पहिलो नेपाली फेलो साहित्यकार असीत राईको निधन

खरसाङ, 30 मार्च: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार तथा पहिलो नेपाली फेलो साहित्यकार असीत राईको 76 वर्षको उमेरमा निधन भएको छ। उनको निधन खरसाङको महनदीस्थित घरमै शुक्रबार राती 10 बजेर 40 मिनटमा भएको अनि अन्तिम संस्कार आईतबार गरिने बुहारी सुष्मा राईले जनाएकी छन्। साहित्यकार राईको निधनसितै भारतीय नेपाली साहित्यमा एउटा कालखण्डको अन्त्य भएको छ। उनी विगत दिसम्बर 2017 देखि प्रेसरले स्ट्रोक  भएको कारण प्यारालाइज भएर ओछ्यानमा थिए। उनी विगत एक वर्षभन्दा बेसी समयदेखि प्यारालाइज साथै मुटु रोग, मधुमेह, किडनीको समस्या,  युरिक एसिड, थाईराइड जस्ता रोगहरूसित जुझ्दै थिए। तिनको निधनमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको संयोजक डा जीवन नामदुङले गहिरो शोक प्रकट गर्दै असीत राई  सरल र सोझो व्यक्ति रहेको अनि समाज ,जाति र देशको लागि महत्त्वपूर्ण सेवा गरेको बताए।

उनले असीत राई अत्याचार विरूध्द लड़ने निर्भिक व्यक्ति रहेको बताउँदै उनी मामूली व्यक्ति मात्र नभएर विराट कालखण्डको नाम रहेको पनि बताए। साहित्यकार असीत राई नर्थ ईस्ट क्षेत्रकै भाषाहरू मणिपुरी, सन्ताली, बङ्गाली,  बोडो लगायत अन्य भाषाहरूमध्ये उनी साहित्य अकादमीको  एकजना मात्र महत्तर सदस्य रहेको पनि बताए। असीत राईको निधनसितै अकादमीद्वारा राईटर्स इन रेसिडेन्स नामक प्रकल्प अनुसार 1500 पृष्ठको “भारतीय नेपाली साहित्यको इतिहास” पनि अधुरै रहेको उनले जनाएका छन्। उनको नाममा अकादमीबाट 32 मिनटको डकुमेन्ट्री फिल्म पनि निर्माण गरिएको छ।

साहित्यकार असीत राई सन् 1943 सालमा महानदी तीनधारे समष्टी अन्तर्गत जंगपाना चियाबारीमा जन्मेका थिए। उनले सन् 1959 मा पहिल कविता पश्चिम बंगाल पत्रिकामा प्रकाशित गराएका थिए। त्यसपछि उनले जम्मा 35 वटा जति कृतिहरू नेपाली साहित्यमा दिइसकेका थिए भने उनको  “नयाँ क्षितिजको खोज” नामक उपन्यास कृतिको लागि सन् 1981 को साहित्य अकादमी पुरस्कार पनि प्राप्त भएको थियो। उनले अकादमीबाहेक पनि दागोपापद्वारा लाईफ टाईम एचिममेन्ट एवार्ड, जीटीएद्वारा गिरी पुरस्कार, नेपालबाट स्वर्ण पदक, राष्ट्रिय शिक्षक पुरस्कार, सिक्किम एप्रिसिएशन ग्राण्ट लगायत अन्य धेरै सम्मानहरू प्राप्त गरिसकेका छन्। उनले साहित्य अकादमीबाट 2012 सालमै फेलो सम्मान वा अकादमीको महत्तर सदस्यता प्राप्त गरिसकेका थिए जुन भारतीय नेपाली साहित्यमा प्रथम हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया