अमीत शाह भोली कालेबुङ आउँदै: राष्ट्रिय सचिव कैलाश विजयवर्गीयले गरे जनसभास्थलको निरिक्षण, भने, ‘भाजपाको संकल्पपत्रको कारण पहाड अनि गोर्खा समाजमा उत्साह छ’

 ‘विशेष गरी भाजपाले आफ्नो संकल्पपत्रमा पहाडको लागी जुन प्लानिङ गरेको छ, गोर्खा समाजको लागि जुन घोषणाहरू गरेको छ, 11 वटा जातगोष्ठीलाई अनुसूचित जनजातिभित्र अन्तर्भुक्त गर्ने कुरा गरेको छ, त्यसले गर्दा सम्पूर्ण गोर्खा समाज उत्साहित छ’-विजयवर्गीयले भने, ‘हामी यहाँ त्यसरी नै  विकास गर्ने योजना बनाउँदैछौँ जसरी आसाममा, त्रिपुरामा विकास गरेका छौँ।’

प्रज्ज्वल छेत्री/कालेबुङ, 10 अप्रेल:

कैलाश विजयवर्गीय कालेबुङमा

दार्जीलिङ संसदीय क्षेत्रका भाजपा उम्मेद्वार राजु विष्टको समर्थनमा चुनाउ प्रचारका निम्ति भोली 11 अप्रेलका दिन भाजपा राष्ट्रिय अध्यक्ष अमीत शाह कालेबुङ आउँदैछन्। कालेबुङ शहरदेखि लगभग 3 किलोमिटर टाडामा रहेको होम्सस्थित रोनाल्ड्से पार्कमा अपह्रान्न 12 बजी भाजपाको जनसभालाई अमीत शाहले सम्बोधन गर्ने कार्यक्रम छ। यसैले आज जनसभाको ठिक एकदिनअघि भाजपा राष्ट्रिय महासचिव  एवं बङ्गाल प्रभारी कैलाश विजयवर्गीय कालेबुङ आएर जनसभास्थलको निरिक्षण गरे। उनले कार्यक्रमस्थलको नरिक्षण, कार्यकर्ताहरूसित भेटघाट एवं सुरक्षा व्यवस्थाको पनि जानकारी लिए। उनीसितै सह-प्रभारी अरविन्द मेनन, उत्तर बङ्गाल प्रभारी रतिन बोस, जिल्ला अध्यक्ष मनोज देवान अनि  आईटी सेलका आनन्द बन्साली पनि प्रमुख रूपमा उपस्थित थिए।

मैदान सानो लाग्यो:

कैलाश विजयवर्गीयले जनसभास्थलको निरक्षण गर्दै मैदान सानो लागेको अनि सडकहरूसमेत साँघुरो लागेको बताए। ‘मानिसहरू धेरै आउँछन् त्यसहिसाबले ठाउँ सानो नै हुन्छ’-विजयवर्गीयले भने, ‘ साँघुरो सडकहरूको कारण गाडीहरूको जाम लाग्नसक्छ, हामी प्रशासनसित कुरा गर्छौँ अनि प्रशासनले सहयोग गर्ने अपेक्षा पनि गर्छौँ।’ दार्जीलिङमा बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जीको कार्यक्रम रहेको अनि अनुमति नपाएको कारण कालेबुङमा सभा गरिरहेको उनले बताए।

गोर्खा समाज उत्साहित छ

उनले भोलीको जनसभा सत प्रतिशत सफल हुने दावी गर्दै अमीत शाहलाई सुन्न धेरै मानिसहरू आउने बताए। ‘विशेष गरी भाजपाले आफ्नो संकल्पपत्रमा पहाडको लागी जुन प्लानिङ गरेको छ, गोर्खा समाजको लागि जुन घोषणाहरू गरेको छ, 11 वटा जातगोष्ठीलाई अनुसूचित जनजातिभित्र अन्तर्भुक्त गर्ने कुरा गरेको छ, त्यसले गर्दा सम्पूर्ण गोर्खा समाज उत्साहित छ’-विजयवर्गीयले भने, ‘हामी यहाँ त्यसरी नै  विकास गर्ने योजना बनाउँदैछौँ जसरी आसाममा, त्रिपुरामा विकास गरेका छौँ।’ उनले दार्जीलिङ विकासबाट वञ्चित रहेको अनि यहाँ भाजपाले विकास गर्ने भएकोले मानिसहरू धेरै उत्साहित रहेको उनले बताए।

गोर्खाल्याण्डबारे अहिले नै टिप्पणी गर्नु उचित हुँदैन

अलग राज्य गोर्खाल्याण्डको सन्दर्भमा कैलाश विजयवर्गीयले टिप्पणी गर्न नचाहे पनि आफूहरू गोर्खाहरूले न्याय पाउन् अनि सम्मान पाउन् भन्ने पक्षमा नै रहेको बताए।

‘हामी गोर्खा समाजलाई धेरै सम्मान गर्छौँ। यो देशको सेनामा गोर्खाहरूको जुन भूमिका छ त्यो धेरै महत्त्नवपूर्ण छ’-उनले भने, ‘उनीहरूले न्याय पाउन्, सम्मान पाउन्, उनीहरूको संस्कार-संस्कृतिको रक्षा होस्, यसको हामी पक्कै चिन्ता गर्छौँ। जहाँसम्म अलग राज्यको प्रश्न छ, यसबारे अहिले नै टिप्पणी गर्नु उचित हुँदैन।’

जनता तृणमूलमुक्त प्रदेश चाहन्छन्

कुचबिहान अनि अलिपुरद्वारको सबै बुथहरूमा केन्द्रिय सुरक्षा बल नभएपनि जनतामा उत्साह रहेको कारण जनता आफैले केन्द्रिय बलको भूमिका निर्वाह गर्ने विगयवर्गीयले बताए। उनले ममतालाई उखेल्न यसपल्ट भाजपाको पक्षमा मतदान गर्ने अनि कुचबिहार र अलिपुरद्वारको सिट पनि भाजपाले नै जित्ने दावी गरे।

‘टीएमसीमुक्त प्रदेश होस् भनेर जनताको इच्छा छ’-उनले भने, ‘जहाँ केन्द्रिय बल छैन त्यहाँ जनता फोर्स भएर खडा हुनेछन्।’

ममताको परिवार सबैभन्दा ठूलो भ्रष्टचारको परिवार

कुचबिहारमा पुलिस अधिकारीको स्थान्तरणबारे ममता ब्यानर्जीले गरिरहेको प्रतिक्रियाबारे बोल्दै विजयवर्गियले देशमा कुनै पनि कुरामा पारदर्शी नदेख्नु ममता ब्यानर्जीको विशेषता रहेको बताए।

‘ममता व्यानर्जीले कसैलाई पनि इमान्दार देख्दैन् जबकी सबैभन्दा भ्रष्टचार ममता अनि उनको परिवारले गर्दैछन्’-विजयवर्गीयले आरोप लगाउँदै भने, ‘उनको बुहारीको दुईवटा पासपोर्ट छ जसमा पीताको नाम अलग अलग छ। कहिले पिता बल्दिन्छ?’

उनको भतिजको सम्पत्ति लगायका धेरैवटा यस्ता कुराहरू रहेको जसले गर्दा बङ्गालमा भ्रष्टचारको सबैभन्दा ठूलो परिवार कहीँ छ त्यो ममताको परिवार रहेको उनले आरोप लगाए।

बङ्गालमा अधिकारी र नोकरशाहको राजनीतिकरण

कैलाश विजयवर्गीयले देशमा बङ्गाल बङ्गालमा अधिकारी र नोकरशाहहरूलाई लिएर जति राजनीतिकरण भएको छ त्यति कुनै पनि ठाउँमा नभएको दावी गरे। उनले सीबीआईले पुलिस कमिश्नरको घरमा छापा मार्दा समेत मुख्यमन्त्री उनकै घरमा पुगेको अनि धरणामा बसेको उदाहरणहरू दिए।

‘सीबीआईले जब पुलिस  कमिश्नरको घरमा छापा मार्छ तब मुख्यमन्त्री उसको घर जान्छन् अनि कमिश्नर र मुख्यमन्त्री धरणामा बस्छन्’-उनले भने, ‘देशमा स्वतन्त्रतापछि मैले यस्को कहीँ देखेको छुइनँ जहाँ अधिकारी र राजनैतिक दल केन्द्र सरकारविरूद्ध सँगै धरणामा बस्छन्।’

ममतालाई उखेलेर फ्याँक्ने सङ्कल्प

‘सबै परिस्थितिहरूलाई हेर्दा पश्चिम बङ्गालका जनताले ममता ब्यानर्जीलाई उखलेर फ्याँक्ने सङ्कल्प लिएको छ यो मेरो दावी हो’-उनले भने,  ‘पश्चिम बङ्गालमा भाजपाको यति धेरै सिट आउँछ कि मानिसहरू आश्चर्यचकित हुनेछन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया