रतन थौयाम, दयाहाङ, अन्जनदत्तमय बन्यो साङ्ग्रिला दार्जीलिङ लिटफेस्ट : कलाका विभिन्न क्षेत्रमा व्यापक डिस्कोर्स

‘आदिकालदेखि नै नाटकले दमनतन्त्रको विरोध गर्दै आइरहेको छ,’ उनले भने, ‘खराब सिस्टमको पक्षमा नाटकहरू कहीँ लेखिएका छैनन्। सोफोक्लीज, एस्काइलसदेखि लिएर, कालीदास, शूद्रक, हर्ष अथवा शेक्सपियर, इब्सन जो भन्नोस्, सबैले प्रतिरोधी नाटक लेखेका छन्। नाटकले जीवन र समाजका अन्तरविरोधीहरू केलाउँछ।’

सिलगढी, 1 अप्रेल


हस्तीहरूको भीड

साङ्ग्रिला बुक्स इण्डियाले उत्तरबङ्गालमा नै पहिलोपल्ट चारवटा देशका कलाकर्मीहरूलाई समेटेर अन्तराष्ट्रीय साङ्ग्रिला-दार्जीलिङ लिटफेस्ट सम्पन्न गऱ्यो।

भारतका प्रशिद्ध रङकर्मी रतन थैयामदेखि चर्चित बङ्गाली गायक अञ्जन दत्तसम्मले महोत्सवमा उपस्थिति दिएका थिए। अन्तराष्ट्रीय छवि बनाइरहेका भुटानका लेखिका छादोर यङ्मो र बङ्गलादेशका चर्चित कवि जुवैदा अक्तर चौधरी पनि आइपुगेकी थिइन। नेपाली चलचित्रमा आफ्नो फरक र एक्लो परिचय बनाएका नेपालका अभिनेता दयाहाङ राईलाई समेत चिलचित्र र जीवनको वरिपरि रहेर गफिएको देखियो।

नेपाली साहित्यका नामचिन हस्ती शारदा शर्मा नेपाली साहित्यका उत्तरचढाउबारे बोल्न आएकी थिइन।

भर्खर साइड हिरो लिएर बजार आएका नेपालका लेखक ब्रजेश खनाल, सर्रियल लेखनमा नाम कमाएका कुमार नगरकोटी, नयाँ पत्रिकाको झन नयाँ परिशिष्टाङ्कका सम्पादक दीपक सापकोटा, कान्तिपुरका वरिष्ट पत्रकार देवेन्द्र भट्टराई पनि आफ्नो विषयमा बहस गर्न आएका थिए।

वैश्विकरूपले आख्यानमा आफ्नो उपस्थिति दर्ता गरिसकेकी लेखिका सुमना रोयलगायत, उत्तरबङ्गालका चर्चित इतिहासकार सोनाम वोङ्गेल, सिक्किमका कवि गुरु.टी. लद्दाखीको पनि उपस्थिति थियो।

पहिलो दिन साङ्ग्रिला बुक्स इण्डियाको साङ्ग्रिला क्याफेमा नै फेस्टिबलको उद्घाटन गरेको थियो। यही दिन म्युजिक भिडियो, पोयट्री भिडियो, शर्ट फिल्म र फोटोग्राफी फेस्टिबल भयो।

अब नेपाल नै जानु पर्दैन

यसदिन ‘लोकल फिल्मको साह्रोगाह्रो’ भन्ने विषयमा फिल्म निर्देशकहरू अमर रसाइली, अनमोल गुरुङ अनि त्रिवेणी राई गफिए।

फिल्महरू हलदेखि निस्किएर मोबाइलमा सिमित हुने सम्भावना बढेको अमर रसाइलीको कुरा थियो। ‘हलमा बसेर फिल्म हेर्ने परम्परा हराइजाने पो हो कि,’ अमरले भने, ‘अनलाइन फ्लेफर्मले हरेकलाई एक्लै फिल्म हेर्ने सुविधा दिइरहेको छ, यसले हल व्यापारको परम्परालाई खतरामा पार्ने हो कि भन्ने लागेको छ।’

यता अनमोलले भने अब फिल्म बनाउन र खेल्न नेपाल नै पस्नु नपर्ने बताए। फिल्मको निश्चित एउटा भाषा र भूगोल नहुने भन्दै जसले जहाँबाट बनाए पनि राम्रो फिल्म सबैले हेर्ने उनको आशय थियो।

डागापुरस्थित बसुन्धरामा दोस्रो र तेस्रो दिन महोत्सव भयो।

इतिहास, कला र राजनीतिबारे गर्मागर्मी बहस

दोस्रो दिन चर्चित बङ्गाली गायक एवं सिनेकर्मी अञ्जन दत्तको किनोट वक्तव्यबाट कार्यक्रम शुरु भयो।

‘छुट्टै राज्य गोर्खाल्याण्ड राजनैतिक र हिंसात्मक रणनीति दुवैबाट असम्भव छ,’ अञ्जन दत्तले भने, ‘यसको लागि सांस्कृतिक अभ्यास हुनुपर्छ। त्यो सांस्कृतिक अभ्यासको मोडलको नमूना यही लिटफेस्ट हो।’

उनले दार्जीलिङसितको आफ्नो सम्बन्ध जति गाडा छ, त्यति कलकत्तासित नभएको पनि बताए।

‘कलकत्ताले मलाई नेमफेम र पैसा दिन्छ होला,’ उनले भने, ‘तर दार्जीलिङले मलाई मान्छेमा हुनुपर्ने कौसलबारे सिकाउँछ। सम्बन्ध, प्रेम, मानवता, संस्कृति र जीवनको असली स्वादबारे दार्जीलिङले नै मलाई सिकायो।’

यसदिन अङ्ग्रेजी साहित्य सेसनमा टेस्क भर्सेस कन्टेस्ट विषयमा परिमल भट्टचार्य, सुमना रोय र गुरु टी लद्दाखीसित विनोद प्रधान पनि गफिए। यता सोनाम बी वाङ्गेलले दार्जीलिङका अलिखित इतिहास कोट्याए। उनले दार्जीलिङको इतिहास अङ्ग्रेजहरूले लेखेको र उनीहरूलाई पाइक परेअनुसारको इतिहास लेखिएकोले खास दार्जीलिङको अनुहार छोपिएको कुरामा जोर दिए।

भुटानका लेखक छोदर यङ्मो, मुक्ति उपाध्याय अनि शमीर शर्मालाई बेगबसन्त थापाले बाल साहित्य बनाम डिजिटल वर्ल्ड विषयमा भिडाए।  उनीहरूले नेपालीमा बाल साहित्य भनेजस्तो नलेखिएको अनि डिजिटल सतहमासमेत भर्खर पाइला चाल्न थालिएको कुरा स्वीकारे।

यता पारसमणि छेत्रीले लक्ष्मी लिम्बु, सुवासमणि सिंह, राज बासु, खिलानाथ शर्मा लगायतलाई इन्ट्रप्रेन्युरसिपको सङ्कटबारे बोल्न उक्साए। दार्जीलिङका अद्यौगिक सम्भावनाबारे बुझ्ने र लगानी गर्नेहरूको अभाव अझ पनि रहेको उनीहरूको ठहर थियो।

राजनीति र कला, कलाको राजनीतिबारे मुन्नु गौतमले कुमार नगरकोटी, ब्रजेश खनाल, साइराम सागिराजु, पार्थ गुप्त, घिमिरे युवराजबीच बहस चलाए।

उनीहरूले सबै कलामा राजनीति हुनैपर्ने र राजनीति हुन नपर्ने त्यस्तो कुनै अनिवार्य नरहेको यद्धपि कला समाजकै अङ्ग रहेकोले यसले समाजका सरोकारलाई अभिव्यक्त गर्ने आशय प्रकट गरे।

साङ्ग्रीलाका नयाँ पुस्तक र आवरण विमोचन

छोटो समयमा सबैको मनमा बस्न सकेकी लेखिका शैलीका छेत्रीको निबन्ध सङ्ग्रह एक हरफ बाटो-लगायत युवा साहित्य अकादमी पुरस्कार प्राप्त कथाकार सुरज धड्कनको कथा सङ्ग्रह नगाइएको कोरस, गजलकार खुसेन्द्र राईको पहिलो कथा सङ्ग्रह खुर्मी, अर्जुन शर्मा, निरौलाको कविता सङ्ग्रह भाव तरङहरू अनि लीला लुइँटेलको महिला लेखकहरूको इतिहास खोतलिएको भारतीय नेपाली महिला साहित्यकार-नामक पुस्तकको विमोचन गरियो।

यसबीच अरुन्धति रोयको मिनिष्ट्री अफ अटमोस ह्यापिनेशको (राजा पुनियानीद्वारा अनुवाद गरिएको) नेपाली अनुवाद अपार खुशीको कुटुम्ब, लेनाथ छेत्रीले अनुवाद गरेको रवीशकुमारको द फ्री भोइस, मङ्गलेश डबरालको हिन्दी कविता सङ्ग्रह यह नम्बर मौजूद नही, सुदर्शन तामाङको मन्त्रको मन, समीर शर्माको माचिसको आवरण लोकार्पण गरियो। यसै वर्षभित्र यी नयाँ कृतिहरू बजारमा आउने बताइएको छ।

तेस्रो दिन कवि ज्ञानेन्द्र खतिवडाले साङ्ग्रिला दार्जीलिङ लिटफेस्ट र यसको सम्भावनाहरूबारे बोलेर कार्यक्रम अघि बढ्यो।

नाटकको काम नै खराब सिस्टमबारे बोल्नु हो

यसदिन भारतका प्रशिद्ध नाट्यकर्मी रतन थैयाम आकर्षणको केन्द्र बनेको थियो। उनले भारतमा रङकर्मको जुन इतिहास छ, त्यसको निर्माणमा भारतको बहुसंस्कृति र सामाजिक अन्तरविरोधहरूको धेरै लगानी रहेको बताए। उनले एकघन्टा रङकर्म र उत्तरदायित्वबारे बोलेका थिए।

उनले नाटकको मूल नै प्रतिरोध रहेको बताए। ‘आदिकालदेखि नै नाटकले दमनतन्त्रको विरोध गर्दै आइरहेको छ,’ उनले भने, ‘खराब सिस्टमको पक्षमा नाटकहरू कहीँ लेखिएका छैनन्। सोफोक्लीज, एस्काइलसदेखि लिएर, कालीदास, शूद्रक, हर्ष अथवा शेक्सपियर, इब्सन जो भन्नोस्, सबैले प्रतिरोधी नाटक लेखेका छन्। नाटकले जीवन र समाजका अन्तरविरोधीहरू केलाउँछ।’

एक्टर्स हाबी बनेकोले फिल्म ध्वस्त

अर्को आकर्षकको केन्द्र बनेका थिए, दयाहाङ राई। दयाहाङले करिब एक घण्टा दार्जीलिङे स्रष्टा सर्जकमाझ आफ्ना दुःख–सुख बिसाए । पत्रकार दीपक सापकोटाले सङ्गीत स्रोताको कविता ‘दयाहाङलाई दुवैतिर खतरा छ’ बाट गफको पन्तुरो खोलेका थिए ।

दयाले गाउँ (भोजपुर) देखि सहर (काठमाडौं) सम्मका अनुभूति साटे । ‘मलाई सानामा ठूलो मान्छे बन्ने हुटहुटी थियो’, उनले भने, ‘तर ठूलो मान्छे बन्ने तरिका थाहा थिएन ।’ उनले आफूलाई ठ्याक्कै यही बन्छु भन्ने कुरा थाहा नभएको खुलाए।
‘लुट’ बाट फिल्मी करियर सुरु गरेका यिनले अहिलेसम्म दर्जनौं फिल्ममा अभिनय गरिसकेका छन् । यिनी देशकै महँगा र व्यस्त नायकको सूचीमा अग्रपंक्तिमै पर्छन् । तर, फिल्म खेल्न थालेपछि आफू अलि बढी व्यावसायिक बन्नुपरेको स्विकारे । थपे, ‘तर, फिल्म खेलेर नाटक बचाइराखेको छु ।’

दयाले फिल्म डाइरेक्टरको नभएर एक्टर्सको भइदिएको र एक्टरहरू हाबी हुन् थालेकोले फिल्म ध्वस्त बनेको पनि खुलाए।

समाज सरोकार र साहित्यबारे चर्चा

प्रशिद्ध लेखिका शारदा शर्माले साहित्य कसरी उन्मुक्तिको माध्यम हुनुपर्छ भन्नेबारे आफ्नो वक्तव्य राखिन्। उनले विचार अभिव्यक्तिमा प्रकट भइसक्दा यसले समाजलाई सम्बोधन गरिसक्ने भन्दै उन्मुक्तिबारे साहित्यले प्रबुद्ध बनाउने खुलाइन्।

डुवर्सका बन्द दैलाहरूबारे समिक चक्रवर्ती र कृष्णप्रियो भट्टाचार्यसित प्रभात राई चिसोले कुराकानी गरे। जतैबाट पनि डुवर्स चेपारोमा पर्नुको कारण राजनीति नै रहेको र राजनीतिक चलखेलबीच डुवर्स चेपारोमा पर्नुपर्ने विडम्बना रहेको प्यानलिष्टहरूले खुलाएका थिए। हिन्दी बनाम बजारबारे साहित्यकार देवेन्द्रनाथ शुक्ल, डा. राजेन्द्र प्रसाद सिंह र डा. अजय सावसित इरफान-ए-आजमले कुराकानी गरे। उनीहरूले हिन्दी र बजार एकार्काको पुरक रहेको खुलाए।

यता सुजित राहाले ‘मानव बनाम प्रकृति’ विषयमा बोले।

नेपालका केदार शर्मा, कान्तिपुरका वरिष्ट पत्रकार देवेन्द्र भट्टराई अनि ज्ञानेन्द्र खतिवडाले नेपाल र दार्जीलिङको सम्बन्धबारे केलाए। विभु लुइटेलले नेपाल र दार्जीलिङबीचको सांस्कृतिक, साहित्यिक र भाषिक सम्बन्ध र यसले प्रदान गरेका अवसरहरूबारे उनीहरूबीच बहस गरे।

दार्जीलिङे साहित्यको परिवर्तित धारबारे सुरज धड्कनले कथाकार सञ्जय विष्ट, कवि सुधिर छेत्री, कवि बासुदेव पुलामी अनि कवि राजेन्द्र भण्डारीसित बहस गरे। यता डा. कविता लामा, लीला लुइटेल अनि विन्द्या सुब्बाले नारीवादी लेखनबारे व्यापक चर्चा गरिन्।

साँझमा बीसौं वार्षिकोत्सव मनाइरहेको दार्जीलिङको बलियो व्यान्ड मन्त्रका कलाकारहरूसित आरजे प्रवल थापा गफिए। मन्त्र व्यान्डका कलाकारहरूले अन्तसम्म नै कार्यक्रमलाई उचालेका थिए।

अर्कोतिर रुखको फेदमा राब्सोडीले पोए-ट्री सेसन निरन्तर चलाए। जहाँ अनुजदेखि वरिष्ट कविहरूले कविता सुनाए। अघिल्लो दिन ओपन माइक सेसनमा पनि कविहरूको उस्तै जमघट थियो। नेपालको देही आर्टका चित्रकारलगायत सिलगढीका चित्रकार अनि मर्तिकारहरूले तत्कालै चित्र र मुर्ति बनाइरहेको देखियो। साङ्ग्रिला बुक्सका मणि शर्माले फेस्टिबललाई निरन्तरता दिइने अनि दार्जीलिङसितै हरेक वर्ष काठमाडौंमा पनि साङ्ग्रिला काठमाडौं लिट फेस्ट गर्ने बताए। साङ्ग्रिला बुक्स इण्डियाका मनोज बोगटीले यसै वर्ष दिसम्बर 28, 29 अनि 30 तारिक साङ्ग्रिला दार्जीलिङ लिटफेस्ट-2 गरिने घोषणा पनि गरे।

  


फोटो-निमेश सुब्बा सिकारु

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया