आत्मसन्तुष्टि         

कथा


मदन खड्का, डुवर्स।      


यस शहरमा प्राय: पन्द्र वर्षपछि आएकी हुनाले उषा बेलुकीपख श्रीमानसित आफ्नै कारमा शहर घुम्न निस्केकी थिइन्। अहिले झैं त्यसबेला ठूलाठूला अट्टालिका भवनहरू थिएनन्। कार गाडीको सिसा झारेर त्यस शहरको आमूल परिवर्तन हेर्दै जाँदै थिइन्। उनी अतीतमा चुर्लुम्म डुबेकी थिइन्। कारगाढ़ी मन्द गतिमा अघि बढिरहेथ्यो, अचानक उनले ड्राइभरलाई गाड़ी रोक्न लगाएर ओर्लिन्।

चारैतिर नजर डुलाएर हेरेपछि उनले श्रीमानलाई पनि ओर्लिने अनुरोध गरिन्, त्यसपछि उनी सरासर एउटा गल्लीतर्फ लागिन्।

आज्ञाकारी छात्र झैं श्रीमान चाहिँ पनि उनको पछिपछि लागे। केही पर पुगेपछि उषा बोलिन् – “अहो! यो ठाउँ त कस्तो नचिनिने भएछ, म स्कूल जादाँ यो गल्ली थिएन। चारैतिर खुला थियो।” श्रीमान चाहिँ केही बोलेनन्। केही पर पुगेपछि एउटा ठूलो पिपलको रूख भेटियो। रूखमुनि सिमेन्टको गोलाकार फलैंचामा एकजना सेतै फूलेका बृद्ध बसिरहेका थिए। उनको छेवैमा गएर उषाले दुइ हात जोडेर प्रणाम गर्दै भनिन्- “बाबा, बल्लभपुर जाने बाटो कताबाट होला?” उनीहरूलाई राम्ररी हेरेपछि गम्छाले मुख पुछ्दै ती बृद्धले भने- “बल्लभपुर त यही हो। तपाईंहरू कसकोमा जानु हुन्छ?”

उषाले श्रीमानतिर हेरेर भनिन्- “यहाँ दीनानाथ मिश्रको दोकान थियो नि कहाँ होला?”

“ए,.हे नानी, दीनानाथ त आठ – नौ वर्ष भयो बितेको। बाउ मरेपछि उसको छोराले दोकान घर सबै बेचेर गोरखपुर गयो। त्यो दोकान घर किन्नेले त्यहाँ ठूलो तीनतले बिल्डिङ ठढ़्यायो । उ …. परको त्यो पहेंलो रङको बिल्डिङ देख्नुभो , त्यही हो।”

उनको कुरा सुनेर उषा निराश  भइन्। श्रीमतिको मुखमण्डलमा विशादका रेखाहरू दौड़ेको देखेर श्रीमान बोले– “हेर उषा, यत्रो वर्ष भयो धेरै परिवर्तन भई सक्यो, मन खल्लो नपार। बरु जाउँ  अब, अरु ठाउँ पनि घुम्नु छ।” दुवै त्यहाँबाट फर्केर गाड़ी भए ठाउँतिर आए। उषा र उनको श्रीमान शहरको एक दुई ठाउँ घुमेपछि फर्केर गेष्टहाउसमा आए।

उषा गेष्ट हाउसको बाहिरपटि बालकनीको आराम कुर्सीमा बसेर केही कुरा सोच्दै थिइन्। पन्द्र वर्ष अघिको एउटा घटनाको सम्झना उनको आँखाअघि चलचित्रझैं आउन थाल्यो।

एकदिन उनले पढ़ाउने स्कूलको मेन गेटकै छेउमा एउटी अधवैसे औरतले अचानक घ्वाप्प घोप्टेर उषाको खुट्टा पक्री। उनलाई अचानक यसरी कसैले खुट्टा पक्रेकोले उनी पहिले त किंकर्तव्यविमुढ भइन्। तर हत्तपत्त त्यस औरतको दुई कुममा समातेर उठाइन् र भनि्- “तिमी को हौ, आफूभन्दा सानोको पनि यसरी चरण पक्रिने हो ।भन के भन्न चाहन्छौ?”

त्यस औरतले उनको सामु दुई हात जोड़ेर भनि- “मेडम, मेरी छोरी पढ़्नमा खुबै राम्री छे। जसरी भए पनि यो स्कूलमा भर्ना हुन पाई भने यसको ठूलो उपकार हुने थियो। तपाईंले यति दया गरिदिनु भयो भने आजीवन ऋणी रहनेछु मेडम।”

उषालाई स्कुल पस्न हतार थियो र उनले  “भरे बेलुकी म बस्ने ठाउँमा आउनु, बसेर राम्रोसित बातचित गरौंला।” यति भनेर मेन गेटभित्र पसिन्।

बेलुकी साँझपख त्यस औरतले छोरी लिएर उषा मेडमकोमा पुगी। उषा बालकनीको फूलको गमलामा पानी हाल्दै थिइन्। उनले बालकनीमा भएको एउटा बेञ्चमा बस्ने इशारा गरेर भित्र पसिन् भित्रबाट तौलियाले हात पु्छ्तै आएर उसको कुराहरू सुनिन्। त्यस बालिकालाई छेउमा बोलाएर पढ़ाइ सम्बन्धमा केही सोधिन्। त्यो नानीको उत्तरले उनी प्रभावित भइन्। मन मनमा  यसले पढ़न पाई भने यसको भविष्य बनिने थियो भन्ने सोचिन्। तर यस स्कुलमा खर्च अधिक हुन्छ। आफ्नो छेउमा बोलाएर नाम सोधिन्- “तिम्रो नाम के हो?”

“सुरुची”- छोटो उत्तर दिई त्यस बालिकाले। त्यस औरतले फेरि पनि विन्ति गर्दै भनी- “हाम्रो एउटै सन्तान यही नै हो मेडम। यसको बाउको सरकारी कलेजमा चौकीदारको नौकरी छ। मैले जसोतसो जोड़जाम गरेर चालिस हजार राखेकी छु। महिनामा कति खर्च लाग्छ। म पनि लुगा सिलाउँछु, जसरी भए पनि पुऱ्याउँछौं। यसको बाउको ठूलो सपना छ, यो स्कूलमा पढ़ाउने। किनभने यसको बाउले पढ़्न पाएन।

तर छोरीलाई खुब पढ़ाउने भनेर डिउटीबाट आएर बेलुकीदेखि राति आठ बजीसम्म चप सिङ्गड़ा पकौड़ा बेच्छन्। त्यसबाट पनि दुई-चार पैसा हुन्छ।

“यो सुनेर केही बेर घोरिएपछि उषाले भनिन्–“ठिकै छ भोलि बिहान एघार बजी यसलाई राम्रो लुगा लगाएर स्कुलमा लिएर आउनू। म कोशिष गरिहेर्छु।

भोलिपल्ट उषा मेडमको प्रयासमा बालिका सुरूचीको उनैले पढ़ाउने सन्त करमाइकल स्कूलमा  भर्ना भयो। सुरूची पढ़नमा खुबै मेधावी थिइ। उषाले सुरूचीलाई प्राय: जसो आफूसितै राख्थिन्। यसै क्रममा सुरूची सातौं श्रेणीमा पुगी। यही बीचमा उषाको सिलगढ़ीका एक इञ्जिनियरसित विवाह भयो। उनको श्रीमान गोवामा इञ्जिनियर हुनाले उतै लिएर जाने भए। उषाले त्यहाँबाट गोवामा ट्रान्सफर लिइन्। उनी त्यहाँबाट जाने दिन बिहानदेखि नै कताकता उषा र सुरूची आमा छोरी छुट्टिए झैं रोए। उनले सुरूचीलाई सम्झाई बुझाई राम्रो पढ़ने सलाह दिएर बिदा लिइन्।

आज उषाको त्यही करमाइकल स्कूलमा प्रधान अध्यापिकाको रूपमा पदभार सम्हाल्ने पहिलो दिन हुनाले बिहान साढ़े नौ बजीनै स्कूल पुगिन्। मेनगेट अघि एउटी औरत दुई हात जोड़ेर उनको सामु आईपुगी। त्यस औरतले छेवैमा उभिएकी एउटी युवतीलाई देखाउँदै भनी – “नमस्कार मेडम,  यस्लाई चिन्नु भयो?”

उषाले त्यस युवतीलाई चिन्न सकिनन्। नियालेर हेरिन् र पनि ठम्याउन सकिन् र सोधिन्- “को हँ? मैले चिन्न सकिनँ।”

“मेडम, यो सुरूची, तपाईंको सुरूची। तीन महिना भयो यही स्कूलमा टिचर काम पाएकी छ।” भनेर उसले छोरीको पाखुरामा समातेर मेडमको छेवैमा पुऱ्याई। सुरूचीलाई देखेर केही क्षण हेरेको हेऱ्यै भइन्।

सुरूची, आज म यस स्कूलमा आउँदा तिमीलाईं शिक्षिाकाको रुपमा देख्न पाउँदा मलाई अपार हर्ष लागेको छ भन्दै उसलाई अङ्गालोमा कसिन्। त्यसपछि दुवै मेनगेटबाट स्कूल भित्र पसे। सुरुचीको आमाले उषा र सुरूची सँगै स्कूलभित्र जाँदै गरेको हेरिरहेकी थिई। आज उसको मनमा आत्मसन्तुष्टिले बास गरेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन