‘पहाडलाई सम्झाउन’ विनय तामाङलाई बङ्गालले दियो ‘महत्वपूर्ण पद- को अफर (पुरै अन्तरवार्ताको भिडियोसहित)

‘सुरक्षा त थाहा छैन तर पदको लागि चाँही कुरा भएको हो,’ विनय तामाङ बग्न थाले, ‘तर कुन पद हो, त्योबारे कुरा भएको छैन। तर कुनै न कुनै पद चाँही पाउँछु होला।’


सिलगढी, 27 अप्रेल


खोजखबरसित बोल्दै विनय तामाङले विधानसभा चुनाउ लड्नुको रहस्य खोलेका छन्। खोजखबरका पत्रकार प्रज्ज्वल छेत्रीले प्याच्चै सोधे, ‘ममता व्यानर्जीसित तपाईँलाई मन्त्री पद दिने र पर्याप्त सुरक्षा दिने कुरामा सम्झौता भएको छ रे हो?’

‘सुरक्षा त थाहा छैन तर पदको लागि चाँही कुरा भएको हो,’ विनय तामाङ बग्न थाले, ‘तर कुन पद हो, त्यो बारे कुरा भएको छैन। तर कुनै न कुनै पद चाँही पाउँछु होला।’

तामाङले स्वीकारे,  बङ्गाल सरकारसित उनको एउटा ‘महत्वपूर्ण’ पदबारे कुराकानी भइसकेको छ। तामाङलाई कुनै न कुनै पद दिन्छ भन्ने आशा चाँही छ। विनय तामाङले मागेकोले त्यो ‘महत्वपूर्ण पद’ तृणमूल सरकारले दिने भएको होइन। तृणमूल सरकार आफै अघि सरेर तामाङलाई ‘महत्वपूर्ण पद’ दिने भएको तामाङको भनाई छ।

‘उनीहरूले भने ‘तँ पहाडमा छस्, तैंले पहाडलाई बुझेको छस्। हामीले पहाडलाई बुझाउनुभन्दा पनि तैंले नै पहाडलाई बुझाउनुपर्छ। हामी तल बसेर शासन चलाउँछौं, तैंले माथि बसेर शासन चलाइस् भने तैंले चलाउन सक्छस्। किन भने पहाडको जनताबारे तँलाई नै थाहा छ,’ तामाङले भन्दै गए, ‘तँलाई पहाडका सबै तिक्त कुराहरू पनि थाहा छ। तँलाई कुनै पद दिँदा कुनै आपत्ति छ?’ भनेर सोधे, मैले पनि ‘छैन’ भनिदिएँ।’

किन तामाङलाई बङ्गालले महत्वपूर्ण पद दिन खोजिरहेको हो, त्यो पनि विनय तामाङले स्पष्ट पारे। त्यो ‘महत्वपूर्ण पद’ तामाङलाई ‘पहाडलाई सम्झाउनु’ दिइएको तामाङले खुलाएका छन्। तर तामाङले पहाडलाई के सम्झाउने हुन्? त्यो भने स्पष्ट छैन।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया