सिक्किमको चुनाउमा 568 मतदान केन्द्रको निम्ति मतदान कर्मचारी प्रस्थान

गान्तोक, 10 अप्रेल। सिक्किमको 10औं विधानसभा र 17औं लोकसभाको चुनाउ गराउन राज्यको 568 मतदान केन्द्रहरूको निम्ति मतदान कर्मचारीहरू सम्पूर्ण सामग्री सहित प्रस्थान गरेका छन्। मतदान कर्मचारीहरूले आवश्यक दस्तावेज सहित ब्यालेट युनिट, वीवीपीएटी र कण्ट्रोल युनिट लिएर आआफ्नो सम्बन्धित मतदान केन्द्रको निम्ति प्रस्थान भएका छन्।

राज्यको 32 वटा विधानसभा आसनको निम्ति रहेका 150 उम्मेदवार र एक्लो लोकसभाको निम्ति मैदानमा उत्रिएका 11 जना उम्मेदवारको निम्ति चुनाउ गराउन 3 हजार 6 सय मतदान कर्मचारी खटाइएको छ। जसमा आरक्षित कर्मचारी पनि सामेल रहेका छन्। यस अतिरिक्त शान्तिपूर्ण ढंगमा मतदान सम्पन्न गराउन 4 हजार प्यारा मिलीटेरी तथा पुलिस बल पनि खटाइएको छ।

11 अप्रेलको दिन बिहान 7 बजीदेखि अपरान्ह पॉंच बजीसम्म सम्पन्न हुने आम चुनाउमा 4,32,306 जना मतदाता रहेका छन्। प्रत्येक जिल्लाबाट मतदान कर्मचारीहरू बिहान 9:30 बजीदेखि नै आआफ्नो सम्बन्धित मतदान केन्द्रतिर प्रस्थान गरेका छन्। ती मध्ये पूर्व सिक्किमको नाथांग माछोंगको कुपुप प्राथमिक पाठशाला सबै भन्दा उॅंच्चाईमा रहेको मतदान केन्द्र हो भने 13,400 फीटको उॅंच्चाईमा रहेको यो मतदान केन्द्रमा 288 मतदाता रहेका छन्। सिक्किमको यो चुनाउमा सर्वाधिक मतदाता मतदान केन्द्र पूर्व सिक्किमको आरिथांग निर्वाचन क्षेत्रको आरिथांग निम्न माध्यमिक विद्यालयको एक नम्बर कोठामा रहेको छ जसमा 1405 जना मतदाता छन् भने सबै भन्दा कम्ति मतदाता भएको मतदान केन्द्र दक्षिण सिक्किमको पोकलोक कामरांगको पेगजेर प्राथमिक पाठशालाको मतदान केन्द्र हो जहॉं 175 जना मात्र मतदाता रहेका छन्। यसैगरि, 49 वटा महिला मतदान केन्द्रहरू रहेको छ भने सबैभन्दा वृद्ध मतदाता 105 वर्षीय सुमित्रा राई पोकलोक कामरांग निर्वाचन क्षेत्रका मतदाता हुन्।

11 अप्रेलको दिन मतदान सकिएपछि 23 मईको दिन देशको आम चुनाउको परिणामको निम्ति हुने मतगणनासितै सिक्किमको पनि चुनाउ परिणाम घोषणा हुनेछ। पूर्व जिल्लाको नाथाङ माछोङ क्षेत्रको सबैभन्दा दूर्गम मतदान केन्द्र कुपुप र थेगु पनि मतदान कर्मचारीहरू 5 बजेर 40 मिनटसम्म पुगी सकेको पूर्व जिल्ला रिटर्निङ अधिकारी कपिल मिनाले बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया