सुन,
मुगाको माला
अनि चामल र नुन।
कत्ति लभ मात्र परि रहनु ???”

“हैट,
पर्ख अलिक दिन
कविता लेखिहाल्छु…”
मैले पनि भनि दिएँ ….


2.
एक दिन
सबै भात खानलाई गए।

भोलि पल्ट मञ्चमा थियो
मात्र नाटक।

भोक लागेको मान्छेलाई
भोक हड़तालमा राख्दा,
उसले नाटक नै त गर्छ हैन ?

भोक लागेर नलागेको नाटक ।
भोक नलागि भोक लागेको नाटक ।
भोक लाग्दै फेरी भोकै लागेको नाटक ।

पर्सि चाही नाटकले
पत्ति टिप्दै थियो,
“मेरो बाजेलाई” भन्दै उसले चियाको पात
मेचीमा चोब्दै थियो ।

एक दिन मेची
उल्टो बग्दै थियो ।


3.
एक दिन
उ जन्मियो
अनि प्लास्टिकको झोलाबाट निकालेर
प्लास्टिककै फुल रोप्यो।

त्यो दिन
सहरले नाक छोप्यो
भमराहरू उड़िगए
उसले आफ्नो जात फेऱ्यो।

ताराहरूले हेरिरहे
पृथिवीको ‘अन्तिम मान्छे’ उ नै थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन