चुनाउको ठिकअघि विशालले  गरे दार्जीलिङको राजनैतिक ‘पोस्टमोर्टम’

कालेबुङ, 12 अप्रेल:  लोकसभा चुनाउको छेक पारेर विशाल राईले दार्जीलिङे राजनीतिको ‘पोस्टमोर्टम’- गरेका छन्। चुनाउ आउन ठिक एक हप्ताअघि आज विशाल राईद्वारा लिखित राजनैतिक लेखहरूको सङ्ग्रह ‘पोस्टमोर्टम’-सार्वजनिक गरियो।

‘पोस्टमोर्टम-साहित्यिक कम राजनैतिक लेख धेर हो’- लेखक विशाल राईले भने, ‘105 दिनको दार्जीलिङ पहाड बन्द, त्यसको पृष्ठभूमि, त्यसको उपलब्धी, आन्दोलनमा चलखेल, नेतृत्वहरूको कमजोरी, गुप्तचरहरूको रिपोर्ट साथै आन्दोलनलाई दिशाहिन बनाउनमा कसको हात छ? भन्नेकुरा पनि पुस्तकमा उल्लेख छ।’

यहाँको दुःख निवारक सम्मेलन भवनमा आयोजित कार्यक्रममाझ ‘पोस्टमोर्टम’-लोकार्पण गरियो। कृष्ण बुढाथोकी, समशेर अली, टिडी लेप्चा, डा. आरबी भुजेल, बन्दना राई, किशोर प्रधान, सुखमान मोक्तान, हरिश मोक्तान, ललिल गोले लगायतका साहित्यिक, समाजिक एवं राजनैतिक कर्मीहरूको बाहुलीबाट पुस्तकको लोकार्पण गरियो।

पुस्तकबारे आफ्नो कुरा राख्दै विशाल राईले 105 दिनको आन्दोलनलाई केन्द्रमा राखेर डेढ महिनाभित्र यो पुस्तक तयार पारिएको बताए। उनले विगतदेखि आजसम्म दार्जीलिङको राजनैतिक स्तर धेरै घटिसकेको भन्दै दार्जीलिङको राजनैतिक स्तरलाई खसाल्न दिनु नहुने आह्वान गरे। दार्जीलिङले आफूले निर्णय गर्नुपर्ने राजनैतिक अधिकारहरू समेत गुमाइसकेको बताउँदै उनले प्रत्येकले दार्जीलिङको राजनैतिक स्तरलाई उठाउनुपर्ने बताए।

कार्यक्रममा कवि टिका भाइले  ‘साहित्य अनि समाज’-शीर्षकमा वार्ता प्रस्तुत गर्दै साहित्य नै भ्रामक छ भने समाज र सङ्घर्ष अघि बढ्न नसक्ने बताउँदै यहाँका राजनैतिक विसङ्गतीहरू केलाएका थिए।

फूलबारी साहित्य समिति टिस्टाले आयोजना गरेको कार्यक्रम दिलिप प्रसादले सञ्चालन गरेका थिए भने राकेश क्रान्तिकारी, शमसेर अली अनि वेग बसन्त थापाको कविता एवं अजय थापा अनि शिलास लिम्बुले साङ्गीतिक प्रस्तुती दिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया