दार्जीलिङमा भाजपाको शक्ति प्रदर्शन: उर्लिए जनता

दार्जीलिङ, 15 अप्रेल: दार्जीलिङ लोकसभा समष्टिका उम्मेद्वार राजु विष्टको समर्थनमा आज दार्जीलिङमा व्यापाक रूपमा समर्थकहरू सडकमा ओर्लिए। गोर्खा एकता दिवस एवं चुनाउ आउनअघि नै विजय दिवसको रुपमा दार्जीलिङ सरकारी विद्यालय मैदानमा जनसभा सम्पन्न भएको थियो। यसअघि शहरमा नै समर्थकहरूले शक्ति प्रदर्शन गर्दै चौरस्तामा भेला भएर नाराबाजी अनि पटेका पड्काएर खुशीयाली मनाउँदै जुलुस निकालिएको थियो।

भाजपासित गठबन्धनमा रहेको गोरामुमो, क्रामाकपा, गोर्खालीग एवं विमल गुरुक्षपक्षका गोजमुमो कार्यकर्ताहरूको व्यापक भेला भएको जुलुस दार्जीलिङ शहरदेखि केही तल दार्जीलिङ सरकारी विद्यालय मैदानमा पुगेपछि जनसभामा परिणत भएको थियो। यस क्रममा भाजपा केन्द्रीय महासचिव एवं पश्चिम बङ्गाल प्रभारी कैलाश विजयवर्गीय प्रमुख रूपमा उपस्थित थिए। उनले आजको जनसभाले नै पहाडका जनता भाजापको पक्षमा रहेको प्रमाणित गरेको दावी गरे।

उनले जमेर मुख्यमन्त्री ममता ब्यानर्जीको आलोचना गर्दै बङ्गालमा यदि सबैभन्दा धेर कुनै समुदायमथि अन्याय भएको छ भने त्यो गोर्खा समुदाय रहेको भन्दै  पुलिस प्रशासनले आन्दोलनको नाममा अनेकौँ मुद्दाहरू लगाएर आन्दोनकारीहरूमाथि अन्याय गरेको बताए।

‘तृणमूल सरकारको उल्टा गन्ती शुरू भइसकेको छ’-विजयवर्गीयले भने, ‘मुख्यमन्त्रीको राजनैतिक उमेर धेर छैन, छ महिनाभित्र सडकमा आउँछ।’

मुख्यमन्त्रीले गोर्खाहरूको जुन आन्दोलनलाई कुल्चिने प्रयास गरिन् यसको सजाय अवश्य नै पाउने बताए।

अर्कोतिर भाजपा प्रार्थी राजु विष्टले पनि आफ्ने जीत निश्चित रहेको दावी गर्दै चाँडै राज्य आतङ्कको अन्त हुने बताए।

‘यो भीड देखेर विरोधीहरूले हार मानिसकेको छ’-विष्टले भने, ‘दिदीले जुन आतङ्क मच्चाइरहेको छ त्यसको अन्त हुने तय छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया