जनतासित एसडीएफ बाहेक अरू विकल्प नै छैन: एसडीएफ

गान्तोक, 09 अप्रेल । सत्तारूढ़ सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीले राज्यका जनतालाई प्रजातान्त्रिक मूल्य अनि मान्यताको पक्षमा आफ्नो बहुमूल्य मतदान गर्ने अपील गरेको छ। एसडीएफ प्रवक्ता भीम दाहालले मंगलबार इन्दिरा बाइपासस्थित पार्टी मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो अपील गरेका हुन्।

उनले सिक्किमका तमाम राजनीतिक दलहरू मध्ये एसडीएफ पार्टी मात्र जनताको साथमा तथा सिक्किमको नवनिर्माणको निम्ति रहेको दाबी गरे। उनले भने, एसडीएफ पार्टीले सिक्किमे जनतालाई आत्मनिर्भर बनाउने जिम्मावारी आफ्नो कार्यक्रममा समाहित गरेको छ। उनले एसडीएफको घोषणा पत्र अग्रणी रहेको र एसडीएफले सिक्किमको नवनिर्माणको खाका भएको भिजन डकुमेन्टको रूपमा आफ्नो घोषणा पत्र तयार रहेको बताए। आफ्ना घोषणाहरूलाई कार्यरूपमा उतार्न पनि जनताको समर्थन चाहिएको उनले बताए।

उनले आजदेखि चुनाउ प्रचार थामिएको बताउॅंदै आजसम्म जसरी एसडीएफ कार्यकर्ताहरूले शान्तिपूर्वक र नियमबद्ध रूपमा चुनाउ प्रचारलाई अगाड़ी बढाउने काम गरे त्यसरी नै  अबउसो पनि शान्तिसॅंग बसेर उदाहारण प्रस्तुत गर्न अपील गरे। प्रवक्ता दाहालले सिक्किमका मतदाताहरूलाई एसडीएफ पार्टीको पक्षमा मतदान गरेर एसडीएफलाई विजयी बनाउने अपील पनि गरे।

यसैगरि, प्रवक्ता केटी ग्याल्छेनले एसडीएफ पार्टीले सिक्किम र सिक्किमे जनताको हितमा राजनीति गर्दै आएको बताए। उनले सिक्किमका जनताको निम्ति एसडीएफ एकमात्र विकल्प रहेको पनि दाबी गरे। विपक्षी एसकेएम अनि भाजपाबारे प्रतिक्रिया गर्दै उनले भने, एसकेएम र भाजपाबीच गठबन्धन हुनु नसकेको बताइए तापनि भित्री रूपमा दुई दलको गठबन्धन जीवित छ। सिक्किममा सिक्किमेको राज हुनुपर्छ। जनताले यो कुरालाई बुझ्नु आवश्यक छ।

अर्कातिर, भाजपाले युनिफर्म सिविल कोड लागू गर्ने र धारा 370 उड़ाउने नीति आफ्नो घोषणा पत्रमा उजागर गरेको उनले दाबी गरे। उनले युनिफर्म सिविल कोड संविधानको, अल्पसंख्यकहरूको तथा जात—जातिको विरोधमा रहेको बताए। यसैगरि उनले धारा 371एफ प्रति भाजपाको सोच के छ प्रदेश भाजपाले आफ्नो अड़ान स्पष्ट गर्नुपर्ने बताए।

यसरी नै प्रचार प्रचार महासचिव सुश्री कविता सुब्बाले एसडीएफ सरकारमा नारी सशक्तिकरणमाथि व्यापक काम भएको दाबी गरिन्। उनले राज्यका नारीहरू आज प्रत्येक क्षेत्रमा अगाड़ी बढ्न सक्षम बनेको बताइन्। एसडीएफ पार्टीको यो नीतिलाई निरन्तरता दिन एसडीएफ उम्मेदवारहरूलाई भारी मतले विजयी बनाउने उनले अपील पनि गरिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया