राजनैतिक व्यक्तित्वहरूमाथिको आक्रमणले मतादाताहरूमा भय छाएको दाबी : निष्पक्ष चुनाउको लागि सुरक्षा बल झिकाउन आयोगलाई अपील

‘हामी सम्पूर्ण गठबन्धित पार्टी, गोरामुमो, गोजमुमो, क्रामाकपा, गोरानिमो, गोर्खालिग पहाडमा निष्पक्ष चुनाउ गराउन शीघ्र नै पारा मिलिटेरी फोर्स झिकाउन भनी अपील गर्छौं,’ पत्रमा लेखिएको छ, ‘भएका आक्रमक घटनाहरूमाथि शीघ्र नै जाँच होस् अनि दोषीहरूलाई कार्वाही होस् भन्ने माग गर्दछौं’


कालेबुङ, 8 अप्रेल


हिंसात्मक घटनाले चुनाउ छेक मतादाताहरूमा भय उत्पन्न भएको र यसप्रकारका घटनाले चुनाउ निष्पक्ष नहुने भन्दै भाजपा उम्मेदवार राजु विष्टलाई समर्थन गरेका सबै दलले चुनाउ आयोगसमक्ष नालिस गरेको छ। सबै दलले सामुहिकरूपमा नालिस गरेको  भाजपा समूहका चुनाउ कर्मी तोपदेन भोटियाद्वारा हस्ताक्षरित पत्र चुनाउ आयोगलाई पठाइसकेको भोटियाले खबरम्यागजिनलाई बताएका छन्।

पत्रमा राजनैतिक व्यक्तित्व अदित्य राई, सामुएल राईमाथि प्राणघातक आक्रमण भएको उल्लेख गर्दै यसप्रकारको घटनाले मतदाताहरूमा भय सिर्जना गरेको उल्लेख गरिएको छ। ‘राजनैतिक व्यक्तित्वहरूमाथि यसप्रकारको आक्रमण हुनुले जनतामा आतङ्क सिर्जना गरेको छ,’ पत्रमा लेखिएको छ, ‘यसले चुनाउ निष्पक्ष हुनुमा बाधा गर्ने देखिएको छ। हामी पहाडमा निष्पक्ष चुनाउ होस् भन्ने माग गर्दछौं।’

यसप्रकारका घटनाहरू रोक्न चुनाउ आयोग शीघ्र नै कार्वाहीमा उत्रनुपर्ने र यस प्रकारका घटना फेरि नदोहोरियोस् भन्ने अपील पनि आयोगलाई गरिएको छ।‘हामी सम्पूर्ण गठबन्धित पार्टी, गोरामुमो, गोजमुमो, क्रामाकपा, गोरानिमो, गोर्खालिग पहाडमा निष्पक्ष चुनाउ गराउन शीघ्र नै पारा मिलिटेरी फोर्स झिकाउन भनी अपील गर्छौं,’ पत्रमा लेखिएको छ, ‘भएका आक्रमक घटनाहरूमाथि शीघ्र नै जाँच होस् अनि दोषीहरूलाई कार्वाही होस् भन्ने माग गर्दछौं’।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया