
कालेबुङ, 16 अप्रेल: 80 को दशकका चर्चित जङ्गी नेता एवं जीएलओ प्रमुख छत्रे सुब्बाले वर्षौदेखिको मौनता तोड्दै भारतीय जनता पार्टीलाई समर्थन जनाएका छन्। 11 वर्ष जेल परेर आएपछि 2011 सालदेखि राजनीतिबाट सन्यास लिएको घोषणा गर्दै मौन बसेका सुब्बाले आज अचानक एउटा पत्रकार सम्म्लन डाकेर भारतीय जनता पार्टीलाई समर्थनको घोषणा गरेका छन्।
‘मानिसको मनमा, दिमागमा भाजपा पसिसकेको छ’-सुब्बाले भने, ‘भाजपाको जुन कार्यशैली छ, देशभरिमा जुन विकास भएको छ त्यसको आधारमा प्राय: सबै युवाहरूले पनि भाजपाकै पक्षमा कुरा गर्छ।’
सुब्बाले आफू कुनै पनि दलसित आबद्ध नरहेको भएपनि आफूले साधरण रूपमा सोचेर नै भाजपाको काम राम्रो लागेको कुरा गरेको बताए।
‘भाजपाले राम्रो काम गरेको देखेर नै भाजपा राम्रो भन्दैछु’-सुब्बाले भने, ‘मुख्य गरेर भाजपामा भ्रष्चार छैन, भ्रष्टचार छैन भनेमात्र विकास हुनसक्छ। मैले मात्र होइन गाउँ-बस्तीमा पनि इमान्दार पार्टी भाजपा रहेछ भन्ने सोचाइ छ।’
उनले एक प्रश्नको उत्तरमा राज्य सरकारको सत्ता भाजपासित नरहेको कारण भाजपाले गोर्खाहरूको पक्षमा केही गरेन भनेर भन्न नमिल्ने बताए।
उनले देशकै परिप्रेक्ष्यमा भाजपा अनि तृणमूल कङ्ग्रेस अथवा कङ्ग्रेसको कार्यशैलीमा फरक रहेको भन्दै भाजपालाई समर्थन नगरेर अन्यलाई गर्न नमिल्ने बताए।
उनले आन्दोलनको नाममा सबै पैसाको पछि कुदेको थाहा पाएपछि नै आफूले राजनीतिबाट सन्यास लिएको बताउँदै भने, ‘गोर्खाल्याण्ड भन्ने शब्द दिमागमा छ, बाँकी कुनै शब्द प्रिय छैन।’