कर्णल रमेश आलेको गाडी सिज : पुलिसको घेराबन्दीमा आले : चुनाउ आयोगमा नालिस

‘पुलिसले हामीलाई पक्राउ गर्ने कोसिस गरिरहेको छ। हामीले कुनै गलत काम गरेका छैनौं। चुनाउ प्रचारको लागि गएका हौं,’ आलेले भनेका छन्, ‘हामीले चुनाउ आयोगलाई नालिस गरेका छौं। चुनाउ प्रचारसमेत गर्न नपाउने यो बङ्गालको कस्तो कानून हो? आयोगले कठोर कार्वाही गरोस् भन्ने माग गर्दछु।’


सिलगढी, 7 अप्रेल


गोर्खा जनमुक्ति मोर्चाका नेता कर्णल रमेश आलेको वाहन बङ्गाल पुलिसले सिज गरेको छ। आले खरसाङको चिम्नीमा भाजपा उम्मेदवार राजु विष्टको प्रचार प्रसारको निम्ति गएका थिए। यसैबीच वाहन सडकमा राखेर पूर्व सैनिक एसके राईका स्वास्नी सिकिस्त विरामी भएको सुनेर उनी राईको घरमा पुगेका थिए।

राखेका ठाउँबाट खरसाङ पुलिसले आलेको वाहन सिज गरेर चालकसहित खरसाङ थाना लगेको आलेले भोइजक्लिप सार्वजनिक गरेर जनाएका छन्। आलेले आफूहरू एकठाउँ सुरक्षित रहेको भएपनि पुलिसले आफूहरूलाई चारैतिरबाट घेराउ गरेर राखेको पनि बताएका छन्।

‘पुलिसले हामीलाई पक्राउ गर्ने कोसिस गरिरहेको छ। हामीले कुनै गलत काम गरेका छैनौं। चुनाउ प्रचारको लागि गएका हौं,’ आलेले भनेका छन्, ‘हामीले चुनाउ आयोगलाई नालिस गरेका छौं। चुनाउ प्रचारसमेत गर्न नपाउने यो बङ्गालको कस्तो कानून हो? आयोगले कठोर कार्वाही गरोस् भन्ने माग गर्दछु।’

आलेले भाजपा, मोर्चा, गोरामुमो, क्रामाकपा, गोर्खालिग सबैका नेतृत्वले यसबारे थानामा गएर सोधिखोजी गरिदिने अपील पनि गरेका छन्।

‘हामीलाई जे पनि हुनसक्छ। यो एट्रोसिटीको विरुद्ध आयोगले कार्वाही गरुन्,’ उनले भनेका छन्, ‘सत्यको जित हुनेछ। हामी गणतान्त्रिक लडाईँ लड्न छाड्ने छैनौं।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया