आरबी राईले फिर्ता लिए उम्मेद्वारी: देखाए यस्तो कारण

दार्जीलिङ, 29 मार्च:  क्रामाकपा अध्यक्ष आरबी राईले अन्तत: चुनाउ नलड्ने निर्णय गरेका छन्। आज उनले आफ्नो नामाङ्कन पत्र फिर्ता लिए। क्रामाकपा चुनाउ कमिटी संयोजक गोविन छेत्रीले एउटा प्रेस विज्ञप्ति जारी गरेर यसको पुष्टी गर्दै चुनाउमा प्रतिद्वन्तिता नगर्नुको कारण बताएका छन्।

‘राज्यको दमन, पीडन, जेल-नेलको पीडा खप्नु परेको जातीय एकिकरण हुनको साटो खण्डित विखण्डित भइरहेको अवस्थामा शोषण विरूद्ध एकबद्ध हुन साझा उम्मेद्वारको भरमग्दुर प्रयास गरेबापत राजनैतिक स्वार्थ र अहंकारको कारण एकता बन्न सकेन’-क्रामाकपाले विज्ञप्तिमा भनेको छ, ‘त्यसैले क्रामाकपाले पार्टी अध्यक्ष गोर्खा राजनीतिका भीष्म पितामह, भाषा प्राप्तिका अग्रणी नेता आरबी राईलाई उममेद्वार घोषणा गरेपनि साझा सहमति बने उम्मेद्वारिता फिर्ता लिने घोषणा गरेको थियो। तर विडम्बना सहमति हुन सकेन। त्यसर्थ त्याग, तपस्या र इमान्दार राजनीतिका प्रतीक आरबी राईलाई यो खण्डित जनमत हुने खेलमा उतार्न अनुचित ठानेर जातीय हित, एकता यस ऐतिहासिक कालखण्डमा 17 औँ लोकसभा चुनाउबाट उम्मेद्वारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन बाध्य भएको छ।’

क्रामाकपाले उम्मेद्वारी फिर्ता लिएपनि कुन दललाई  समर्थन गर्छ भन्नेकुरा स्पष्ट गरेको छैन। जातिको राष्ट्रिय चिह्नारी र सुरक्षाको सवाललाई भरपर्दो प्रतिबद्धता नपाउञ्जेल कुन दललाई समर्थन गर्ने भन्ने निर्णय थाँतीमा राख्दै दुई-तीन दिनभित्र निर्णय गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन