उप-स्वास्थ्य केन्द्रमा कार्यरत अस्थायी कर्मचारीहरूले गरे चुनाउ बहिष्कार

दार्जीलिङ, 9 अप्रेल


दार्जीलिङ पहाडका 8 वटा खण्ड अधीनस्थ विभिन्न उप-स्वास्थ्य केन्द्रमा कार्यरत अस्थायी कर्मचारीहरूले आफ्नो माग पूर्ण नभए भोट बहिष्कार गर्ने चेताउनी दिएका छन्। उनीहरूले आफ्नो स्थायीकरणको मूल लिएर सम्बन्धित निकायहरूसमक्ष अपील गरेको धेरै भए पनि अझैसम्म उनीहरूको माग पूर्ण भएको छैन, यसैले आफ्नो माग पूर्ण नभएपछि उनीहरूले भोट नै बहिष्कार गर्ने चेताउनी दिएका छन्।

सुके-जोरबङ्लो खण्डअन्तर्गत धोतरिया तुङसुङ उप-स्वास्थ्य केन्द्रमा विगत 15 वर्षदेखि अस्थायी स्वास्थ्यकर्मीकी रूपमा कार्यरत सन्तोकी राईले हालसम्म केवल मासिक 2 हजार रूपियाँ वेतनको रूपमा पाउने गरेको जनाउँदै यसले घर चलाउन महामुस्किल परिरहेको बताइन्।

उनले भनिन्-यस विषय लिएर हामीले सम्बन्धित निकायसमक्ष धेरैपल्ट गुहार लगाइसकेका छौं, तर अहिलेसम्म पनि यसमाथि कुनै ठोस कार्वाही भएको छैन। उनले सुकेपोखरी खण्डका विभिन्न उपस्वास्थ्य केन्द्रमा मात्रै 22 जना अनि जीटीए क्षेत्रका 8 वटा खण्ड विकास क्षेत्रका उपस्वास्थ्य केन्द्रहरूमा मोठ 111 जना अस्थायी कर्मीहरूले अति नै निम्न दरको वेतनमा काम गरिरहेको जानकारी गराइन्।

उनले भनिन्-एकजना स्थायी स्वास्थ्य कर्मीले जे काम गर्नुपर्छ, त्यसको तुलनामा यी अस्थायी कर्मचारीहरूले अझै बेसी काम गर्नुपर्छ। यसैले यस दिशामा शीघ्र ठोस पहल नभए हामी 111 जना कर्मचारीका परिवारले नै भोट बहिष्कार गर्नेछौं। सन्तोकी राईको परिवारमा 5 जना सदस्य छन् र उनीहरू 5 जना नै मतदाता हुन्। यसरी नै सियोक उप स्वास्थ्य केन्द्रमा काम गरिरहेकी करिश्मा गुरूङको घरमा 12 जना सदस्य छन्, जसमध्ये 8 जना मतदाता छन्।-प्रतिविम्ब

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया