बहाई स्कूल रोडमा 35 वर्षिय व्यक्तिको हत्या, आरोपी टाप

गान्तोक, 10 अप्रेल। सिक्किमको राजधानी गान्तोक नजिक सदर थानाको प्रशासनिक क्षेत्रमा पर्ने बहाई स्कूल रोड निवासी 35 वर्षिय एक युवकको हत्या भएको घटनाले राज्यभरि सनसनी फैलिएको छ। पंचमान राई उर्फ जोना राईको हत्या 9 अप्रेलको रातमा भएको पुलिस सूत्रले बताएको छ। घटनाबारे जानकारी दिॅंदै सिक्किम पुलिसका डीआईजी डीबी गिरीले मृतक राईको शव आज बिहान फेला परेपछि पुलिसले 7:30 बजी खबर पाउन साथै घटनाबारे छानबिन शुरू गर्दा उनीमाथि धारदार ​हतियारले प्रहार गरेर हत्या गरेको पुष्टि भएको बताए। पुलिसले सदर थानामा मृतकको भाई माइकल राईको प्राथमिकी दर्ता गर्दै भारतीय दण्ड संहिताको धारा 302 अन्तर्गत हत्याको मामिला दर्ता गरेर अपराधीलाई खोज्ने प्रयास थालेको बताए। यसै क्रममा प्रारम्भिक जॉंचमा मृतककै साथी मानिने अर्जुन नामक व्यक्तिको नम्बरबाट मृतकको आमा ज्योति राईलाई फोन गरेर धम्काएको घटना प्रकाशमा आएपछि अहिले उक्त व्यक्ति नै हत्याको मूल आरोपी भन्ने थाहा लागेको डीआईजी गिरीले बताए। यद्यपि, अहिले उक्त आरोपीको फोन बन्द रहेको तथा उनको फोटो र जानकारी राज्यभरि सार्वजनिक गरिएको साथै छिमेकी राज्यको दार्जीलिंग कालेबुंग र अन्य थानाहरूमा पनि आरोपीको सूचना पठाइसकेको बताए। घटनाबारे राजनीतिक षडयन्त्रको अहिलेसम्म कुनै गन्ध नआएको पनि डीआईजी गिरीले बताए। पुलिसले अहिले लुइंगमा अस्थायी रूपमा बस्दै आएको कथित हत्यारा अर्जुनलाई खोज्ने र मृतदेहको पोस्टमार्टम गरेर अझ विस्तृत छानबिन गरिरहेको बताए। मृतदेह पोस्टमार्टमपछि परिवारको सदस्यको इच्छानुसार भोलि हस्तान्तरण गरिने निर्णय गरेर मणिपाल अस्पतालको शवगृहमा राखिएको पनि जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया