अमीत शाहको बयानको विरोध: विनय तामाङले भने, ‘बङ्गालमा एनआरसी लागु भए गोर्खाहरूलाई पनि मेची पारी पुऱ्याउँछ’

कालेबुङ, 30 मार्च: ‘यदि बङ्गालमा एनआरसी लागु भयो भने पहाडमा 80 प्रतिशत जनताको जमीनको मालिकाना हक छैन। हामीलाई पनि मेची पारी पुऱ्याउँछ।’

उपरोक्त कुरा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले भनेका हुन्। भाजपा केन्द्रिय अध्यक्ष अमीत शाहले अलिपुरद्वारबाट यदि बाजपा सरकारमा आएको खण्डमा पश्चिम बङ्गालमा एनआरसी लागु गर्ने बयान दिएपछि यसको विरोध गर्दै विनय तामाङले शाहको बयानप्रति आपत्ति जनाएका हुन्।

‘भूटानमा एनआरसी जस्तै एउटा कानुन बनिँदा त्यहाँका गोर्खाहरूलाई नेपालको मेची पुऱ्याइएको थियो’-तामाङले भने, ‘यदि एनआरसी लागु भयो भने गोर्खा आदिवासीहरूलाई पनि यसको पूर्ण असर पर्छ। किनभने चिया बगान, सिन्कोना बगान, डीआई फण्ड, लिज ल्याण्ड, फरेस्ट भिलेजर्सको आफ्नो जमीनको मालिकाना अधिकार छैन।’

तामाङले भने अनुसार एनआरसीविरूद्ध असम मेघालय एवं उत्तरपर्विय राज्यहरूमा पहिलेबाटै विरोध भइसकेको छ। आसाममा 25 लाख गोर्खाहरूमध्ये 2 लाख गोर्खाहरूको नाम काटिने अनि उनीहरूलाई खेदुवा लगाउने स्थिति छ। अमीत शाहको बयान अनुसार यदि पश्चिम बङ्गालमा पनि एनआरसी लागु गरिएको खण्डमा गोर्खा आदिवासीहरूमा यसको ठूलो प्रभाव पर्ने विनय तामाङको बुझाइ हो।

‘गोर्खा आदिवासी अनि भूमिहिनहरूको तर्फबाट अमीत शाहको बयानको गोर विरोध अनि भर्त्सना जनाउँछौँ’-तामाङले भने, ‘यस विषयलाई लिएर पश्चिम बङ्गाल सरकारसमक्ष पनि हामी कुरा गर्नेछौँ।’

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पहिलेबाट नै एनआरसीको विरोध गरिरहेकीले गोजमुमोले उनको हात अझ बलियो पार्ने अनि थप बल दिने तामाङले बताए।

‘यदि भोली एनआरसी लागु भएर भूमिहिन जनतालाई खेदो गर्छ भने भाजपालाई सघाउने गोरामुमो, विमल गुरुङ अनि रोशन गिरीहरू यसको जिम्मेवार हुनुपर्छ’-तामाङले भने, ‘यदि तेस्रो मोर्चाले सरकार गठन गरेमात्र हामी सेफ छौँ।’ उनले एनआरसी विषयमा भाजपासित गठबन्धनमा रहेका दलहरूको स्पष्टिकरण मागेका छन्।

उनले पहाडमा अमरसिंह राईलाई जिताएर पठाएको खण्डमा बङ्गालका अन्य तृणमूल सासंदहरूसित मिलेर संयुक्त रूपमा संसदमा एनआरसीको विरोध गर्दा आवाज अझ बुलन्द हुने पनि दावी गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन