पोखरामा फातसुङ डिस्कोर्स : राजनीतिले मान्छेलाई सँधै प्रयोग गर्छ-छुदेन

पोखरा – पहिचान सहितको गोर्खाल्यान्ड माग गर्दै सन् १९८५ मा सुवास घिसिङले थालेको आन्दोलनमा पुरै दार्जीलिङबासी होमिए। आन्दोलन चरम अवस्थामा पुगेर सन् १९८५ मा टुङ्गिएको आन्दोलनमा १२ सय बढी योद्धाहरुले ज्यान गुमाएका थिए।

आन्दोलन टुङ्गिएको ठ्याक्कै एक वर्षपछि लेखक छुदेन काविमोको दार्जीलिङको कालेबुङमा जन्म भयो। उनै छुदेन काविमो जसले हिजो मात्र पहिचान सहितको गोर्खाल्यान्ड आन्दोलनको कथा समेटेर लेखिएको ‘फातसुङ’ नामक उपन्यास बजारमा ल्याएका छन्। फातसुङको शाब्दिक अर्थ हुन्छ- माटोको कथा।

शनिबार आफ्नो उपन्यास फातसुङमाथि अन्तक्रिया  गर्न छुदेन पोखरामा थिए। किताब पढ्ने र पढौँ भन्नेहरुको संस्था ‘र्‍याण्डम रिडर्स सोसाइटी अफ नेपाल’ले उनलाई पोखरेली पाठकमाझ उभ्याएको थियो। आम मान्छेको चाहनालाई राज्यले कसरी कुल्चिन्छ, कसरी विभिन्न सपना देखाएर राजनीतिले मान्छेलाई धोका दिन्छ भन्ने कुरा उपन्यासमा देखाउन खोजेको उनले सुनाए।

राजनीतिले जनताको भावनलाई सँधै कुल्चिने उनको धारणा थियो। उनका अनुसार हरेक कुरालाई राजनीतिले प्रभाव पारेको हुन्छ। ‘राजनीतिले मान्छेलाई सँधै प्रयोग गर्छ, आम मान्छेको सपनालाई सधै कुल्चेको हुन्छ। यिनै विषयबस्तुलाई समेटेर फातसुङ तयार पारिएको हो,’ उनले भने। आज पनि आन्दोलनको प्रभाव दार्जीलिङमा रहेको उनले सुनाए।

दार्जीलिङ आफैमा सुन्दर भएता पनि यसका नदेखिएका थुप्रै पाटोहरु रहेको उनले सुनाए। भारतमा २ वटा वर्ग भए जस्तै दार्जीलिङमा पनि २ वर्ग रहेको उनको भनाई थियो ‘दार्जीलिङ किताबको कभर जस्तै हो। यहाँ एउटा सम्पन्न वर्ग छ। अर्को दुःख पाउने वर्ग,’ उनले भने। नेपाली पाठकमाझ पुग्न पनि किताब लेखेको उनी सुनाउँछन्। ‘नेपाली पाठकसामु कसरी पुग्न सकिन्छ भन्ने नै मेरो सपना हो,’ उनले भने, ‘त्यसैले पनि यो किताब लेखेको हुँ।’

प्रकाशन गृह फाइन प्रिन्टका अजित बरालले पाण्डुलिपिको २ पेज पढेर नै प्रभावित भएको बताए। ‘म अक्सर किताब छाप्ने भन्दा पनि रिजेक्ट गर्ने मान्छे। तर, यो किताबको चाहि २ पेज पढेर लेखकलाई फोन गरेको थिए,’ उनले भने, ‘सबैले माया गरिदिनु हुन्छ भन्नेमा आशावादी छौँ।’ यसअघि छुदेनका १९८६ नामको कथासंग्रह प्रकाशित भइसकेको छ। लेखक गनेस पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए।-नेपालीपब्लिक-बाट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया