एनजीसी दुइ फ्याक ? : शक्ति गुरुङले भने-हाम्रो समर्थन राजु विष्टलाई : मुनिश तामाङले भने-कुनै उम्मेदवारलाई समर्थन गर्नै हाम्रो कार्यक्षमताको कुरा होइन

‘एनजीसीको लक्ष्य नै साझा उम्मेदवार ल्याउनु थियो,’ शक्ति गुरुङले संवाद माध्यमलाई भनेका छन्, ‘राजु विष्ट अहिले चर्चित छन्। सबैको साझा उम्मेदवार नै राजु विष्ट हुन्। हामी साझा उम्मेदवारलाई नै समर्थन गर्छौं।’


सिलगढी, 8 अप्रेल


राष्ट्रीय गोर्खाल्याण्ड कमिटी दुइ फ्याक बनेको छ। एउटा फ्याकमा एनजीसीका अध्यक्ष शक्ति गुरुङ छन्, जसले भाजपा उम्मेदवार राजु विष्टलाई समर्थन गरेका छन्। अर्को फ्याकमा एनजीसीका सचिव मुनिश तामाङ छन्, जसले कुनै पनि दलको उम्मेदवारलाई समर्थन गर्ने कुरा एनजीसीको कार्यक्षेत्रमा नपर्ने बताएका छन्।

आज भाजपाले गोर्खाहरूको पक्षमा मेनिफेस्टोमा 11 जातलाई जनजातिको मर्यादा दिने अनि पहाडको समस्याको स्थायी राजनैतिक सामाधान गर्ने कुरा उल्लेख गर्ने वित्तिकै शक्ति गुरुङखेमाबाट एउटा विज्ञप्ति जारी गरिएको छ।

एनजीसीको मूल मुद्दा छुट्टै राज्य रहेको अनि यसपल्टको लोकसभा चुनाउको लागि पहाडबाट साझा उम्मेदवार ल्याउन एनजीसीले बारम्बार प्रयास गरेको भन्दै साझा उम्मेदवार आउन नसके पनि गोजमुमो-गोरामुमो-क्रामाकपाले राजु विष्टलाई समर्थन गरेको बताइएको छ।

‘एनजीसीको लक्ष्य नै साझा उम्मेदवार ल्याउनु थियो,’ शक्ति गुरुङले संवाद माध्यमलाई भनेका छन्, ‘राजु विष्ट अहिले लोकप्रिय छन्। सबैको साझा उम्मेदवार नै राजु विष्ट हुन्। हामी साझा उम्मेदवारलाई नै समर्थन गर्छौं।’

यता एनजीसीका सचिव मुनिश तामाङले केहीदिन अघि मात्र खबरम्यागजिनसित कुनै एउटा दलको उम्मेदवारलाई समर्थन गर्ने कुरा एनजीसीको कार्यक्षेत्रमा नै नपर्ने बताएका थिए।

‘दार्जीलिङमा एनजीसीका केही सदस्य आफ्ना नीजि क्षमताले पुगेका छन्, तर उनीहरूले पनि कुनै दलको उम्मेदवारलाई समर्थन गर्नेबारे कसैसित बैठक गरेका छैनन्,’ तामाङले खबरम्यागजिनसित भनेका थिए, ‘व्यक्तिगतरूपमा कसैसित कुनै पनि दलको उम्मेदवारबारे कुराकानी हुनैसक्छ तर कसैको पनि व्यक्तिगत निर्णय एनजीसीको निर्णय होइन। किन भने यसरी समर्थन गर्ने कुरा एनजीसीको कार्यक्षेत्रमा नै पर्दैन।’

यता शक्ति गुरुङले भने आफूले डा. हर्कबहादुर छेत्रीलाई पनि साझा उम्मेदवार रहेको राजु विष्टलाई सहयोग पुऱ्याउन  सम्झाउन भेटघाट गरेको तर यस्तो हुन नसकेको पनि खुलाएका छन्।

शक्ति गुरुङको वयान एकातिर, मुनिश तामाङको कुरा अर्कोतिर देखापरेकोले एनजीसीमा फुट आइसकेको स्पष्ट बनेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया