विनय तामाङले दिए प्रधानमन्त्रीलाई चुनौति

दार्जीलिङ, 4 अप्रेल।


प्रधानमन्त्री नरेन्द्र मोदीले एनआरसी र गोर्खाबारे स्पष्ट पारेपछि पनि यता विनय तामाङले गोर्खाहरूलाई एनआरसीले असर गर्दैन भने प्रधानमन्त्री नरेन्द्र मोदीले लिखितरूपमा दिनुपर्ने माग गरेका छन्। ‘एनआरसी लागु गर्दा दार्जीलिङ पहाड़कोमात्रै होइन तर समग्र भारतभरिका गोर्खाहरूलाई एनआरसीले असर गर्दैन भनेर उनले लिखितरूपमा दिनुपर्छ,’ तामाङले भनेका छन, ‘एउटा अर्डिनेन्स पनि पास गर्नुपर्छ। मुखको भरमा त हामीले गोर्खाको सपना मेरो सपना भनेको पनि सुनेका हौ। खोई अहिलेसम्म गोर्खाको सपना पूरा भएको।’

एनआरसीको मुद्दामा पनि दार्जीलिङ लोकसभाबाट चुनाउ हार्ने स्थिति बनिएपछि यहाँकै स्थानीय गोर्खाहरूले उनको कान भरिदिएकोले गर्दामात्रै त्यति शब्द उच्चारण गरेको पनि तामाङको आरोप छ।

‘5 वर्षदेखि सरकार उनीहरूकै, मन्त्रालय उनीहरूकै, मन्त्रीहरू पनि उनीहरूकै तरैपनि यस मुद्दामा केही गरेन। हामीले त्यति धेरै दस्तावेज बुझाउँदा पनि जनजाति नबनाएको अहिले चुनाउमा आएर फेरि उक्त कुरा उठान गर्नु भनेको हावा मिठाएको खुवाएको मात्रै हो,’ तामाङले भने, ‘नरेन्द्र मोदीको मुद्दा नै चौकीदार।चौकीदार भन्नुबाहेक देशको हित अनि विकासको क्षेत्रमा नयाँ अरू केही भनेकै छैन।’

यता पहाडमा एनआरसीलाई लिएर तृणमूल खेमा र विनय तामाङ खेमाले निक्कै टिकाटिप्पणी गरिरहेका छन्। उनीहरूलाई नरेन्द्र मोदीले ‘टिएमसीको पेरोलमा काम गर्ने कर्मचारी’-को संज्ञा दिँदै खुलेरै जवाब दिइसकेका छन्। एनआरसीबारे अफवाह फैलाउनेहरूलाई उनले खबरदारी पनि गरेका छन्। टिएमसीको पेरोलमा मस्ती गरिरहेकाहरूले जुन अफवाह फैलाइरहेको छ, उनीहरूसित भाजपाको सरकार बनेपछि जवाब मागिने मोदीको खबरदारी थियो।

‘एनआरसीबारे गलत अफवाह फैलाइँदैछ। म सबै गोर्खाहरूलाई यो मञ्चबाट आश्वास्त गराउन चाहन्छु, तपाईँहरू कसैले पनि यसको कारणले क्षति बेहोर्नु पर्नेछैन। म बचन दिन्छु,’ सिलगढीबाट मोदीले भनेका थिए, ‘टिएमसीको पेरोलमा घुम्नेहरू यत्रतन्त्र छन्। जो टिएमसीको पेरोलमा घुम्दैछन्, उनीहरूले आतङ्क फैलाउँदैछन्। डर देखाउँदैछन्। म उनीहरूलाई चेतावनी दिन्छु, उनीहरूको दिन सकियो। भाजपाको सरकार आउने वित्तिकै निर्दोष नागरिकलाई सताउनेहरूले हिसाब देखाउनुपर्नेछ। कानूनलाई जवाब दिनुपर्नेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया