अनिवार्य बङ्गला भाषा, षडयन्त्र र निर्णायक समय

बी० पी० बजगाईं


सन्दर्भः अनिवार्य बाङ्ग्ला भाषा

भारतको संविधानको आठौँ अनुसूचीमा गाभिएको २२ वटा भाषाहरू मध्ये एउटा नेपाली भाषा हो| संविधानको आठौँ अनुसूची अनुसार बाङ्ग्ला भाषा अनि नेपाली भाषाको दर्जा एउटै हो| यी दुवै भाषालाई उच्च अर्थात् निम्न भनेर तोक्न सकिँदैन| द वेस्ट बेङ्गल अफिसियल ल्याङ्गुएज एक्ट, १९६१ (एपेन्डिक्स ‘एच’) अनुसार नेपाली भाषा पश्चिम बङ्गाल पहाडको आधिकारिक भाषा बन्यो|  अगस्त १९९२ मा संविधानको ७१ औं संशोधन भएर कोंकणी, नेपाली अनि मणिपुरी भाषाले भारतीय भाषाको रूपमा दर्जा पायो|

यसले पश्चिम बङ्गाल पहाडको आधिकारिक भाषा बनेको नेपाली भाषाको परिधि स्वतः बढायो| भर्खरै मुख्यमन्त्री ममता ब्यानार्जीको नेतृत्वमा रहेको पश्चिम बङ्गालको तृणमूल सरकारले कक्षा १ देखिको विद्यार्थीहरूले तीनवटा भाषा पढ़्नै पर्ने फरमान जारी गरेकोछ| फरमान अनुसार विद्यार्थीले बाङ्ग्ला, हिन्दी, अङ्ग्रेजी, उर्दु, गुरूमुखी, नेपाली अनि अल्चिकी मध्ये कुनैलाई पनि आफ्नो पहिलो भाषा बनाउन सक्छन्, तर यी भाषाहरूबाटै अझै दुईवटा भाषा विद्यार्थीले छान्नुपर्छ जसमा एउटा बाङ्ग्ला भाषा अनिवार्यरुपमा छानेकै हुनुपर्छ|

भारतको संविधानमुनि रहेको नागरिकको मौलिक अधिकारको सुरक्षाको कारणले केन्द्र सरकारले अहिलेसम्म राजभाषा हिन्दीलाई समेत अनिवार्य गर्नसकेको छैन, किनभने कुनै जातिले आफ्नो भाषा छान्न पाउनु उसको मौलिक अधिकार हो| म स्वयम् बाङ्ग्ला भाषामा बोल्न, लेख्न अनि पढ़्न सक्छु, मैले मेरै रूचिमा सिकेको हो| मैले उबेला बाङ्ग्ला भाषा सिक्दा मुख्यमन्त्री ममता ब्यानर्जीलाई सम्भवतः राजनीतिको ज्ञान पलाएको थिएन| आफ्नो इच्छामा मान्छेले जुनै भाषा सिक्नसक्छ तर उसलाई अर्काको भाषा जबर्जस्ती कोचार्नु हुँदैन|

मनोवैज्ञानिक रूपमा हेर्दा पनि कक्षा एकको नानीले एकैचोटी तीनवटा भाषा सिक्नुपर्नु ठीक कुरा पटक्कै होइन| यसो गर्दा त्यस विद्यार्थीको भाषिक ज्ञान ‘Jack of all, master of none’ बन्दछ| सानैदेखि त्यस विद्यार्थीको आफ्नो मातृभाषामा अर्को भाषाको हस्तक्षेप हुन्छ अनि उसको मातृभाषा खिचडी बन्नेछ| यो केवल नेपाली भाषी विद्यार्थीहरूको समस्या होइन, पश्चिम बङ्गालमा बस्ने अन्य गैर बाङ्ग्ला भाषी विद्यार्थीहरूको पनि साझा समस्या हो| राज्य सरकारको यस पदक्षेपले भाषिक अल्पसङ्ख्यकहरूको भाषा नै बिलाएर जाने समस्या छ|

देशका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले आफ्नो लेख ‘The Question of language’ मा लेखेका थिए, – “The culture, language, and script of the minorities and of the different linguistic area should be protected.” मुख्यमन्त्री पदमा पुग्नेहरूले यस्तो लेखहरु, संविधानका आवश्यक धाराहरू पढेको हुनुपर्छ भन्छु म| यस्तै धेरै राजनैतिक असमानताहरूको कारणले हामीले अलग राज्य मागेका हौँ भन्ने कुरा अब केन्द्र सरकारले बुझ्नुपर्छ| हामीलाई राज्य दिएर हेर भाषिक अल्पसंख्यकको सुरक्षा कसरी गर्नुपर्छ हामी त्यो कुरा देशलाई नै सिकाउने छौं, किनभने गोर्खाले ‘कुखराको मुटु’ राख्दैन|

नोकरी,ङ्ग्ला भाषा षडयन्त्र

पश्चिम बङ्गालका भूतपूर्व मुख्यमन्त्री ज्योति बासुले भनेका थिए, “ …..नेपालीभाषी जनसाधारण हाम्रै देशको एउटा भाषागत अल्पसङ्ख्यक अंश हुन्| तिनीहरू नोकरी, शिक्षा एवं सांस्कृतिक सम्बन्ध आदि क्षेत्रमा विभिन्न प्रकारका असुविधाहरू भोगिरहेका छन्|”

हामी ज्योति बासुको यसै कुरालाई केन्द्र गरेर हेरौं| हाम्राहरूले अहिलेपनि नोकरीको क्षेत्रमा असुविधा भोगिरहेकै छन्| अब झन बङ्ग्ला अनिवार्य बनाएपछी गैर बङ्ग्लाभाषी कसैले पनि बङ्गाली जातिसँग बङ्ग्ला भाषामा भाषिक प्रतिस्पर्धा गर्न सक्दैनन्| जबकी बङ्ग्ला भाषा विद्यालयमा अनिवार्य गरेकोले भविष्यमा राज्य सरकारको निम्ति नोकरीका लागी अन्तर्वार्ताहरूमा यसलाई अनिवार्य गरिने ठूलो षडयन्त्र लुकेको छ, यस स्तिथिमा हाम्राहरूले केवल भाषिक आधारमा प्रतिस्पर्धा गर्न नसक्दा नोकरी गुमाउनेछन्|

यो केवल आकस्मिक सोच होइन

यो पश्चिम बङ्गालको भाषिक अल्पसङ्ख्यकलाई टुक्राउने सुनियोजित सरकारी षडयन्त्र हो| आकस्मिक सोच हुँदै होइन यो| यस सन्दर्भमा बङ्गालमा अन्य गैर बङ्ग्लाभाषी जातिले आ-आफै सोच्लान्| म आज केवल नेपालीभाषी गोर्खा समुदायको कुरा मात्र गर्छु| गोर्खा समुदाय भन्ने बित्तिकै बङ्गाल सरकारलाई गोर्खाल्याण्ड फोबियाले सताउँछ| मैले यो कुरा पहिल्यै भनिसकेको छु| यसैले बङ्गालमा सत्ताधारीको राजनैतिक फाइदा हेर्नु हो भने गोर्खा समुदाय भाषिक रूपमा नै टुक्रिएको हेर्न चाहन्छन् उनीहरू| भारतमा नेपाली भाषा गोर्खा समुदायको मातृभाषा लगायत सम्पर्क भाषा हो| हामीसँग राई, लिम्बु, तामाङ, गुरुङ, नेवार जस्ता थुप्रै समुहगत भाषाहरू छन्| बङ्गाल सरकारले यसैलाई केन्द्र गरेर सिङ्गो गोर्खा समुदायलाई तोड्ने खेल खेल्यो| सयौं अर्जी चडाउँदा माग नदिने सरकारले माग्दै नमागी विभिन्न जातको नाममा बोर्डहरू दिनु थाल्यो| सांस्कृतिक विभेदको ठूलो खेल चल्यो| बुद्धिमा बिर्को लागेकाहरू अनि चप्पलसँग टोपी साट्नेहरू त्यस खेलका खेलाडी बने| साधारण जनतालाई भ्रममा राखियो| तर जब चुनाव अघि नै पार्टीगत आन्तरिक रिपोर्टले तृणमूलले चालपायो कि उसको सरकारले खेलेको खेलले गोर्खालाई विभाजित बनाउन सकिएन तब उसले घोषणा गरयो बाङ्ग्ला भाषा अनिवार्यताको| फेरी पनि भन्छु, यो आकस्मिक सोच होइन|

आज उत्तर बङ्गालमा सरकारको अल्पसङ्ख्यकप्रतिको गलत निर्णयले धेरै राजवंशी, कोचे, मेचे अनि आदिवासीको घरभित्र बोलिने एकमात्र भाषा बङ्ग्ला भएको छ| उनीहरूले आफ्नो मातृभाषा लगभग अघिल्लो पुस्तादेखि पूर्णरूपमा बिर्सिएका छन्| अब यही दृश्य चाहेको छ बङ्गाल सरकारले गोर्खाको घर घरमा| के यसको निम्ति तपाईं राजी हुनुहुन्छ?

काठकै बेँड़ बेगर बन्चरोले काठ काट्दैन

दिसम्बर १९७० मा भारतको पुणेबाट प्रकाशित ‘प्रोसिडिङ्ग्स अफ द फर्स्ट अल इन्डिया कन्फरेन्स अफ लिङ्गुइस्ट्स्’ मा आफ्नो शोधपत्रमा त्रिभुवन विश्वविध्यालयका बल्लभ मणि दाहालले लेख्नुभएको छ, -“Phonesthetic correlations between sounds and meanings are found in many languages including Indo-Aryan languages. Nepali appears to be especially rich in them.”

म पनि यसमा सहमत बन्दै भन्छु, भाषाको संरचनामा आवश्यक तत्व भनेको ध्वनि हो| ध्वनिले शब्द अनि शब्दले वाक्य र वाक्यले भाषा बनिएको हुन्छ| सङ्घर्ष, रगड़िनु,, ठोक्किनु आदि ध्वनिको कारक हो| यसैले भाषा बाँच्नु हो भने ध्वनिको स्वरूपलाई लेखनमा बचाउनु जरुरी हुन्छ, किनभने तकनिकी रूपमा कुरा स्वनविज्ञानको हो| अनिमात्रै हामी कुकुरी काँऽऽऽऽऽऽ… लेख्न सक्छौं, नत्रभने कुखुरा बास्दा हामी पनि कक्-अ-डुडल-डू जस्तै असुहाउँदो अन्य केही भन्दै हुनेथियौं| यस सम्बन्धमा हामी साँच्चै धनी छौं| आज यसलाई पनि तोड्ने प्रयास चल्दैछ| हामीले भाषिक एकरूपता र कम्प्युटर टङ्कन सुविधाको नाममा आफै जुन स्तिथिको सिर्जना गर्दैछौं ठीक त्यही समयमा पश्चिम बङ्गाल सरकारले बांग्ला भाषालाई कलिलो मन-मष्तिष्कमा घुसारेर हाम्रो भाषाको खिचडी पकाउन खोज्दैछ| हामीले जे पनि गरौँ, होश पुरयाएर मात्रै गरौँ| केवल फलामको बन्चरोले मात्र जङ्गल काट्न सकिँदैन, ठूलाठूला रूख काट्न त्यसै रूखको सानो हाँगा चाहिन्छ बेँड़ बनाउन| काठकै बेँड़ बेगर बन्चरोले काठ काट्दैन| हामीसँग उतापट्टि लागेर बन्चरोको बेँड़ हुन चाहनेहरूको कमी छैन|

नेपाली धातु, ध्वन्यात्मकता अनि वैचारिक विपन्नता

अकारान्ती, आकारान्ती, इकारान्ती, उकारान्ती र व्यञ्जनान्ती गरेर नेपाली शब्दका पाँच थरीका धातु छन्| यसका पनि मूल धातु र चोर धातु छन्| यस्ता थुप्रै थुप्रै कुराहरूले हामी भाषाको मामिलामा धनी छौं| ध्वनि, नाद जस्ता प्रकृतिका तरङ्गहरूबाट धातु आएका हुन्| यसैले नेपाली भाषामा ध्वन्यात्मकता प्रचुर छ| खोला-खोल्साको स्वाँ स्वाँ ध्वनिबाट सुसा धातु जन्मिन्छ जसले गर्दा हाम्रो खोला-खोल्सा सुसाउँछ| हाम्रा नजिकका अन्य भाषामा यस्ता ध्वन्यात्मकता पाउँदैनौं| हामीले होश नपुऱ्याए हाम्रो धनी भाषा रातारात फकीर बन्न बेर लाग्दैन, हामीले पनि भोली उत्तर बङ्गालका अन्य कतिपय अल्पसह्ख्यक परिवारले झैं घर भित्र बङ्ग्ला भाषा बोल्दै गरेका हुनेछौं| आज पनि हाम्रैतिर कतिपय बन्चरोका बेँड़ घरहरूमा बिहान नेपाली समाचारपत्रको साटो अङ्ग्रेजी, बङ्ग्ला र हिन्दी समाचारपत्र पुग्दै नै छ| हाम्रो वैचारिक विपन्नताको ओखती अब हामीले नै कठोर बनेर खोज्ने बेला आएको छ| आज म यहाँ नेपाली धातु, ध्वन्यात्मकता अनि एकरूपताको चर्चा गर्न चाहन्न| त्यसको निम्ति समय आउला| भाषा नै नरहे के को एकरूपता? पहिले भाषा जोगाउने चर्चा गरौँ|

मुख्यमन्त्री ममता ब्यानर्जीलाई सुझाव

१९५२ मा अहिलेको बङ्गलादेश अर्थात् उबेलाको पूर्व पाकिस्तानमा बङ्गालीहरूले एउटा सङ्गठित आन्दोलन गरेका थिए, त्यस आन्दोलनलाई हामी ‘बङ्ग्ला भाषा आन्दोलन’ भनेर जान्दछौँ| भाषाको नाममा यो सङ्गठित सांस्कृतिक राजनैतिक आन्दोलन थियो| उनीहरूको माग थियो, बङ्ग्ला भाषालाई पाकिस्तानको आधिकारिक भाषाको मान्यता दिइनुपर्छ, बङ्ग्ला भाषा उर्दू लिपिमा नभएर बङ्ग्ला लिपिमा नै लेखिनुपर्छ अनि सरकारी कार्यालयहरूमा, शिक्षाको माध्यमको रूपमा, संचार सेवामा लगायत मुद्रामा यस भाषाको प्रयोग गरिनुपर्छ| यही आन्दोलन नै ‘बङ्गलादेश मुक्ति सङ्ग्राम’ -मा परिणत भएको थियो जसको कारण १९७१ मा भारत-पाकिस्तान युद्ध भयो अनि बङ्गलादेश पाकिस्तानबाट अलग भयो| यसैले ममता दिदी हामी तिमीलाई धन्यवाद दिन्छौं, तिमीले हाम्रो भाषालाई चुनौती दिँदैछौ अनि हामी बङ्गालबाट मुक्ति आन्दोलनको तयारी गर्ने जमर्को गर्दैछौं| तिमीले हाम्रो मातृभाषालाई चुनौती दिएर हाम्रा सुतेका, निदाएकाहरूलाई झक्झक्याएको छौ, बाटो बिर्सेकाहरू अब मूल बाटोमा फर्किनेछन्, यसको निम्ति धन्यवाद| आऊ गोर्खे सन्तान, मातृभाषाको निम्ति मूलबाटोमा फर्क|

दोषी को को हो?

दोषी हामी तथाकथित बुद्धिजीवीहरू हौँ जो जातीय समस्यामा पटक पटक मौन बस्यौं, मौन बसिरहेका छौं| दोषी ती प्राडाहरू हुन् जसले हाम्रो समाजलाई सामाजिक अनि राजनैतिक जागृति दिनसक्ने थिए तर मौन बसे| दोषी तमाम गोर्खे राजनैतिक नेताहरू हुन् जसले कुर्सीको राजनीतिको निम्ति कुनै कसर छोडेनन् तर भाषा अनि जातीय उत्थानको समस्यालाई कहिल्यै हेर्न चाहेनन्| दोषी हामी सबै हौँ जसले बर्षमा एकदिन पनि सामाजिक चेत लिएर भेला हुने जमर्को कहिल्यै गरेनौं| दोषी हामी ती लेखक कविहरू हौँ जसले आफूलाई साहित्यकार भनाउन कुनै अवसर चुकाएनौं तर भाषा, जाति अनि भविष्य सन्दर्भमा कहिल्यै कलम चलाएनौं| दोषी हामी तमाम अविभावक हौँ जसले आफ्ना नानीहरूलाई महँगो अँग्रेजी शिक्षा चाहिँ दियौं तर नानीहरूलाई घरमा नेपाली भाषा सिकाउनुपर्छ भन्ने सामाजिक चेतसम्म राखेनौं| दोषी ती शिक्षकहरू पनि हौँ जसले शिक्षण पेशामा रहेर पनि सही नेपाली बोल्न लेख्न जान्दैनौं| यहाँ दोष नदिने ठाउँ नै छैन, अझै कति दोषी भएर बाँच्ने? आउनुहोस सबै, अहिलेसम्मको दोष र पाप मेटाउन एउटै स्वरमा मातृभाषाको रक्षा गीत गाउँ, जुन गीत डाँडा-काँडा, खेत-खलिहान, शहर-बजार, उकाली-ओह्राली सबैतिर एउटै स्वरमा गाइयोस, विद्रोहको भाकामा गाइयोस|

अब के गर्ने?

सत्यदेव विध्यालङ्कारले भनेका छन्, “आमाको दूध खाँदाखाँदै बालकले धेरै नैसर्गिक कुराहरू सिक्तछन्| ती मध्ये मातृभाषा एउटा हो| जुन व्यक्तिको मातृभाषासित प्रेम हुँदैन आफ्नी आमासित प्रेम हुँदैन| यस्तो मान्छे संसारमा बाँचेर बस्नु वृथा हो|”

वृथा जीवन किन बाँच्नु? आमाको ऋण चुकाउने समय हो यो| दश धारा स्तन चुस्दै सिकेको भाषाको ऋण चुकाउने समय हो यो| जस-जसले आफ्नी आमालाई माया गर्नुहुन्छ, आमाको भाषा जोगाउने कर्तव्यको बाटोमा हिँड्ने समय हो यो| बल हुनेले बलले, धन हुनेले धनले, जन हुनेले जनले, केही नहुनेले मनले सघाउने समय हो यो| अन्तमा सत्यदेव विध्यालङ्कार कै निम्न भनाईलाई उद्धृत गर्दै मेरो भन्ने टुङ्ग्याउँन चाहन्छु, -“मातृभाषाको अभेद्य दुर्ग जबसम्म लड्दैन तबसम्म सर्वस्व लुटियो भने पनि जातिको पुनर्जीवनको आशा रहन्छ तर जहिले यो दुर्ग लड्छ तहिले जातिको नाश हुने कुदिन आइहाल्छ|”

आउनुहोस्, मातृभाषाको अभेद्य दुर्गलाई युगौंयुगसम्म सुरक्षित राख्ने निर्णायक लडाईं लडौं| के तपाईं तयार हुनुहुन्छ?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन