अमरसिंह राईले दिए राजु विष्टलाई जवाब :  भने-पर्जापट्टाबारे काम गर्न नसक्नुको कारक नै विमल गुरुङको हस्तक्षेप

‘राजु विष्टले पर्जापट्टा दिने भन्दैछन्, अब केन्द्र सरकारको अधीनमा नरहेको पर्जापट्टा कसरी दिलाउने?,’ उनले भनेका छन्,  ‘पर्जापट्टाको सन्दर्भमा जनतालाई कसले ढाँटिरहेको छ?’


दार्जीलिङ, 8 अप्रेल


राजु विष्टले चियाबारीको पर्जापट्टा सन्दर्भमा कोलकतामा गर्नुपर्ने काम दिल्लीमा कसरी गर्ने? भनेर सोधेको प्रश्नको उत्तर दिँदै तृणमूल उम्मेदवार अमरसिंह राईले भनेका छन्, ‘राजु विष्टको कुराबाटै बुझिन्छ, पर्जापट्टाको मुद्दामा नरेन्द्र मोदीले केही गर्न सक्दैन। यो राज्यको अधिकारभित्रको क्षेत्र हो र राज्य सरकारलेमात्रै पर्जापट्टा दिनु सक्छ। पहाड़वासीलाई पर्जापट्टा कसले दिलाउन सक्ने रहेछ भन्ने कुरा राजु विष्टकै भाषणलाई केन्द्र गरेर पनि जनताले बुझ्नुपर्छ।’

राईले आफूले विधायक हुँदा पर्जाप्टाकोलागि काम गर्न नसक्नुमा विमलको गुरुङको हस्तक्षेपलाई कारक बताएका छन्।

‘मलगायत खरसाङका विधायक डा. रोहित शर्मा अनि कालेबुङका विधायिका सरिता राई राज्यसित वर्किङ रिलेशन राखेर जनप्रतिनिधिको रूपमा जनहितमा कार्य गर्नुपर्छ भनेर विमल गुरूङसित लगातार सुझाउ राख्दा पनि विमल गुरूङले केवल बङ्गालसित बगावत गर्न लगाए,’ राईले भनेका छन्, ‘हरेक कुरामा विरोध गर्न लगाए। यही कारण बङ्गालको विधानसभामा हाम्रो कुनै कुरा सुनिएन।  न त हामीलाई हाम्रो मुद्दाहरूमाथि बोल्ने मौका नै प्रदान गरियो। हामीले चाहेरै पनि जनताको आशा- आकांक्षाअनुसार होइन तर विमल गुरूङको इच्छाअनुसार कार्य गर्नुपऱ्यो।’

राईले सबै दोष विमल गुरुङमाथि खनाउँदै विमलबाट मुक्त बनेपछि गरेको कामकोफेहरिस्त राजु विष्टलाई हेर्ने आग्रह पनि गरेका छन्। विमल गुरुङले बाँधिदिएको हात विनय तामाङले खोलिदिएको भन्दै उनले त्यसपछि नै  स्टेट युनिभर्सिटी, शिक्षक नियुक्ति, शिक्षकहरू पेन्सन, निम्नोच्च- उच्च विद्यालयहरूको स्थापना, आइटीआई केन्द्र अनि कलेजहरूको निर्माणलगायतका काम गरेको पनि जनाएका छन्।

राईले, विमल गुरूङले कहिल्यै पनि पहाड़वासीलाई पर्जापट्टा प्रदान गर्ने दिशामा कार्य नगरेको आरोप पनि लगाए। तर विनय तामाङले भने नेतृत्व सम्हाल्ने वित्तिकै पर्जापट्टाको मुद्दा उठाए पनि बताएका छन्।

‘पर्जापट्टाको राज्य सरकारको अधीनमा रहेकोले राज्य सरकारले नै दिन सक्नेछन्। जसरी मिरिकका नागरिकहरूलाई दिए त्यसरी नै राज्य सरकारले दार्जीलिङ पहाड़का चियाकमान अनि अन्य भूमिहाराहरूलाई पर्जापट्टा प्रदान गर्नेछ,’ राईले भनेका छन्,  ‘चुनाउपछि हामी दार्जीलिङ पहाड़का 87 प्रतिशत भूमिहीन मानिसहरूलाई उनीहरूको जमीनको मालिकाना हक दिलाएर छोड़्नेछौं।’

उनले सासंद भएर दिल्लीमा गर्नुपर्ने कार्यसूचि अलग्गै रहेको र आफू राज्य निकट रहेकोले पर्जापट्टाको काम गर्ने बताएका छन्।  ‘राजु विष्टले पर्जापट्टा दिने भन्दैछन्, अब केन्द्र सरकारको अधीनमा नरहेको पर्जापट्टा कसरी दिलाउने?,’ उनले भनेका छन्,  ‘पर्जापट्टाको सन्दर्भमा जनतालाई कसले ढाँटिरहेको छ?’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया