दुईवटै क्षेत्रका जनता र पार्टी कार्यकर्ताहरूले ठूलो साथ दिए,आभारी छुः डीटी लेप्चा

गान्तोक,14 अप्रेलः एसडीएफ अध्यक्ष पवन चामलिङपछि दुईवटा निर्वाचन क्षेत्रबाट चुनाउ लड़ेका एसडीएफका वरिष्ठ नेता डीटी लेप्चाले नाथाङ-माछोङ र रूम्तेक-मार्तमका जनता र पार्टी कार्यकर्ताप्रति आभार जताएका छन्।

पत्रकारहरूसित  कुराकानी गर्दै डीटी लेप्चाले भने,“पार्टी अध्यक्ष पवन चामलिङले मलाई विश्वास गरेर दुईवटा समष्टिबाट टिकट दिए। त्यस विश्वासमा म खरो उत्रेको छु। दुईवटै क्षेत्रमा म भारी बहुमतका साथ विजय बनेर आउनेछु। विजय बनाउनमा मलाई दुईवटै क्षेत्रका जनता र पार्टी कार्यकर्ताहरूले ठूलो साथ दिएका छन्। म सबैप्रति आभारी छु।” “दुईवटै क्षेत्रमा म पहिला पनि विधायक थिएँ। तर, रूम्तेक-मार्तम छोड़ेको 10 वर्ष भइसकेको थियो। एक दशकपछि पनि त्यस क्षेत्रका जनताले मलाई जुन माया दिए र विश्वास गरे, त्यस विश्वासलाई म त्यसै खेर जान दिने छुइन। नाथाङ-माछोङमा त एसडीएफले जित्नु भनेको एउटा प्रक्रिया मात्र हो। त्यहाँ त अघिबाटै विजय निश्चित छ। यदि मैले दुई ठाउँबाट चुनाउ लड्न नपरेको भए नाथाङ-माछोङमा एसकेएमका उम्मेदवारलाई म फोरफिटगराउने थिएँ”,लेप्चाले दाबी गरे। भोलिको दिनमा दुईवटै निर्वाचन क्षेत्रबाट विजय भएपछि मैले एउटा निर्वाचन क्षेत्र छोड्नुपर्ने हुन्छ। पार्टी अध्यक्ष र पार्टीले मलाई जुन निर्वाचन क्षेत्र छोड़नु भन्छन्, म त्यही गर्नेछु। यसमा मेरोबाट पार्टीलाई कुनै करकाप हुनेछैन। तर, जुनै निर्वाचन क्षेत्र छोड्न परे पनि सो निर्वाचन क्षेत्रमा आगामी पाँच वर्ष म विधायक जस्तै भएर काम गर्नेछु”,उनले भने। एसडीएफ पार्टीले पुनः छैटौंपटक सरकार गठन गर्ने उनले विश्वास प्रकट गरे। आगामी सरकारको पहिलो क्याबिनेटमै पाकिम र सोरेङलाई जिल्ला बनाउने प्रस्ताव लिने एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङले चुनाउ प्रचार अवधिमा गरेको घोषणाको पनि उनले स्वागत जनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया