गोर्खालीगसित बङ्गालबाट छुट्टिने तीन विकल्प

मदन तामाङको हत्यामा वाम सरकारको षड्यन्त्र


खबरम्यागजिन खबरदाता

दार्जीलिङ, 21 मई 2017


गोर्खालीगले बङ्गालबाट अलग हुने तीनवटा विकल्प दिएको छ अनि बङ्गाल अलग भएरै छोड़्ने प्रतिज्ञा पनि गरेको छ। आज अखिल भारतीय गोर्खालीगले पार्टीका पूर्व अध्यक्ष मदन तामाङको 7औं पुण्यतिथि पालन गरेपछि यहाँको चौकबजारमा एक जनसभा पनि गरेको थियो, जसमा पार्टी नेतृत्वहरुले मदन तामाङले अवश्यै न्याय पाउने पनि आशा गरे।

यसै जनसभालाई सम्बोधन गर्दै पार्टी महासचिव प्रताप खातीले भने-जसरी होस्, बङ्गालबाट अलग हुनैपर्छ। जसको लागि अलग राज्य गोर्खाल्यान्ड, दार्जीलिङ-सिक्किम विलय अनि युनियन टेरिटोरी (केन्द्रशासित राज्य) तीनवटा विकल्प छन्। बङ्गाल सरकारले गोर्खा जातिमाथि जुनै विषयमा पनि अन्याय गरिरहेको छ। मदन तामाङकै हत्याकाण्डमा पनि तत्कालीन राज्यको बाममोर्चा सरकारको षड़्यन्त्र थियो। बङ्गालमा जुनै पार्टीको सरकार आए पनि दार्जीलिङ पहाड़ अनि गोर्खा जातिमाथि अत्याचार गरिरहन्छ, यो कसैबाट लुकेको छैन। यसैले गोर्खा जातिको लागि अलग राज्य हुनैपर्छ। चाहे अलग राज्य गोर्खाल्यान्डको रूपमा होस् वा दार्जीलिङलाई सिक्किममा अन्तर्भुक्त गरेर होस्। यसो हुन सक्तैन भने युनियन टेरिटोरीको लागि पनि गोर्खालीग तयार छ।

उनले राज्यको तृणमूल काङ्ग्रेस सरकारको कठोर शब्दमा आलोचना गर्दै यस सरकारले नेपाली भाषामाथि पनि अतिक्रमण गरिरहेको, जातगत विकास बोर्डहरुको गठन गरेर गोर्खा जातिलाई विभाजन गर्ने कार्य गरिरहेको आरोप लगाउँदै बङ्गाल सरकारले पहाड़का प्राथमिक पाठशालाहरुमा पनि बङ्गला भाषा थोपिएको बताए। उनले भने-पहाड़का प्राथमिक पाठशालाहरुमा बङ्गला भाषा पठन गर्न लगाएर दार्जीलिङ पहाड़मा पनि बङ्गला भाषानै पढ़िन्छ र यसलाई बङ्गालबाट छुट्टिन दिनु हुँदैन भन्ने राज्य सरकारले चाल चलिरहेको छ।

यस विषयलाई दार्जीलिङ पहाड़का तृणमूल काङ्ग्रेस समर्थकहरुले पनि बुझेका छन्, तरै पनि उनीहरु चुप छन्। पहाड़का तृणमूल काङ्ग्रेस नेतृत्ववर्गको यस्तो मौनमालाई गोर्खालीगले धिक्कार जनाउँछ। उनले भने-नेपालीभाषी गोर्खा जातिको बङ्गालसित केही मिल्दैन, न भाषा मिल्छ, न संस्कृति, न रहन-सहननै मिल्छ। यसैले केन्द्र सरकारले पनि यस विषयमाथि ध्यान दिएर अलग राज्य गोर्खाल्यान्डको निर्माण गर्नुपर्छ। सन् 1956-मा राज्य पुनर्गठन आयोगसामु दार्जीलिङ पहाड़मा नेपाली भाषी गोर्खाको जनसंख्या एकदमै कम्ति छ भन्ने देखाउन बङ्गालको तत्कालीन सरकारले जसरी गोर्खा जातिभित्रका विभिन्न जातहरुको भाषा अलग-अलग देखाएको थियो, त्यसरीनै वर्तमान बङ्गालको तृणमूल काङ्ग्रेस सरकारले पनि जातगत विकास बोर्डहरुको गठन गरेर गोर्खा जातिको जनसंख्या कम्ति देखाउने षड़्यन्त्र गरिरहेको छ।

उनले अझै अघि भने-बङ्गाल सरकारले डब्लुबीसीएस परीक्षाको लागि उर्दु, पारसी आदि भाषालाई वैकल्पिक भाषाको मान्यता दिएको छ, तर यसमा नेपाली भाषालाई अलग राखिएको छ। जुन नेपाली भाषाले सन् 1992-मानै संवैधानिक मान्यता पाएको हो, आज बङ्गाल सरकारले यसै नेपाली भाषामाथि अन्याय गरिरहेको छ। यी सम्पूर्ण अन्यायहरुबाट मुक्त हुनको लागि पनि गोर्खा जातिको लागि आफ्नै अलग राज्य हुनपर्छ। आज चौकबजारमा जनसभा गर्नअघि पार्टीले अप्पर क्लब साइड परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरेर स्व. मदन तामाङप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो, जसमा पार्टी अध्यक्षा भारतीय तामाङ, उपाध्यक्ष लक्ष्मण प्रधान आदि विशेषरूपले उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन