विनय तामाङको बागडोर जोखिममा : जनताको हातमा पहाड र जातिको भविष्य

देखिएको कुरा

जुन सरकारले निर्दोष आन्दोलनकारीलाई गोली ठोक्यो, त्यही सरकारको झण्डा बोक्नु भनेको जातिघात हो। आफ्नै जाति र जनतालाई घात गर्नेहरूको राजनैतिक करियर लामो भएको उदाहरण संसारमा छैन। यसपल्ट पहाडका जम्मै दल मिलेर जनताको आकांक्षालाई भाजपालाई सम्बोधन गर्न बाध्य गरायो। अघिल्ला दिनहरूमा दलीय एकता नभएकैले भाजपालाई गोर्खाहरूको मुद्दाबारे निर्णय गर्नुपर्ने बाध्यात्मक स्थिति बनेन। तर यसपल्ट सबै दल एक भए र मेनिफेस्टोमा स्पष्टसित गोर्खाहरूको मुद्दा उल्लेख गर्न बाध्य पारे। भाजपाले नसक्ने कुरा सम्बोधन गर्न सक्दैन। बङ्गालको राजनैतिक समाजमा छिर्दै पनि बङ्गालको भोट नबिगारी यसपल्ट गोर्खाहरूको मुद्दालाई भाजपाले सम्बोधन गऱ्यो। जनाकांक्षा र पहाडको पक्षबाट हेऱ्यो भने भाजपाको यो प्रतिबद्धता अघिल्लो सिँडी उक्लिने स्पेस हो। यही सिँडीबाट पहाडका दलहरूले पहाड, तराई र डुवर्सको स्थायी राजनैतिक सामाधानसम्म पुग्न सक्छ।


 खबरम्यागजिन डेस्क


यसपालिको चुनाउ हारेमा विनय तामाङको बागडोर जोखिममा पर्ने सम्भावना बढेको छ। शुरुमा ममता व्यानर्जीले गोर्खा शक्तिलाई तोडिन्। ‘गोर्खा’ नेबुला (नेपाली भोटे, लाप्चे) पछिको सङ्गठित आइडियोलजी हो।

वाम सरकारले गोर्खाहरूलाई जातजातमा बाँडेर अल्पसंख्यक बनाउने युक्ति अघिबाटै जनगणनामार्फत गरिसकेका छन्। बाँडिएका जातगोष्ठीको हातमा करोडौं रुपियाँ थमाएर ममता व्यानर्जीले त्यसलाई देखिनेगरी सतहमा ल्याइन्।

राज्यसत्तालाई लाग्छ, गोर्खा छातामा सबै सङ्गठित बनेर आन्दोलनमा उत्रियो भने दार्जीलिङ बङ्गालबाट टुक्रिन्छ। त्यसै कारण विभिन्न बोर्डहरू दिएर ममता व्यानर्जीले गोर्खा एकता तोडिन्। व्यानर्जी, आफ्नो कुटनीति कति सफल भयो, त्यसको परिणाम अघिल्लो विधानसभा र नगरपालिका चुनाउमा हेर्न चाहन्थिन्।

दार्जीलिङ , मिरिक गोरामुमो र तृणमूललाई जिम्मा र कालेबुङ डा. हर्कबहादुर छेत्रीलाई जिम्मा लगाइन्।

दार्जीलिङ र मिरिकको नतिजाबाट ममता केही अंश खुशी त भइन् तर कालेबुङबाट नितान्तै रिसाइन्। किन भने सबैभन्दा पहिलो लेप्चा बोर्ड कालेबुङलाई नै दिएको हो। अन्य बोर्डहरू पनि कालेबुङलाई नै दिइएको हो। जिल्लासमेत दिइएको हो।  सबैभन्दा ठूलो अपेक्षा पनि कालेबुङबाट नै थियो। तर चुनावको मत प्रदर्शन भने उनको विरुद्धमा निस्कियो।

कालेबुङको जनताले ममता व्यानर्जीलाई लोप्पा खुवाइन्।

बोर्ड, जिल्लाको श्रेय र बुद्धिजीवी हर्कबहादुर लगाएर पनि विधानसभा र नगरपालिका चुनाउमार्फत कालेबुङ छिर्न नसकेपछि लेप्चा बोर्डका युसुफ सिमिक लगायत डा. हर्कबहादुर छेत्री समेतलाई ममता व्यानर्जीले दूधबाट झीङ्गा निकालेसरी फ्याँकिदिइन्।

यद्धपि, हर्कबहादुर छेत्री, युसुफ सिमिकहरू ममता व्यानर्जीलाई यसपालीको लोकसभामा आफ्नो हिस्साको सहयोग पुऱ्याउन कम्मर कसेका छन्। आफूहरूलाई प्रमाणित गरेरै छोड्ने प्रतिबद्धता उनीहरूमा देखिएको छ।

डा. छेत्री पहाड लगायत तराईको भोटसमेत विभाजन गर्न चाहन्छन्। जति भोट विभाजित भयो, उति तृणमूल काङ्ग्रेसले फाइदा पाउने समिकरणबारे डा. छेत्रीलाई राम्रै ज्ञान छ। उनी त्यसैको दौडधुपमा छन्।

अमेरिकी समाजशास्त्री टिबी बोटोमोरले भनेका छन्, ‘बुद्धिजीवी जहिल्यै सत्ताको फाइदाको लागि जनताको मुद्दालाई प्रयोग गर्ने शक्ति हो। डा. हर्कबहादुर छेत्रीलाई पनि पहाडमा बुद्धिजीवी मानिन्छ। उनले सँधै ममता सरकारको निकटमा बसेर राजनैतिक फाइदा लिएको इतिहास छ। उनी जनताका होइनन् ममताका हुन्। र त महेन्द्र लामा, अमर लामा र विशाल राई टिस्टेहरूजस्ता दुरदर्शी नेताहरू उनीदेखि टाडा छन्। को छन् त हर्कको नजिकमा? ममताकै पपेटहरू छन्।

यसपालि पनि उनले त्यही भूमिका निर्वाह गरिरहेका छन्।

जहिले पनि पहाडको मुद्दाबारे केन्द्रको ध्यानाकर्षण बढ्छ, तहिले राज्य सत्ताले पहाडको जनशक्तिलाई विभाजित गर्ने र आफ्नो वर्चस्वको राजनैतिक गोटी चाल्ने काम गर्ने गरेको छ। यसपालि ‘बङ्गबङ्ग होबेना’ भन्ने मुख्यमन्त्रीले आफ्नो पार्टीको मेनिफेस्टोमा पहाडका मानिसहरूलाई सहायता गर्ने, परियोजनाहरू दिने, अर्थनैतिक र सामाजिक विकास गर्ने अर्थात सार्विक विकासको लागि मात्र प्रतिबद्धता प्रकट गरिएको छ। चिन्हारीको कुनै बुँदा उल्लेख छैन।

पहाड र समतलको स्थायी विकासको लागि प्रयोजनीय बाटो खोजिनेबाहेक अर्थोक पहाडको लागि तृणमूलले कुनै कुरा उल्लेख गरेको छैन। ‘पहाड र समतलको स्थायी विकासको लागि प्रयोजनीय बाटो’ भनेको न त छैटौं अनुसूची हो, न युटी हो न छुट्टै राज्य।

स्थायी विकास भनेको चिन्हारीको विषय होइन। यद्धपि, यही ‘पहाड र समतलको स्थायी विकासको लागि प्रयोजनीय बाटो’-लाई विनय तामाङहरूले चिन्हारीको मुद्दासित जोडेर जनतामा भ्रम उत्पन्न गरिरहेका छन्।

यता भाजपाले यसपल्ट दुइवटा बुँदा स्पष्ट लेखेको छ, 11 जातलाई जनजाति र तराई, डुवर्स र पहाडको दीर्घकालीन मुद्दाको स्थायी राजनैतिक सामाधान। ‘राजनैतिक सामाधान’ भनेको विकासको मुद्दा होइन। यो कि त छैटौं अनुसूची हो, कि त युनियन टेरिटोरी हो कि त छुट्टै राज्य हो। किन भने ती तीनवटै अवसरहरू राजनैतिक समाधानका क्षेत्र हुन्।

भाजपाले देखाएको प्रतिबद्धतालाई पहाडका दलहरूले शक्तिकोरूपमा प्रयोग गरेर दवाब बनाउन सक्ने सम्भावना व्यापक छ। गर्न सक्ने आधार पनि बनेको छ। भाजपाले गोर्खाहरूलाई लिएर कसरी हेर्छ भन्ने कुरा भन्दा पनि भाजपालाई उनको प्रतिबद्धता पूरा गर्न गोर्खाहरूले निर्वाह गर्नुपर्ने भूमिका के हो? भन्ने कुरा नै प्रमुख हो।

भाजपा देशको ठूलो पार्टी हो र सरकार बने उसलाई सतहमा देखापरेका ठूला मुद्दाहरूसित जुझ्न पर्छ। सतहमा आउन नसकेका मुद्दाप्रति ध्यानाकर्षण हुँदैन पनि। ध्यानाकर्षण गर्न निरन्तर आन्दोलन चाहिन्छ। त्यही आन्दोलन भने पहाडमा बेचविखनको सामान बनेको छ-विनय तामाङहरूजस्ता नेताहरूको लागि। जब पनि ध्यानाकर्षण हुने सम्भावना रहन्छ, कुनै न कुनै नेता बिक्री हुन्छ। र जनताको सपना तुहिन्छ।

भाजपाले नदिएर होइन, नेतृत्वले दिनैपर्ने बाध्यता निर्माण गर्न नसकेर, दवाब दिन नसकेर नै पहाडका गोर्खाहरूले दुःख पाएका हुन्। नेतृत्वले जनताको सपनाको व्यापार गर्ने भएकोले पनि सँधै पहाडले हार बेहोर्नु परेको हो। त्यहीँमाथि राज्यसत्ता जहिल्यै आन्दोलन दबाउने मौका खोजिरहन्छ। यस्तोमा एक न एकजनाले गद्दारी गरेमा सारा गोर्खाको सपना तुहिन्छ। यसपल्ट भएको पनि त्यही हो।

यसपल्ट सतहमा अर्कै सम्भावना देखा परेको छ। भाजपाले पहिलोपल्ट मेनिफेस्टोमा गोर्खाहरूको लागि अलग्गै प्रतिबद्धता हालेको छ। यो मुद्दा र जातिको सवालमा निक्कै ठूलो प्राप्ति हो।

धरै ठूलो हुन नसकेपनि 11 जातले जनजाति पाएपछि छैटौं अनुसूची नै भयो भने पनि त्यो जीटीएभन्दा हजार गुणा ठूलो प्राप्ति हो। पक्कै पनि जनताको सपना छुट्टै राज्य हो, तर छुट्टै राज्यसम्म पुग्ने बाटो छैटौं अनुसूची पनि हो। छैटौंअनुसूचीको गाडीमा चढेर जानेहरू छुट्टै राज्यमा नै पुग्छ। तर जिटिएको गाडीमा चढेर जानेहरू पुग्ने भनेको जिटिएसम्म मात्र हो। पैसा र चौकीसम्म मात्र हो। पुलिसको आडमा गर्न सक्ने वर्चस्वको चलखेलसम्म मात्र हो।

विकास जिटिएले जति गर्न सक्छ, त्योभन्दा ठूलो निकायले त्योभन्दा धेर गर्न सक्छ। लाटा हिसाब हेर्दा पनि छैटौं अनुसूचीले  जिटिएको तुलनामा हजार गुणा धेर विकास गर्छ। यति हो, जसरी चुनाउमा सबै दल एक भए, उसरी नै जनता पनि हुनु पऱ्यो र केन्द्रलाई छैटौं अनुसूची वा त्यो भन्दा ठूलो कुराको लागि दवाब बनाउनु पऱ्यो।

त्यो दवाब पहाडले पठाएको संसादद्वारा नै गर्न सकिने हो। माध्यम सांसद नै हुन्। दलहरूको सामुहिक दवाब त चाहियो नै। अब पनि नेता बेचिनु भएन। यसो हुन सक्यो भने विमल गुरुङहरू आफ्नो घर फर्किन सक्नेछन्। आन्दोलनकारीहरू  फर्किन सक्नेछन्।

ममता व्यानर्जी र विनय तामाङले केन्द्र र राज्यको कोष मिलाएर जिटिएबाट गर्ने विकासभन्दा हजारौं गुणा धेर विकास त हुने नै भयो, विस्तारै जनताको सपनामा घाम पनि लाग्ने भयो। पुर्खाहरूले देखेको राजनैतिक सामाधानको बाटो अहिले दलीय एकताले पक्रिएको छ। यसलाई छोड्नु भएन।

स्पष्ट छ, विनय तामाङहरूले यसपालीको चुनाउ जितेमा पहाड जति नै हिँडेपनि पुग्ने ठाउँ जिटिए नै बन्नेछ। जुन जिटिएमा उल्लेख गरिएका विषय हस्तान्तरण गर्न अनेकौं कानूनहरू संसोधन गर्नुपर्छ। कति त यस्ता विभागहरू पनि जिटिएमा हालिएको छ, जो कानूनी हिसाबले पनि हस्तान्तर हुन सक्तैन।

कतिवटा विभाग राज्यसित जोडिएका विभागहरूको क्षमता असंवैधानिक जिटिएमा हस्तान्तरण गर्न सकिन्न। सक्ने भए विमल गुरुङले ‘विभागहरू सबै देउ’ भन्दा किन जङ्गल खेदाउँथे त?

विमल लाटा मुर्ख छन्, उनले लगाएको रट राज्यको तनावको विषय हो। यसैले विमललाई हटाएर कुनै ‘पपेट’-लाई जीटीएमा राख्न चाहन्थिन् ममता व्यानर्जी, जो अहिले पूरा भएको छ। पछिल्लो समय विमल गुरुङको प्रतिबद्धता प्रशंसायोग्य छ। राज्य र केन्द्रले ‘खेलाउने कुटनीति’-को शिकार त सुवास घिसिङ पनि बनेका थिए। विमल नबन्ने कुरा आएन। जबसम्म संयुक्त आवाजले सम्झौता गर्दैन केही हुनेवाला छैन।

विमल गुरुङले पछिल्लो समय ऱाज्य र केन्द्रको चलखेल बुझे। र नै मुद्दा र जातिप्रति प्रतिबद्ध बने। नत्र विमललाई सम्झौता गर्ने प्रशस्त मौका थियो। यसपालि विमलले त्यो मौकाको फाइदा उठाएनन्। र उनी अहिलेसम्म जनताको मनमा बसेका हुन्। नत्र जनताले बेकारका नेतालाई मनमा राक्दैन।

जिटिए वास्तवमा ‘ललिपप’-मात्र थिएछ भन्ने कुरा थाहा पाएदेखि नै विमल गुरुङले ममता व्यानर्जी विरुद्ध विद्रोह शुरू गरेका हुन्। त्यो अघि विमलले ममतालाई ‘आमा’ समेत भनेका हुन्। ममताको जयजयकार गरेका हुन्। ममताको प्यारो बनेका हुन्। जयगान गर्दासम्म ममता आफ्नो हुन्, अधिकार दाबी गर्दा पुलिसको गोली हुन्। विमलले अधिकार दाबी गरे र उनीमाथि गोली चलाए। जयगान गरेको भए अहिले विनय तामाङलाई झैं प्रेमिल बोली चलाउँथिन्। ममताको यो कुटनैतिक आनाबानी हो।

विमलले जब ‘आमा’-लाई आफ्नो अधिकार माग्न थाले विमल ममताको आँखामा किन बिझाए? जबसम्म विमल रहन्थे, तबसम्म ममतालाई सन्चो थिएन र नै उनले जिटिएलाई दिइनुपर्ने विभागहरू कानूनहरू संशोधन गरेर दिनको साटो विमल गुरुङलाई नष्ट गर्न नै धेर उर्जा खर्चिइन्।

पछिल्लो समय विमल समूह कै विनय तामाङले उनको हात दह्रो गरेपछि विमल गुरुङलाई अनेकौं मुद्दा थोपेर पहाडबाट बाहिर निकाल्न सक्षम बनिन्। ममता व्यानर्जी आफ्नो कुटनीतिमा दिनोदिन सफल बन्दै गइरहेकी छन्। किन भने उनलाई विनय तामाङहरूको साथ छ।

यद्धपि, विनय तामाङहरूको शक्ति विमलको अनुपस्थितिसम्म मात्र जिउँदो हो भन्ने कुरा जनता र सरकार दुवैलाई थाहा छ। कुनै पनि परिस्थितिमा विमल पहाड फर्किए विनय तामाङले टेकेको भुइँमा पैह्रो जान्छ। यो जनता र राज्य सरकार दुवैलाई बराबरी थाहा छ।

त्यही भयले नै ममता व्यानर्जीले विनय तामाङहरूलाई बचाउन भर्खरै बाघडोगरा एयरपोर्टलाई छाउनीमा रुपान्तर गरेकी हुन्। त्यही भयले नै पुलिसले विमल समर्थकहरूलाई एयरपोर्टभित्र पस्न निषेध गरेका हुन्। त्यही भयले नै बाटो छेकथुन गरेका हुन्। जो संविधानले दिएको अधिकार विरुद्धको पहल हो। अगणतान्त्रिक अभ्यास हो।

विनय तामाङलाई भूमिगत भएर मुद्दा बचाउनभन्दा ममता व्यानर्जीसित हात मिलाउनमा फाइदा लाग्यो। विमल गुरुङले आन्दोलन बिगारेको लाग्ने विनय तामाङहरूले आन्दोलन सपारेन। विमलले विगारेको थियो भने विनयले सपार्नु पर्ने होइन र?

विनयसित त आन्दोलनलाई सपार्ने मौका पनि थियो। विनय तामाङसित पहाडका जम्मै दल साथमा नै थियो। आन्दोलनलाई रणनीति प्रदान गर्ने क्षमता नभएकैले उनले आन्दोलनलाई जिटिएसित बेचेका हुन्, जो जगजाहेर छ। जेल जाने डरले नै उनले आन्दोलन बेचेका हुन्।

आन्दोलनको बागडोर विनय तामाङ कै हातमा थियो। आन्दोलनको बागडोर उनको हातमा थियो र नै जनान्दोलनलाई जिटिएमा उनलाई सम्झौता गर्न सजिलो पनि भयो। यो भनेको विनय तामाङले आफ्नो बचाउको स्वार्थमा पाएको मौकाको फाइदा लुटेको भन्ने बुझिन्छ।

विमल गुरुङले हिंसात्मक आन्दोलन गऱ्यो रे तर आन्दोलनको मूल डोरी आफूसित हुँदाहुँदै पनि अहिंसात्मक रणनीति तामाङले आन्दोलनलाई किन प्रदान गरेन? त्यसको साटो सम्झौता गर्नु भनेको सरासर गद्दारीबाहेक अर्को केही होइन भनेर सबैले भन्दै आइरहेकै छन्।

जुन सरकारले निर्दोष आन्दोलनकारीलाई गोली ठोक्यो, त्यही सरकारको झण्डा बोक्नु भनेको जातिघात हो। आफ्नै जाति र जनतालाई घात गर्नेहरूको राजनैतिक करियर लामो भएको उदाहरण संसारमा छैन।

यसपल्ट पहाडका जम्मै दल मिलेर जनताको आकांक्षालाई भाजपालाई सम्बोधन गर्न बाध्य गरायो। अघिल्ला दिनहरूमा दलीय एकता नभएकैले भाजपालाई गोर्खाहरूको मुद्दाबारे निर्णय गर्नुपर्ने बाध्यात्मक स्थिति बनेन। तर यसपल्ट सबै दल एक भए र मेनिफेस्टोमा स्पष्टसित गोर्खाहरूको मुद्दा उल्लेख गर्न बाध्य पारे।

भाजपाले नसक्ने कुरा सम्बोधन गर्न सक्दैन। बङ्गालको राजनैतिक समाजमा छिर्दै पनि बङ्गालको भोट नबिगारी यसपल्ट गोर्खाहरूको मुद्दालाई भाजपाले सम्बोधन गऱ्यो।

जनाकांक्षा र पहाडको पक्षबाट हेऱ्यो भने भाजपाको यो प्रतिबद्धता अघिल्लो सिँडी उक्लिने स्पेस हो। यही सिँडीबाट पहाडका दलहरूले पहाड, तराई र डुवर्सको स्थायी राजनैतिक समाधानसम्म पुग्न सक्छ।

भाजपाको यो रणनीति थाहा पाएपछि ममता व्यानर्जीले सिलगढीमा डेरा नै हालिन्। यसको अर्थ उनको मनमा ढ्याङ्ग्रो बजिसकेको छ भन्ने पनि हो। ममता जाति फुटाएर अहिले जनमुद्दालाई सँधैको निम्ति नष्ट गर्ने कुटनीतिमा छन्। यसको निम्ति उनले पैसा र चौकीलोलुप र महत्वाकांक्षीहरूको सहयोग पाएकै छन्। ममता व्यानर्जीले उनीहरूमाथि धेरै ठूलो विश्वास गरेकी छन्।

त्यो विश्वास ‘घात’-मा परिणत भयो भने विनय तामाङहरूको अवस्था के होला त? जनताले गद्दारीको जवाब व्यालेटबाट दियो भने जिटिएको चौकी कता पुग्ला? किन भने माहौल यस्तो बनेको छ कि भोट हाल्न अघि सबैको आँखामा पुलिसको गोलीले ढलेको आफ्नो सन्तानको नक्सा अघि आउनैसक्छ। आफ्नै जातिको घाँटी निमोठ्नेलाई जनताले भोट दिएन भने?

भाजपाको सन्दर्भमा ममताको लागि प्रतिष्ठाको चुनाउ पनि हो। किन भने ममता व्यानर्जीले ‘सरकार बनाएको सय दिनमा नै पहाडको समस्या समाधान गरेकी हुँ’ भन्ने सन्देश देशलाई दिइसकेकी छन्। त्यो छबी नबिगार्न पनि ममता दार्जीलिङ सिट जित्न चाहन्छिन्।

दार्जीलिङ सिट ममता व्यानर्जीको लागि मुद्दा दबाउने चुनाउ पनि हो। यसपल्ट अमरसिंह राईजस्तो भूमिपुत्र गोटी मुद्दा दबाउने रणनीतिको नमूना हो। केही दिएजस्तो गरेर मुद्दालाई सँधैको लागि नष्ट गर्ने कुटनीति। अमरसिंह राईले चुनाउ जिते ममता व्यानर्जीले देशलाई भन्नेछिन्, ‘पहाडको मुद्दा चिन्हारी वा छुट्टै राज्यको होइन, विकासको हो। पहाडका जनता छुट्टै राज्य होइन, विकास चाहन्छन्।’

यसपल्ट यही कुरा प्रमाणित गर्न विनय तामाङहरूले जिटिएमा आएको करोडौं जनकोषलाई चुनाउको लागि दुरुपयोग गरिरहेका छन्। मोर्चालाई चुनाउ लड्ने करोडौं रुपियाँ अन्य कुनै एजेन्सीले दिएको थाहा लागेको छैन। यसको अर्थ जिटिएमा जनताको लागि वा पहाडको विकासको लागि आएको पैसा नै विनय तामाङहरूले चुनाउमा प्रयोग गरिरहेका हुन्।

सरकार उनीहरूसितै, अधिकारीहरू उनीहरूसितै भएकोले ‘अडिट’-मासमेत धाँधली हुँदैन भन्न सकिन्न। धाँधली भएन भने पनि खर्च गरिएको करोडौं रुपियाँ भोलिको दिनमा विनय तामाङहरूको गलाको पासो बन्न सक्दैन भन्न सकिन्न।

सुवास घिसिङ र विमल गुरुङलाई पनि जनकोष दुरुपयोग गर्न दिएर अडिट नगरी उनीहरूलाई चलखेल गर्न राज्य सरकारले दिएकै हो। पछिबाट त्यही ‘अडिट’-को ह्याउ देखाएर नेताहरूलाई पाइतालामुनि राखिएको इतिहास नै छ।

सबै तन्त्र प्रयोग गरेर पनि ममता व्यानर्जी र विनय तामाङ यो चुनाउ जित्न चाहन्छन्। जनतालाई नोकरी, विकासको काम र केही सरकारी सुविधाको लालच दिइएको देखिएको छ। केही जनता डरले पनि उनीहरूसित छन्। विभिन्न बोर्डहरू उनीहरूसितै छन्। हर्कबहादुरको चलखेल छँदैछ। त्यहीमाथि पैसाको चलखेलबाट चुनाउ निश्चितरूपले जित्ने विनय तामाङहरूको आत्मविश्वास हो।

विनय तामाङहरू यद्धपि, अझसम्म सबै जनताको मनमा बस्न सकेका छैनन्। जनताले मत भनेको ‘मन’ र ‘विवेक’-ले हाल्ने परम्परा छ। यसपालि विवेक र मनमा जो पस्न सकेको छ, उसैलाई मत जाने निश्चित छ।

जाति र मुद्दाको लागि हानिकारक शक्तिलाई भोलिको अगणतान्त्रिक इतिहास रच्न जनताले मत दिने हुन् कि बङ्गालबाट अलग्गै पहिचान बनाउने र भविष्य सुनिश्चित गर्न मत दिने हुन् अहिले नै भन्न सकिन्न।

तर यसपल्ट कथाङ्कल विनय तामाङहरू हारे, विनय तामाङको राजनैतिक बागडोर जोखिममा पर्नेछ। किनभने गोरामुमोसित राज्य सरकार उस्तो रिसाएको छैन। गोरामुमोले राज्य सरकारलाई परेको बेला सहयोग गरेकै छ। तर पहाडको जुन समाधानको बाटो छ, त्यो बाटोमा राज्य सरकार पर्दैन। त्यसकारण गोरामुमोले भाजपासित हात मिलायो। राज्य र केन्द्र दुवै पहाडको स्थायी समाधान नै चाहन्छ। गोजममो-गोरामुमोको रणनीतिले ‘पहाड, तराई र डुवर्सको स्थायी राजनैतिक सामाधान’-को लागि केन्द्रले राज्यलाई मनाउन सक्दैन भन्न सकिन्न।

सिमा क्षेत्र भएकोले राष्ट्रको सुरक्षाको हवाला दिएर केन्द्रले राज्यलाई ‘पहाड, तराई र डुवर्सको स्थायी राजनैतिक सामाधान’-को लागि दवाब दिनै सक्छ। यदि त्यो दवाबमा राज्य पऱ्यो भने जनमुद्दा विरोधी चलखेल गरिरहेका विनय तामाङहरूको अवस्था के होला त?

सुष्मा स्वाराजको स्टाण्डिङ कमिटीमा छैटौं अनुसूचीको मुद्दा थाँतीमा छ। पहाडको बहुसंख्यक सहमति पाउने वित्तिकै स्टाण्डिङ कमिटीले बन्द गरेको छैटौं अनुसूचीको फाइल खोलिन्छ। यसपालि राजु विष्टले जित्नु भनेको सुष्मा स्वाराजको स्टाण्डिङ कमिटीले मागेको ‘बहुमत सहमति’ पनि हो। पहाडका जम्मै दलले राजु विष्टलाई जिताएर पठाउनुको अर्थ ‘बहुमत सहमति’ नै हो।

त्यसमा पनि 11 जातलाई जनजातिको मर्यादा दियो भने छैटौं अनुसूचीको मुद्दाले सुनमा सुगन्ध पाउनेछ। छैटौं अनुसूचीदेखि माथिको छुट्टै राज्यसम्म पहाडका जम्मै दलको अहिलेको प्रस्तावना हो। केन्द्रमा भाजपाको सरकार आयो भने पहाडका जम्मै दलहरूले ‘छैटौं अनुसूचीदेखि माथि छुट्टै राज्यसम्म’-को मुद्दाको लागि केन्द्रलाई दवाब दिनेछ। छैटौं अनुसूची, युनियन टेरिटोरी वा छुट्टै राज्य? त्यो पहाडका दलहरूले पछिबाट गर्नुपर्ने छलफल,बहस र निर्णयको कुरा हो।

अहिले मुद्दा र जाति बचाउन नै पहाडका दलहरूलाई एकिकृत रहेको देखिएको छ। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीजस्तो वाम दलले जातिको निम्ति सैद्धान्तिक दुश्मनलाई समर्थन गर्नु लरतरो कुरा होइन। त्यसै क्रामाकपाले यस्तो आत्मघाती निर्णय गरेको होइन। क्रामाकपाजस्तो दल जातिको लागि सिद्धान्त त्यागेर एक बन्न सक्छ भने जनताले सक्दैन होला त?

यही भरोसामा पहाडका सबै दल एक हुँदा के जनता चाहीँ भङ्गालिनुपर्ने हो त?  यही कुरा आज बहस गर्नुपर्ने विषय हो।

कुन बाटो जाँदा पहाड, तराई, डुवर्स र जातिले स्थायी फाइदा पाउने हो, जनताले सोच्ने भनेकै यही हो। यदि, जनताले भविष्यलाई सोच्यो भने विनय तामाङको राजनैतिक करियर समाप्त हुनेछ।

रह्यो ममता व्यानर्जीले दिने पर्जापट्टाको कुरा र विकासको स्थायी सामाधनको कुरा, त्यो त जिटिए नभएको जिल्लातिर पनि उनले गर्नै पर्ने काम हो,  त्यो हरेक राज्यको राज्य सरकारको जिम्मेवारीको कुरा हो। उसले त्यो गर्नैपर्छ। तर राज्यले दिने सामाधानस्रोत भन्दा ठूलो सामाधानस्रोत पहाडले आफै पाएमा के हुन्छ?

ममता व्यानर्जी र विनय तामाङ जनताको ध्यान यतातिर नपरोस् भनेर पर्चापट्टा र चिन्हारीको नारा लगाइरहेका छन्। यस्तो लाग्छ, मानौं कुनै हत्याराले मन्दिरमा अहिंसाबारे प्रवचन दिइरहेको छ।

डा. हर्कबहहादुर छेत्रीलाई ममता व्यानर्जीले विधानसभा र नगरपालिका चुनाउमा मौका दिइन्। पर्फर्मेन्स राम्रो दिन सकेन र दूधबाट झीङ्गा निकालेसरह मिल्काइन्। यसपल्ट विनय तामाङहरूलाई मौका दिएकी छन्। के विनय तामाङहरूको नियति हर्कबहादुर छेत्रीको झैं नहोला त?

यो प्रश्न विनय तामाङलाई र उनका विपक्षलाई होइन, जनतालाई गरिएको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया