24 मई पछि विनय तामाङले ‘हेर्ने’ हुन् कि जनताले ‘देखाइदिने’ हुन्?

तर हार्ने निश्चित बनिसकेपछि राज्य सरकारका निकटका पार्टीहरूले चुनाउ आचार संहिता उलङ्घन गरेको बहानामा चुनाउ पछि सार्ने खेला पनि गर्न सक्छ। जसरी जानीजानी हर्कबहादुरलाई जनसभा गर्न पुलिसले अनुमति दिइरहेको छैन र चुनाउ आयोग कानमा तेल हालेर बसिरहेको छ र यसैलाई देखाएर ‘जनसभा गर्न देउ’-भनेर दवाब दिनको साटो हर्कबहादुर छेत्रीले ‘चुनाउ पछि सार’ भनिरहेका छन्, यो ‘हार’-को दुर्गन्ध थाहा पाएपछि राज्य सरकारले चालेको गोटी हुनै सक्छन्। र त विनय तामाङ चुनाउ आचार संहिता लागू भइरहेको बेला यस्तो धम्की दिइरहेका छन्, जसले दवाबमा मत आफ्नोतिर होस् भन्ने कुटनीतिसित सरोकार राख्छ। यद्धपि, 24 मईपछि विनय तामाङले ‘हेर्ने’ हुन् कि जनताले उनलाई ‘देखाइदिने’ हुन्, यो चुनाउपछिको चासोको विषय भने बन्ने भयो।


खबरम्यागजिन डेस्क


विमल पन्थीहरूको दाबी छ, पाँच हजार आन्दोलनकारी भूमिगत छन्। विनय तामाङको धम्कीले साबित गऱ्यो, उनीहरूलाई मुद्दा लगाउने र घरघरमा पुलिस पठाउने विनय तामाङ नै हुन्। भय देखाएर राजनीति गर्नु भनेको आफ्नो खुट्टामा बञ्चरो हान्नु हो। विनय तामाङलाई उनकै ‘रिस्’-ले नष्ट गर्ने सम्भावना बढ्यो।

भाजपालाई समर्थन गर्नेहरूलाई 24 मईदेखि विनय तामाङले ‘हेर्ने’ भएका छन्। ‘हेर्छु’-भन्ने धम्कीको अन्तर्यमा कुन अर्थ छ?

अर्थ एक- डर देखाएर जनतामाथि शासन गर्नु

अर्थ दुई- पुलिसको बलमा जुङ्गा मल्नु अथवा मामाको घोडामा हिहि गर्नु

अर्थ तीन- जनतालाई पुलिस लगाएर सताउनु वा जनपीडक बन्नु

अर्थ चार- चुनाउ अघि नै हार स्वीकार्नु।

खोज्दै गयो भने विनयको ‘हेर्छु’-भित्र हजारौं अर्थ छ। सबैभन्दा ठूलो अर्थ हो विनय आफै डराउनु।

स्पष्ट छ, दार्जीलिङको भीडले विनय तामाङलाई डिप्रेसनमा लगेको छ। चुनाउ आयोगको आचार संहितालाई बुटले कुल्चेर खुल्लमखुल्ला धम्की दिनु भनेको के हो? भनिन्छ, घाइते बाघ जताजतै झम्टिन्छ। विनय तामाङलाई त्यही घाइते बाघ देखियो।

यसो त विनय तामाङले 24 मईपछि केही गर्न सक्तैनन्। यो धम्की नै उनको ‘हेर्ने’-आँखाको बाधा बन्यो। उनको हेर्ने धम्कीमा न्यायपालिका र मानवाधिकारवादीहरूको आँखा गइसक्यो।

भुक्ने कुकुरले टोक्दैन भन्ने उखानलाई राम्ररी नछिचोली विनय तामाङले जुन भाषण गरे, त्यो गणतन्त्रको धज्जिया उडाउने घटनाको सर्वश्रेष्ठ नमुना हो। विनय तामाङ जिटिएमा पुग्दैमा र ममता व्यानर्जीको निकट हुँदैमा किन यति धेर अहम् प्रकट गरिरहेका हुन्? सत्ताको मात लागेको हो? उनको धम्कीले चुनाउ जिते साधारण जनताको अवस्था कस्तो हुने रहेछ त?

सायदै उनको ‘धम्की’-ले जनता डराए होलान्। त्यो भन्दा धेर उनको ‘धम्की’-ले उनकै कार्यकर्ताहरूलाई ‘डर’-देखाइदियो। के भोलिदेखि उनका कार्यकर्ताहरूले गाउँगाउँ घर घर ‘हामीलाई भोट दिइनस् भने 24 मई पछि हेर्छु’ भन्ने धम्की दिनुपर्ने हो त?

जनसमुद्र देख्दै विनय तामाङको होस् उड्नुको अर्थ हो, चुनाउ हारे दार्जीलिङको बागडोर फुत्किने डर। उनीसित जिटिए छ र नै पुलिस साथ छन्। ममता व्यानर्जी पनि यही चुनाउसम्म हो। केन्द्रले भन्ने ‘पहाड, तराई र डुवर्सको समस्याको स्थायी राजनैतिक सामाधान’-को लागि राज्यले केन्द्रलाई सहयोग गर्नै पर्नेहुन्छ। सीमामा केन्द्र धेर द्वन्द्व चाहँदैन। राष्ट्रलाई हानी पुग्ने कुनै घटना भए ममता त्यसको जोखिम मोल्न सक्दैनन्।

यसैले पनि यसपालिको चुनाउ हारे विनय तामाङ ममता व्यानर्जीको लागि काम नलाग्ने वस्तु बन्नेछन्। यो चुनाउ हार्नु, ममताको सारा कुटनीति असफल बन्नु हो। अनि जगहाजेर छ, ममताको कुटनीति गोर्खा र छुट्टै राज्य नष्ट गर्नु हो।

उदाहरण तपाईँसामु छ, डा. हर्कबहादुर छेत्री।

हर्कबहादुरलाई विधानसभा र नगरपालिका चुनाउ जित्ने मौका दिए। हर्क हारे। हार्ने वित्तिकै ममताले कान मोलेर बाहिर फ्याँकिन्। यसपल्टको भोट हारेमा विनयको अवस्था यही हो भनेर विनय तामाङलाई राम्रै गरी थाहा छ।

अचम्म के हो भने, विनय तामाङ अहिले नै खुल्लमखुल्ला दार्जीलिङका 87.2 प्रतिशत जनता विदेशी हुन् भनिरहेका छन्। जब कि कालेबुङ, दार्जीलिङको ऐतिहासिक चुक्तिहरू छन्। इतिहासमा बङ्गालमा देखरेख गर्न राखिएको क्षेत्रकोरूपमा छन् यी भूमिहरू।

त्यसै कारण ‘छुट्टै राज्य प्रदान गरेर यो क्षेत्रलाई आधिकारिकरूपले भारतको बनाऊ’-भन्ने माग धेरैवर्षदेखि चलिरहेको छ। पर्जापट्टा दिँदैमा यो भूमि आधिकारिकरूपले भारतको बन्छ त? यति लठुवा कुरा गरेर जनतालाई भ्रममा पार्ने विनय तामाङले पहाडलाई कतातिर लान्छन् त?

बङ्गालले यो भूमिको प्रशासनिकरूपले देखरेख गर्नुपर्ने भएकोले यस क्षेत्रका 87.2 प्रतिशत जनतालाई पर्जापट्टा दिने जिम्मा पनि राज्य सरकारको होइन र? किनभने चियाबाट पाउने राजस्व त राज्यले नै कुम्ल्याइरहेको छ। विनय तामाङले ‘87.2 प्रतिशत पहाडका जनतासित पर्जापट्टा छैन’-भनेर राज्य सरकारले पहाडका जनतासित गरेको विभेदको पर्दाफास गरेका छन्। जुन राज्यले अघिबाट नै 87.2 प्रतिशत जनतालाई पर्जापट्टा दिनुपर्ने हो तर अहिलेसम्म किन दिएन त?

के को डरले पर्जापट्टा नदिएको त? 2006 मा वनाधिकार ऐन बनियो। 2012 मा त्यसलाई संसोधन गरियो। 2013 मा अर्डर निकालेर भनियो, ‘पहिले वनबस्तीलाई रेभेन्यु भिलेजमा कन्भर्ट गर र पर्जापट्टा देऊ।’  दियो त अमरसिंह राईको पार्टी तृणमूल काङ्ग्रेसको सरकारले? जुन सरकारले यत्रोवर्षदेखि पर्जापट्टा नदिएर पहाडलाई अन्याय गऱ्यो, उसैलाई जिताउँदा पर्जापट्टा पाइहालिन्छ त?

विनय तामाङसित कुन जादूको छडी छ, जसले छुने वित्तिकै वर्षौंदेखि ममताको सरकारले नदिएको पर्जापट्टा चुनाउ जितेपछि भइहाल्छ। राज्य सरकारले पर्जापट्टा नदिएर भोट माग्ने हतियार बँचाई राखेको हो त? यत्रो वर्षदेखि पर्चापट्टा नदिएर राज्य सरकारले पहाडको जनतालाई विभेद नीति अप्नाएको छ। पर्जापट्टाको ह्याउ देखाएर त्यही विभेदकारी सरकारलाई जिताउनु विनय तामाङको वाध्यता होलान्, जनताको होइन।

यही कुरा बुझेको जनता उनको विपक्षको जनसभामा जनसमुद्रजस्तो उर्लिँदा धम्की दिनु कहाँसम्मको गणतान्त्रिक र बौद्धिक अभ्यास हो?

विनय तामाङले चुनाउ जिते कति दादागिरी बढ्ने हुन्, कति जनतालाई खेदिखेदि जेल हाल्ने हुन्। कति जनताको 24 मईदेखि अब घरबास नहुने भयो। कति विपक्षका नेता र कार्यकर्तामाथि जालझेल हुने हो, कति लेखकहरू, आलोचकहरूले कुटाइ खाने हो, त्यो विनय तामाङले अहिले नै स्पष्ट गरिसके।

यति हुँदा हुँदै जनताले उनैलाई के कारणले माया गर्नुपर्ने त? आफ्नो गलामा पासो हाल्नेलाई कसैले माया गर्ला त?

जनतालाई धम्की दिनु भनेको आफ्नै औंलाले आफ्नै आँखा फोर्नु हो, महोदय।

यसै पनि पाँच हजार आन्दोलनकारीहरूको पहाडवास छैन। अहिलेसम्म उनीहरू भूमिगत छन्। किनभने आन्दोलन दबाउन उनीहरूमाथि सरकारले विभिन्न सुमोटो मुद्दा लगाएको छ। यसपाली उनीहरू भोट लगाउनबाट बञ्चित बने, त्यसको कारण को हुन् त?

‘24 मईदेखि उता हेर्छु’ भन्ने धम्कीले प्रमाणित गरेन त?

यो धम्कीबाट विनय तामाङ भन्न चाहन्छन्, ‘अहिले पो चुनाउ आचार संहिताले मेरो हात बाँधिएको छ। तर 24 मईदेखि त त्यो आचार संहिता रहँदैन। त्यसपछि भाजपाको जनसभामा जानेहरूलाई पुलिस लगाएर जेल हाल्छु।’

के साँच्चै विनय तामाङलाई ‘डर देखायो भने जनताले हामीलाई भोट दिन्छ’ भन्ने लागेको हो? यो त हिटलरी फर्मान भएन र? हिटलरलाई जनताले किन जिताउने?

जनतालाई त्यसले मात्र डर देखाउँन खोज्छ, जो आफै असाध्यै डराएको छ। यस्तो लाग्छ, अब यही चुनाउमा विनय तामाङलाई सहिदको रगतले पिर्नेछ। जनताले बुलेटको जवाब व्यालेटबाट दिनेछन्। त्यही कुरा थाहा पाएर विनय तामाङ आत्तिएका होइनन् त?

‘87.2 प्रतिशत पहाडका जनताको पर्जापट्टा छैन, यो छैन भने पहाडबाट खेदाउनेछ’- भनेर विनय तामाङले 87.2 प्रतिशत जनतालाई विदेशीकोरूपमा अर्थ्याउने हानिकारक वयान दिइरहेका छन्। पर्जापट्टा नभएकैले खेदाउने भए बङ्गाल सरकारले यो मौकाको प्रयोग उहिल्यै गरिसक्थ्यो। तर उसको हात विभिन्न ऐतिहासिक चुक्तिहरूले बाँधिदिएको छ। विनय तामाङलाई थाहा छैन र?

विभिन्न कम्पनीहरूलाई लिजमा जमिन दिएर चिया खेती गरेर मुनाफा कमाउने अवसर दिने सरकार, श्रमनीति बनाउने सरकार, कम्पनी, मालिक, सरकार र श्रमिकबीचको कानूनी सिमा कोर्ने सरकार, पर्चापट्टा नदिने पनि सरकार, त्यही सरकारले विनय तामाङले भन्ने वित्तिकै पर्जापट्टा दिन्छ कि लिजमा लिएर नाफा कमाइरहेका कम्पनी र मालिकहरूबाट राजस्व कुम्ल्याउँछ?

पर्जापट्टा त विनय तामाङले माग्नै पर्दैन। विभिन्न युनियनहरूले मागिरहेकै हुन्, तर सरकारले पो दिइरहेको छैन। लिजमा चियाबारी चलाउने मालिकहरूसित लिज चियाबारीमा श्रम गर्ने श्रमिकहरूलाई पर्जापट्टा दिलाउने ऐन बनाउनुपर्ने होइन? लिजबाट राजस्व कुम्ल्याइरहेको सरकारले कम्पनीको पक्षमा काम गरिरहेको छ कि श्रमिकको पक्षमा? जनता के लाटा छन् र?

पर्जापट्टा छैन भने ‘खेदाउँछ’ भन्नु डर देखाउनु हो। पर्जापट्टा छैन भने कसैले पनि चिया र सिन्कोनाबगानका श्रमिकहरूलाई खेदाउन सक्दैन। खेदाउन मिल्ने भए राज्य सरकारले उहिल्यै खेदाइसक्थ्यो। पर्जापट्टा र एनआरसीसित कुनै सम्बन्ध नै छैन।

आसामको भूगोल र इतिहाससित एनआरसीको जुन चरित्र छ, त्यही चारीत्रिक विशेषताले त्यो अरू राज्यमा लागू हुनै सक्दैन। बङ्गलादेशीहरूको अनुप्रवेश प्रक्रिया, कारक र व्यवस्थापन प्रणालीसित गोर्खाहरूको कुनै हाडनाता छैन। एनआरसीले हरेक राज्यको जातिको भूगोल र इतिहासको आधारमा लागू गर्ने प्रक्रियाहरू माग्छ।

विनय तामाङले हरेक मुद्दा र विषयलाई जनतामा ‘भय’ उत्पन्न गर्ने औजारकोरूपमा प्रयोग गरिरहेका छन्। डर देखाएर केही हुँदैन। चिया श्रमिकहरूसित विनय तामाङ र राज्य सरकारको चलखेल बुझ्ने पुस्ता आइसकेका छन्।

चुनाउअघि विनय तामाङको राजनैतिक भ्रष्टिकरण सार्वजनिक भयो। विनय तामाङको राजनैतिक डिप्रेसन प्रकट भयो। राजनीति बुझ्नेहरूको लागि विनय तामाङ पहाडको निम्ति कति फाइदाजनक, र कति हानिकारक हो भन्ने आइडियो दियो।

तर हार्ने निश्चित बनिसकेपछि राज्य सरकारका निकटका पार्टीहरूले चुनाउ आचार संहिता उल्लङ्घन गरेको बहानामा चुनाउ पछि सार्ने खेला पनि गर्न सक्छ। जसरी जानीजानी हर्कबहादुरलाई जनसभा गर्ने पुलिसले अनुमति दिइरहेको छैन र चुनाउ आयोग कानमा तेल हालेर बसिरहेको छ र यसैलाई देखाएर ‘जनसभा गर्न देऊ’-भनेर दवाब दिनको साटो हर्कबहादुर छेत्रीले ‘चुनाउ पछि सार’ भनिरहेका छन्, यो ‘हार’-को दुर्गन्ध थाहा पाएपछि राज्य सरकारले चालेको गोटी हुनै सक्छन्।

र त विनय तामाङ चुनाउ आचार संहिता लागू भइरहेको बेला यस्तो धम्की दिइरहेका छन्, जसले दवाबमा मत आफ्नोतिर होस् भन्ने कुटनीतिसित सरोकार राख्छ।

यद्धपि, 24 मईपछि विनय तामाङले ‘हेर्ने’ हुन् कि जनताले उनलाई ‘देखाइदिने’ हुन्, यो चुनाउपछिको चासोको विषय भने बन्ने भयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया