दार्जीलिङको स्थायी समाधान खोज्दै माकपा:साझा सहमति हुन नसक्नु ठूलो दुर्भाग्य-समन पाठक

कालेबुङ, 28 मार्च: ‘हामी सहमतिमा आउन चाहन्थ्यौँ। हामीले साझा उम्मेद्वारको निम्ति धेरै प्रयास गऱ्यौँ। क्षेत्रीय दलहरूले एकबद्ध भएर साझा उम्मेद्वार दिन्छन् अनि सर्वसमम्तिको उम्मेद्वारलाई हामीले सहयोग गरेर एउटा ठूलो शक्तिको रूपमा मञ्च खडा गर्ने प्रचेष्टामा थियौँ। धेरैदिन हामीले पर्खियौँ साथीहरू सहमतिमा आउन सकेनन्। यो ठूलो दुर्भाग्य हो।’

मार्क्सवादी कम्यूनिष्ट पार्टी(माकपा) का दार्जीलिङ लोकसभा समष्टिका उममेद्वार समन पाठकले उपरोक्त बयान दिएका हुन्। लोकसभा चुनाउलाई केन्द्र गर्दै कार्यकर्ताहरूसित भेट गर्न कालेबुङ आएका पाठकले पत्रकारहरूसित कुराकानी गर्दै साझा उम्मेद्वारको निम्ति सहमति नबनेपछि माकपा ढिलो गरी मैदानमा ओर्लनपरेको बताए। उनले साझा उम्मेद्वारिताको पहल गर्ने दलहरू खुजरा स्वार्थमा लागिपरेको कारण नै सहमति बन्न नसकेको आरोप लगाए।

‘मानिसहरूभित्र गैर भाजपा अनि गैर तृणमूलको विद्रोह छ’-पाठकले भने, ‘मानिसहरूको यो आक्रोशलाई सही मञ्च दिनुपर्छ भनेर हामी बामपन्थीहरू एक भएका छौँ।’

माकपाले यसपल्ट गणतन्त्र बहालीलाई एक नम्बर मुद्दा बनाएको छ। यसबाहेक पहाडको राजनैतिक समस्या घरिघरि बल्झिरहने भएका कारण दार्जीलिङ पहाडको स्थायी संवैधानिक व्यवस्था हुनुपर्ने माग छ।

‘त्यो स्थायी संवैधानिक व्यवस्था 1985 मा आनन्द पाठकले पेश गरेको बिल अथवा 2005 को संशोधित छैटौँ अनुसूचि पनि हुनसक्छ’-पाठकले भने, ‘छैटौँ अनूसूचि फ्लेक्सिबल छ, संशोधन गर्ने व्यवस्था पनि छ। दार्जीलिङको स्थायी राजनैतिक समाधानको निम्ति संवैधानिक ग्यारेन्टी भएको स्वायत्ताको उच्चतम व्यवस्था हुनुपर्छ।’

यसका अतिरिक्त माकपाले चिया बगान, सिन्कोना बगान एवं बनबस्तीबासीको जमीनको अधिकारको माग, यहाँका कृषकहरूको फसलको उचित मूल्य एवं सरकारद्वारा बजार व्यवस्थापनको माग, भाषिक अल्पसंख्यकको माग आदिलाई प्रमुख चुनावी मुद्दा बनाएको छ। माकपाले निर्वाचन सम्बन्धी यही कर्मसूचि लिएर जनतासमक्ष जाने तय गरेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन