चुनाउमा खटिएका सिक्किमको आइआरबी जवानको  नदीमा डुबेर मृत्यु

गान्तोक, 22 अप्रेल। चुनाउको समय सुरक्षाको निम्ति पश्चिम बङ्गालको मुर्सिदावाद जिल्लाको जङ्गीपुरीमा तैनाथ सिक्किम पुलिसको आइआरबी तेस्रो बटालियनको एक 28 वर्षीय जवानको भगिरथी नदीमा डुबेर मृत्यु भएको छ।
आइआरबीका कमाण्डिङ अफिसर श्रीमती ओङ्गमु भोटियाले दिएको जानकारी अनुसार सशस्त्र पुलिस बल र आइआरबीको आठ कम्पनी जवान बङ्गालको चुनाउमा खटिएको छ भने नदीमा डुबेर मृत्यु हुने जवानको नाम मिङ्ग्युर छिरिङ लेप्चा रहेको अनि उनी दक्षिण सिक्किमको क्युजिङ निवासी रहेको बताए। उनी 20 अप्रेलको दिन गर्मी छल्न भगिरथी नदीमा जाँदा चिप्लेर नदीमा पसेपछि स्थानीय मानिसहरूले बचाउने प्रयास गर्दा पनि धेरै टाडा बगेर पुगेपछि मृत्यु भएको अनि आज बिहान मात्र मृतदेह उद्दार गर्न सकेको छ। घटनाबारे थाहा पाएर मृतकको पिता र दाजुहरू पुगेको र मृतदेह घर पठाउने व्यवस्था गरिएको पनि बताए।
अर्कोतिर सिक्किम पुलिसको उच्च अधिकारीले घटनाबारे पुष्टि भएपछि मृतकको परिवारलाई 2 लाख रूपियाँ क्षतिपूर्ती हस्तान्तरण गरिसकेको अनि अहिले सुरक्षा बल चुनाउ आयोगको अधिनमा रहेको हुनाले त्यहाँबाट पनि क्षतिपूर्तीको निम्ति पहल गरिने बताइएको छ। यसैगरि घटनाबारे पुलिसका सम्बन्धित अधिकारीहरूले परिवारलाई जानकारी गराइसकेको बताए। मुर्सिदावादबाट मृतदेह क्युजिङ ल्याउने प्रबन्ध गरिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया