फातसुङ गोर्खाल्यान्ड आन्दोलनका रक्तरञ्जित सपनाहरुको कारुणिक र त्रासद अभिलेख हो-खगेन्द्र सङ्ग्रौला

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उपन्यासकार छुदेन काविमो, साहित्यकार खगेन्द्र सङ्ग्रौला, भूषिता वशिष्ठले पुस्तक लोकार्पण गरे।

“फातसुङ गोर्खाल्यान्ड आन्दोलनका रक्तरञ्जित सपनाहरुको कारुणिक र त्रासद अभिलेख हो । आकारमा सानो, अर्थमा ठूलो आम मानिसको एक जीवन्तकथा । सरल वृत्तान्त र चित्रमयभाषाको सुन्दर समिश्रण । रुचिकर र आनन्दमयी”, कार्यक्रममा लेखक सङ्ग्रौलाले भने। उनले दार्जीलिङको कथा बोके पनि उपन्यासले नेपालको अवस्थालाई समेत बुझ्न सघाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमकी वक्ता वशिष्ठले जनताको राजनीतिक चेतना अपूर्ण रहेकै कारण कतिपय अवस्थामा क्रान्ति तुहिएको र फातसुङ त्यसैको कथा भएको बताइन्। “पुस्तकले लोकभाषालाई जीवन्त राख्न सघाउ पुर्‍याउनेछ”, उनको भनाइ थियो ।

उपन्यासको पृष्ठभूमिबारे बताउँदै सन् २०१८ को युवा अकादमी पुरस्कार समेत प्राप्त लेखक लेखक काविमोले फातसुङ दार्जीलिङको सपनाको कथा भएको बताए ।

“१९८६ मा पहिलो चोटि अलग राज्यको माग गर्दै दार्जीलिङमा गोर्खाल्यान्ड आन्दोलन भयो । सयौं मान्छे मारिए । त्योभन्दा ठूलो कुरा हजारौं‌को सपना भत्काइयो । र, १९८८ मा आन्दोलन दार्जीलिङ गोर्खा हिल काउन्सिलसँगको सम्झौतामा पुगेर टुङ्गियो”, काविमोले भने ।

उनले आफू त्यसपछि भयानक राजनीतिक संस्कारमा हुर्किएको पुस्ता भएको बताउँदै उपन्यास त्यही समाजको कथा भएको दाबी गरे ।

पुस्तकका प्रकाशन संस्था फाइनप्रिन्टका अजित बरालले काविमोको विशिष्ट र पृथक लेखन शैलीले आफू कायल भएको बताए। “यो उपन्यासले नेपालीभाषी भारतीय लेखकहरुको पुस्तकप्रति हाम्रो रुचि जगाउने आशा छ”, उनले भने। (हिमाल खबर)

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया