भाजपा भन्नेहरूलाई विनय तामङले जनसभाबाटै दिए खुल्ला चेताउनी, भने, ‘24 मईदेखि हेर्छु, धम्की भन्नुहुन्छ भने धम्की नै सही’(भिडियोसितै)

Girl in a jacket

कालेबुङ, 16 अप्रेल:  ‘बाँच्नुको लागी चाहीँ टीएमसी र विनय तामाङ अहिले अहिले चाहीँ रूप देखाउँछौ? २४ मईदेखि हेर्छु, धम्की भन्छ भने धम्की नै सही। भाजपाले त्यतिबेला मलाई कही गरोस् त। निरज जिम्बा, राजु विष्ट, जो जो आउँछन् आउन्। योपालि यतिधेरै घोच्यो कि यो जिन्दगीमा बिर्सिदिनँ। जुन साँपकोमा विष छैन, त्यो साँप होइन। जुन लोग्नेमान्छेमा ईख छैन, त्यो लोग्नेमान्छे होइन। म ईख पनि भएको विष पनि भएको मान्छे हुँ।’

चुनाउ प्रचारको अन्तिम दिन आज गोजमुमो अध्यक्ष विनय तामाङले चुनाउ आचार संहिताको समेत पर्वाह नगरी भाजपालाई सहयोग गर्नेहरूलाई केन्द्र गर्दै अनेकौँ धम्कीपूर्ण बयानबाजी गरे। कालेबुङको मोटरस्ट्याण्डमा आज तृणमूल कङ्ग्रेस प्रार्थी अमरसिंह राईको समर्थनमा मोर्चा अनि तृणमूल कङ्ग्रेसको अन्तिम संयुक्त चुनावी जनसभा सम्पन्न भएको थियो। जनसभामा प्रमुख वक्ताका रूपमा रहेका विनय तामाङले शुरूमा  तृणमूलको चुनावी मुद्दाहरूमाथि चर्चा गरे पनि पछिबाट भाजपालाई समर्थन गर्नेहरूप्रति निक्कै आक्रोशित बन्दै अनेकौँ चेताउनीहरू दिए।

‘429 जना शिक्षकको नियुक्ति कसले दिए’-तामाङले भने, ‘आज फेरि हामीलाई नै बन्चरो हान्ने कोशिश गर्दैछ। प्राइमेरी सेक्सनमा यस्तो खोँच जग्गामा हाल्छु हेर्नू यो चुनौति हो। धम्की भन्नुहुन्छ भने धम्की नै सही।’

उनले मुद्दा लागेकाहरूप्रति निक्कै आक्रोशित बन्दै उनीहरूलाई पनि चेताउनी दिए।

‘जीएनएलएफको लोलोपोतोमा यहाँका भाइहरू नलाग्नू’-तामाङले भने, ‘2017 जब आन्दोलन भयो 217 जना जेलमा थुना परेका थिए। सरकारसित कुटनैतिक सम्बन्ध राखेकोले पटक-पकट गरेर जेलबाट निकालिदियौँ। जेलबाट निस्किने दाजु भाइहरूले एक पैसा तिर्नु परेन। मैले तिरिदिएँ। राजु विष्ट, एसएस अहलुवालियाले तिरेन, मन घिसिङले पनि तेरेन। जेलबाट निस्कियो तर केश सकेको छैन। अब मेरोमा आउने काम छैन।’ उनी यहीँ थामिएनन्।

‘चुनाउ आउनअघि 16 सयको वारन्ट थियो अनि लाइभ बस्यो भने चुनाउमा कि भाग्नुपर्थ्यो या पक्राउ पर्थ्यो’-तामाङले भने, ‘उनीहरूको कोर्टमा तिर्नुपर्ने पाँच हजार रुपियाँ मैले तिरिदिएँ, कुड्की हुनबाट बचाइदिएँ। आज तिनीहरूबाटै दुई अढाईसय भाजपामा हिँड्दैछ भन्ने मेरोमा रिपोर्ट छ। हिँड्नुहोस्, भोट पनि कमलमै हाल्नुहोस् तर केश सकिएको छैन। जतिपल्ट केश धाउँछौँ उकिलको पैसा पनि आफै दिनू। ’

उनले भाजपालाई सहयोग गर्ने शिक्षक एवं कर्मचारीहरू समेतलाई स्थान्तरण गर्ने चेताउनी दिए।

‘1187 जना भाइ-बहिनीहरूलाई काखी नचेपिकन सबैलाई नोकरी दिएँ, कसै न कसैको छोरा-छोरीले काम पायो अहिले भाजापको पोष्टर टाल्ने यहीँभित्र छ’, तामाङले भने, ‘23 देखि पछाडि जुन-जुन स्कूलमा एपोइन्टमेन्ट पाएको छ, अब म चाहीँ ट्रान्सफर गर्छु। म त्योखालको मान्छे होइन तर मलाई मन दुखेको छ।’

जीटीए कर्मचारीहरूले पनि भाजपाको पोष्टर टाल्दै गरेको खबर आफूसित रहेको भन्दै उनीहरूलाई पनि सुदूरवर्ती क्षेत्रतिर स्थान्तरण गर्ने चेताउनी दिए।

‘योपालि एक-एकजनाको नाम मेरोमा आएको छ डाँडा कट्टाउँछु’-तामाङले भने, ‘कालेबुङको दार्जीलिङ, दार्जीलिङको तोदे-ताङ्तातिर हुन्छ, ओपन भन्देको छु। साह्रो सतायो।

उनले चुनाउपछि यहाँ जीटीएकै शासन प्रणाली हुने बताउँदै 23 मईपछि आफ्नो असली रङ देखाउने बताए।

‘भाजपा 18 तारिख जान्छ, यहाँ 99 प्रतिशत राज्यको अफिस चल्छ’-तामाङले भने, ‘तपाईँको समस्याको समाधान राज्य सरकारको अफिसले नै गर्नुपर्छ। भोलि पर्चापट्टा चाहियो, भूमिसुधार विभाग यहीँ छ, वेतन यतैबाट हुन्छ। देखाऊ रङ, 18 तारिखसम्म रङ देखाउने तिमीहरूको काम, 24 देखि रङ देखाउने काम मेरो हो।’

यतिमात्र होइन चियाबगान अनि सिन्कोनाबगानको आन्दोलनको क्षतिपूर्तिको पैसासमेत नाम छानीछानी दिने बताए। आफ्नो गाउँको नजिकैको चियाबगानमा समेत 13 दिन बन्द हुँदा आफूले उनीहरूलाई पैसा दिएको तर आफूलाई गाली गर्नेहरूलाई नदिएको भन्दै अब अरूतिर पनि यही नीति अप्नाउने उनले बताए।

यसबाहेक उनले हालैमा प्राइमेरी स्कूलको फारम भर्नेहरूको लिस्ट समेत चुनाउमा कतापट्टि थियो भनेर शाखाबाट जानकारी लिएको आधारमा मात्र जारी गर्ने बताए।

भाजपालाई सहयोग गर्ने ठेकेदारहरूलाई ठिक पार्न अबउसो शाखा-प्रशाखाको अनुमोदनको आधारमा मात्र ठेकेदारहरूको पैसा छोड्ने तामाङले बताए।

यतिमात्र होइन अब लालकोठीमा बसेपछि झोडानालाको एप्लिकेसन समेत कनिका सरह निफन्ने तामाङले बताए।
‘10 वर्षसम्म म यो पहाडमा बस्छु, 10 वर्षसम्म यताको उता सिन्का राख्नुपर्यो भने पनि विनय तामङलाई सोध्नुपर्छ’ उनले भने, ‘शिक्षा विभाग राज्यको अधिनमा छ, भूमि सुधार राज्यको अधिनमा छ, यहाँको यन्त्रतन्त्र राज्यको अधिनमा छ। हामीलाई विरोध गर्नु भनेको राज्यलाई विरोध गर्नु हो, जीटीएलाई विरोध गर्नु हो। 24 मईदेखि हामी पनि पन्ना त्यसरी न पल्टाउँछौँ, यो खुल्ला कुरा हो।’

उनले व्यापारीहरूलाई पनि 17  महिनादेखि पहाड शान्त रहेको अनि शान्ति चाहिन्छ भने तृणमूललाई अनि हिंसा चाहन्छ भने भाजपलाई सहयोग गर्नुपर्ने बताए।

उनले जनसभामा उपस्थित प्रशिक्षित शिक्षक-शिक्षिकाहरूलालाई समेत स्थायीकरणको आशा देखाउँदै ठिक ठाउँमा बस्न आग्रह गरे।

यस क्रममा उनले अब चाँडै यल्मो, मुखिया अनि याक्खा देवान विकास एवं सांस्कृतिक विकास बोर्ड गठन हुने पनि घोषणा गरे।

तामाङले दुईघण्टा लामो आफ्नो सम्बोधनमा एनआरसीले आसाममा अडाई लाख गोर्खाहरूलाई डी भोटर बनाएको उदाहरण दिँदै उनीहरूले यसपाली चुनाउमा समेत भाग लिन नपाएको बताए। उनले यदि भाजपाले साँच्चै गोर्खाहरूको भलाइ चाहन्छ भने गोर्खाहरूलाई ‘अरिजिनल इनह्याबिटेन्ट’-वर्गमा हाल्नुपर्ने चुनौति दिए। एनआरसी लागु भयो भने सबैभन्दा पहिला जमीनको कागज बुझाउनुपर्ने, पुर्ख्यौली विवरण दिनुपर्ने इत्यादि मापदण्डहरू रहेको अनि दार्जीलिङ पहाडमा चियाबगान, सिन्कोनाबगान, बनबस्ती, लिज, डीआईफण्ड गरेर जम्मा 87.2 प्रतिशत मानिसहरूको जमीन आफ्नो नाममा नरहेको दावी गरे। यसैले एनआरसी लागु भए गोर्खाहरू खेदुवा लाग्न निश्चित रहेको बताउँदै चुनाउपछि पनि यस मुद्दालाई लिएर जोडदार काम गर्ने तामाङले बचन दिए।

यसरी नै उनले गोर्खाहरूको राष्ट्रिय चिह्नारी र सुरक्षा, जनजातिको मुद्दा, पर्चापट्टा, भाषिक अल्पसङ्ख्यकको मर्यादा, डोनरमा जीटीएको सदस्यस्ता जस्ता चुनावी मुद्दाहरूबारे अवगत गराए। उनले आज पनि आफूहरूको जीत निश्चित रहेको दावी गरे।

यसै क्रममा विनय तामाङले जसवन्त सिंहलाई सासंद बनाउँदा 32 करोड रुपियाँ अनि अहलुवालियालाई सांसद बनाउँदा 30 करोड रुपियाँ थापेको बताउँदै राजु विष्टसित पनि लेनदेन भएको हुनसक्ने शङ्का गरे।

नोर्देन लामाको अध्यक्षतामा सम्पन्न जनसभालाई प्रार्थी अमरसिंह राई, युवा नेता अमीर बस्नेत, कालेबुङ जिल्ला अध्यक्ष सञ्चबीर सुब्बा, पूर्व पार्षद् केएन सुब्बा, राज्यसभा सासंद शान्ता छेत्री अनि तामाङ विकास बोर्डका अध्यक्ष  सञ्जय मोक्तान आदिले सम्बोधन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया