एसकेएमका मुख्यमन्त्री उम्मेदवार आदित्य गोले हुन् कि कुङ्गा निमा लेप्चाः उगेन टी ग्याछो

गान्तोक,1 अप्रेलः चुनाउ जति नजिकिँदै जाँदैछ, त्यति नै एसडीएफ उम्मेदवारहरूले आफ्ना चुनाउ प्रचार अभियानलाई तीव्र बनाएका छन्। यसै क्रममा आज तुमिन-लिङ्गी क्षेत्रका एसडीएफ उम्मेदवार उगेन टी ग्याछो भोटियाले समष्टिको धानबारी र मिडल तुमिन वार्डमा चुनावी सभाहरू गरे।
धानबारी वार्डमा उगेन टी ग्याछो भोटियाले पार्टीको चुनाउ प्रचार कार्यालयको पनि उद्घाटन गरे। दुईवटै वार्डमा सभालाई सम्बोधन गर्दै  भोटियाले भने,“सिक्किममा पवन चामलिङको नेतृत्वमा एसडीएफ पार्टीले छैटौंपटकको निम्ति सरकार बनाउने निश्चित छ। हाम्रा नेता पवन चामलिङ हुन् र उनी नै हाम्रा मुख्यमन्त्री उम्मेदवार हुन्। यसमा कुनै दुईमत छैन, तर एसकेएम पार्टीले उनीहरूका मुख्यमन्त्रीको उम्मेदवार को हो? स्पष्ट पार्नुपर्छ। एसकेएमका मुख्यमन्त्री उम्मेदवार आदित्य गोले हुन् कि कुङ्गा निमा लेप्चा हुन्? एसकेएमले सिक्किमे जनतालाई बताउनुपर्छ।” उनले अझ भने,“एसकेएमका प्रवक्ता जेकब खालिङले 2 फरवरीको दिन पत्रकार सम्मेलन गरेर पीएस गोले चुनाउ लड्न पाउने बताएका थिए। त्यस समय दुईजना सिकारू वकील छेउमा राखेर उनी बोलेका थिए। तर, हामीले स्पष्टसँग भनेका थियौं-पीएस गोले चुनाउ लड्न पाउँदैनन्। आज उनी चुनाउ लड्न पाएनन्। सिक्किमे जनतामा भ्रम सिर्जना गर्न पीएस गोलेलाई मुख्यमन्त्रीका उम्मेदवार भनेर एसकेएमले प्रचार गर्दैछ। जो व्यक्ति चुनाउ नै लड्न पाउँदैनन्, त्यस्ता व्यक्ति कसरी मुख्यमन्त्री हुन सक्छन्?” “पीएस गोले चुनाउ लडुन् वा नलडुन्, उनी मुख्यमन्त्रीका उम्मेदवार हुन् वा नहोउन्, त्यो हाम्रो सरोकारको विषय होइन, तर सिक्किमे जनतामा गलत सन्देश जानु हुँदैन। त्यो हाम्रो पक्ष हो”,उनले भने। यसै क्रममा उनले एसडीएफ सरकारको कार्यकालमा तुमिन-लिङ्गी क्षेत्रमा भएका विकासमाथि पनि आफ्नो मन्तव्य राखे भने सरकारले आगामी दिनमा यो समष्टिका लागि तयार गरेका विकासमूलक योजनाहरूबारे पनि जनतालाई जानकारी दिएका थिए। दुवै सभामा ठूलो सङ्ख्यामा एसडीएफ समर्थकहरूको उपस्थिति रहेको जनाइएको छ।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया