सिक्किमको चुनाउ शान्तिपूर्ण सम्पन्न पाँच बजीसम्म 69 प्रतिशत मतदान  

गान्तोक, 11 अप्रेल। हिमाली राज्य सिक्किमको 17औं लोकसभा र 10 औं विधानसभाको चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको छ। समाचार प्रकाशित गर्ने क्रमसम्म 5 बजी साँझको आँकडा अनुसार 69 प्रतिशत मात्र राज्यभरि मतदान भएको मुख्य चुनाउ अधिकारी आर तेलाङले बताएका छन्। यद्यपी यो आँकडा 75 प्रतिशत सम्म पुग्न सक्ने सम्भावना व्यक्त गरिएको छ। जुन पछिल्लो चुनाउको तुलनामा कम मतदान दर्ता मान्न सकिन्छ।

राज्यको 32 वटा विधानसभा आसन  र एक्लो लोकसभा आसनको निम्ति सम्पन्न भएको चुनाउमा 150 जना विधानसभा प्रत्याशी रहेको राजनैतिक भाग्य इभीएममा जनताले बन्द गरिदिएका छन्। यसैगरि 11 जना लोकसभा प्रत्याशीको चुनावी भाग्य पनि निर्धारित गरेर आगामी 23 मईसम्मको निम्ति इभीएममा बन्द गरिदिएका छन्।

राज्यको अधिकांश मतदान केन्द्रहरूमा इभीएम मशिनमा आएको तकनिकी समस्याको कारणले गर्दा मतदान विलम्ब गरि शुरू भएकै कारण धेरै मतदाताहरूले लामो लहरमा उभिएर घण्टौसम्म मतदान केन्द्र बाहिर पर्खनु परेको अवस्था पाइयो।

अर्कोतिर राज्यको अन्तरराष्ट्रीय सीमा क्षेत्र भारत-चीन सीमा नाथुलाको नजिक कुपुप प्राथमिक पाठशालामा रहेको 13 हजार 4 सय फिटको उच्चाईको मतदान केन्द्रमा पनि मतदान भएको छ। जहाँ 288 जना मतदाता रहेका थिए। हिउँले ढाकिएको चिसो कुपुप गाउँमा पनि मतदाताहरूले उत्साहपूर्वक मतदान गरेका थिए।

यसैगरि 105 वर्षीय सुमित्रा राई सबैभन्दा वृद्ध मतदाता थिए। उनले पोकलोक कामराङ दक्षिण सिक्किम समष्टिमा आफ्नो मताधिकार प्रयोग गरे।

राज्यभरिमा  जम्मा 567 वटा मतदान केन्द्र रहेको थियो भने यसको निम्ति 36 हजार मतदान कर्मचारी, 4 हजार अर्ध सैनिक र पुलिस बल खटाइएको थियो।  चुनाउको निम्ति मतदान गर्ने योग्य मतदाताहरूको संख्या 432306 जना रहेका थिए।

अर्कोतिर यसपालीको चुनाउमा विशेष महिला सशक्तिकरणको नाममा 39 महिला मतदान केन्द्र अनि 28 वटा मोडल मतदान केन्द्र स्थापित गरिएको थियो।

यसपालीको चुनाउमा मुख्य राजनैतिक दलको रूपमा सत्तारूढ एसडीएफ पार्टी मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा 32 वटा विधानसभा र एक्लो लोकसभामा खडा छ भने प्रमुख विपक्षी दल एसकेएम पीएस गोलेको ऩेतृत्वमा 32 वटा विधानसभा अनि एउटा लोकसभामा खडा भएर आपसी कडा टक्कर दिइरहेको छन्। यसैगरि सिक्किम रिपब्लिकन पार्टी, हाम्रो सिक्किम पार्टी, एसएनपीपी, कांग्रेस, भाजपा र केही निर्दलीय उम्मेद्वारहरू पनि रहेका छन्। जसले लोकसभ र राज्य सभमा आफ्नो प्रत्याशी उतारेका छन्। मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चमलिङले नाम्ची सिङ्गी थाङको न्यु नाम्ची स्कूलमा आफ्नी धर्मपत्नी टिका माया चामलिङसित मतदान गरे जहाँ मुख्यमन्त्री चामलिङ स्वयं उम्मेद्वारको रूपमा खडा भएका छन्। । यसैगरि पीएस गोलेले पनि आफ्नी धर्म पत्नी सारदा गोलेसित सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको  बीएड कलेजमा रहेको मतदान केन्द्रमा मतदान गरे। यो निर्वाचन क्षेत्रबाट गोलेका छोरो आदित्य गोले चुनाउमा उठेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया